
काठमाडौँ । डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम तिर्न केही सुरु गरेपनि अझ अढाई दर्जन बढी उद्योगहरू नतिर्ने अडानमा बसेको देखिएको छ ।नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूलाई कार्तिक २ गतेसम्मको समय दिएकोमा त्यस अघिसम्म केहीले तिर्न सुरु गरेका हुन् ।
डेडिकेटेड तथा ट्रंकलाइनबाट बिजुलीको प्रिमियम महसुल तिर्न विद्युत् प्राधिकरणले दिएको म्याद आइतबार सकिन लागेका छन् । शनिबारसम्म ३१ उद्योगले बक्यौता नतिर्ने अडानमा बसेको बुझिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङकै निर्देशनअनुसार प्राधिकरणले २८ महिनाको किस्तामा बक्यौता तिर्न उद्योगीलाई आइतबारसम्मको म्याद दिइएको थियो ।
सिमेन्ट उद्योग संघले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई भेटेर बक्यौता तिर्ने म्याद थप थपिनुपर्ने, बक्यौतामा जोडिएको २५ प्रतिशत जरिवाना छुट दिनुपर्ने तथा किस्ताको अवधि बढाउनुपर्ने माग अघि सारेका थिए । मन्त्री घिसिङले आइतबारभित्र २८ किस्ताकै हिसाबमा पहिलो किस्ता तिर्नुपर्ने उद्योगीहरूलाई भनेको निकट स्रोतको भनाइ छ । पहिलो किस्ता आइतबार तिरे अन्य सोच्न सकिने सुविधाका बारेमा सोचिने मन्त्री घिसिङले बताएका थिए ।
प्राधिकरणले बिल उपलब्ध गराएको ६०औँ दिनसम्म महसुल नतिरे २५ प्रतिशत थप दस्तुर लाग्ने जनाएको छ । त्यो अवधिमा बक्यौता नतिरे ग्राहकको लाइन काट्ने व्यवस्था छ । बिल जारी भएको ६०औँ दिनसम्म पनि बक्यौता नतिरेपछि प्राधिकरणले २५ प्रतिशत जरिवाना थप गरेको छ । उद्योगीहरूले यो जरिवाना छुट गर्नुपर्ने माग गरेका हुन् ।
प्राधिकरणले अल्टिमेटमपछि नौ उद्योगले किस्ता तिर्न सुरु गरेका मध्ये तीनवटा उद्योग पहिलोपटक बक्यौता तिर्न आएका हुन् । प्राधिकरणका अनुसार बाराको सिमरामा सञ्चालित हुलास स्टिल, अशोक स्टिल र हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिजले बक्यौता तिर्न सुरु गरेका हुन् । उनीहरूले शुक्रबार पहिलो किस्ता तिरे ।
प्राधिकरणका अनुसार अहिलेसम्म बक्यौता यी हुन् बक्यौता तिर्न नआएका ३१ उद्योगहरूमा , जगदम्बा स्टिल– १ अर्ब ६० करोड १८ लाख , रिलायन्स स्पिनिङ मिल्स– ७५ करोड ३७ लाख, शिवम् सिमेन्ट– ६६ करोड ८८ लाख रुपैयाँ ,मारुती सिमेन्ट– ५७ करोड ४५ लाख , घोराही सिमेन्ट उद्योग– ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज– ४४ करोड ८४ लाख ,त्रिवेणी स्पिनिङ मिल्स– ३२ करोड १० लाख , सोनापुर मिनरल एन्ड आयल– २४ करोड ३० लाख , जगदम्बा सिन्थेटिक– २० करोड ५० लाख, बुटवल सिमेन्ट– १८ करोड ४५ लाख, हिमाल आइरन एन्ड स्टिल– १३ करोड ६५ लाख, अरिहन्त मल्टिफाइबर लि– ११ करोड ५३ लाख, युनाइटेड सिमेन्ट प्रालि– ११ करोड ३७ लाख, कसमस सिमेन्ट फ्याक्ट्री– ९ करोड ७७ लाख ,
एभरेस्ट पेपर मिल– ९ करोड ४४ लाख , रघुपति जुल मिल– ८ करोड ५१ लाख ,अरिहन्त पोलिप्याक लि– ६ करोड ६२ लाख , निगाले सिमेन्ट प्रालि– ५ करोड ८१ लाख, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज– ४ करोड ४० लाख ,विशाल सिमेन्ट इन्डस्ट्रिज– ३ करोड ३५ लाख,बाबा जुट मिल– २ करोड ४९ लाख,घराना फुड्स– १ करोड ८८ लाख,सिद्धार्थ पेटप्लास्ट– १ करोड ८३ लाख,एसआर फुड्स– १ करोड ४८ लाख, गोयन्का फुड्स रुपन्देही– १ करोड ४८ लाख, पञ्चकन्या स्टिल इन्डस्ट्रिज– ५२ लाख, श्याम प्लास्टिक उद्योग– ४९ लाख, भलवारी स्वचालित कारखाना– ३० लाख ,पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज– २५ लाख ,एभरेस्ट रोलिङ मिल– १७ लाख र एसआर स्टिल इन्डस्ट्रिज– १६ लाख रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij