Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

लगानीकर्तामैत्री सुधार लागू गर्दै सेबोन : अब एउटै नाममा धेरै डिम्याट खाता खोल्न सकिने

लगानीकर्तामैत्री सुधार लागू गर्दै सेबोन : अब एउटै नाममा धेरै डिम्याट खाता खोल्न सकिने

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारमा आम लगानीकर्ताको विश्वास र मनोबल वृद्धि गर्न प्रणालीगत तथा प्रक्रियागत सुधारका सुझाव तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

    बोर्डले पुँजी बजार सुधारसम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश सुझावहरू कार्यान्वयनका लागि मंसिर १५ गतेभित्रको कार्यतालिका तयार पारेको जनाएको छ।

    कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली र सिडिएस एण्ड क्लियरिङ्गद्वारा प्रदान गरिने आइएसआईएन नम्बरमा एकरूपता ल्याउन मापदण्ड लागू गरिनेछ। साथै, कात्तिक १५ गतेभित्र लगानीकर्ताले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न सक्ने व्यवस्था कार्यान्वयन गरिने भएको छ।

    यस्तै, मंसिर १५ गतेभित्र दलाल व्यवसायी र लगानीकर्ताबीच भुक्तानी तथा दायित्व व्यवस्थापनमा एकरूपता ल्याउने तयारी भएको सेबोनले जनाएको छ। साथै, बोनस सेयर वितरणमा लाग्ने लाभांश कर संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था पनि लागू गरिनेछ।

    नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूको वित्तीय सबलता, तरलता र सुशासनका आधारमा वर्गीकरण गर्ने प्रक्रिया वस्तुनिष्ठ बनाइनेछ। वर्गीकरणपछि जेड समूहका कम्पनीहरूको कारोबारमा १०० प्रतिशत नगद मार्जिन लिनुपर्ने व्यवस्था पनि कार्यान्वयन गरिनेछ।

    त्यसका साथै, लगानीकर्ताको समस्या र गुनासो छिटो समाधान गर्न गुनासो व्यवस्थापन संयन्त्र स्थापना गरिने र धितोपत्रसम्बन्धी कसुरको जाँचबुझ प्रभावकारी बनाउन नयाँ संयन्त्र स्थापना गर्ने तयारी पनि गरिएको छ।

    सेबोनका अनुसार, लगानीकर्तामाझ पुँजी बजारसम्बन्धी साक्षरता वृद्धि गर्न विभिन्न तालिम र कार्यशाला कार्यक्रमहरू निरन्तर सञ्चालन गरिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij