काठमाडौँ । दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी काम तीव्र पारिएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले सञ्चालननका लागि अहिले सुरुङमार्ग परीक्षण भइरहेकोे जनाएको हो । आयोजनाका पदाधिकारीहरूका अनुसार बिहीबार सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर परीक्षण ४८ घण्टामा सकिनेछ ।
पदाधिकारीहरूका अनुसार मुख्य सुरुङको परीक्षण भइसकेको छ । अब फ्लाइओभरको परीक्षण हुँदै छ । शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिन्छ ।साथै दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने विषयमा टुङ्गो लाग्न नसकेको हो ।साथै सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि छ ।
गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए । साथै सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ ।दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij