Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

जेनजी आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाहीको माग — नेपाल उद्योग वाणिज्य महासंघको सरकारलाई ध्यानाकर्षण

जेनजी आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाहीको माग — नेपाल उद्योग वाणिज्य महासंघको सरकारलाई ध्यानाकर्षण

  •  

    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्न व्यक्तिमाथि तत्काल कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ। महासंघले केही स्थानमा घटनामा संलग्न विरूद्ध जाहेरी दर्ता नै नलिइएको गुनासो सदस्य व्यवसायीहरूबाट आएको उल्लेख गर्दै यस्तो उदासीनताले दण्डहीनताको संस्कृतिलाई थप मौलाउने र व्यवसायीहरूको मनोबल कमजोर पार्ने चेतावनी दिएको छ।

    महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यदि दोषीमाथि समयमै कारबाही नहुँदा लगानीकर्ताको विश्वास घट्ने, रोजगारी सिर्जनामा अवरोध हुने, राजस्व संकलनमा कमी आउने र समग्र अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक प्रभाव पर्नेछ।”

    व्यवसायीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै महासंघले केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको छ। यसका लागि महासंघले गृह मन्त्रालयमा औपचारिक पत्राचार गरिसकेको छ। साथै, जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन तथा आकस्मिक निर्णय प्रक्रियामा निजी क्षेत्रको प्रत्यक्ष संलग्नता आवश्यक रहेको जनाएको छ।

    आइतबार बसेको महासंघका पदाधिकारी, स्थायी समिति तथा विभिन्न समितिका सभापतिहरूको संयुक्त बैठकमा कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले शान्ति र स्थायित्व बिना उद्यम सञ्चालन सम्भव नहुने उल्लेख गर्दै व्यवसायीहरूको सुरक्षालाई राष्ट्रिय प्राथमिकताको रूपमा लिन आग्रह गरे। त्यस्तै, निवर्तमान अध्यक्ष शेखर गोल्छाले सरकारलाई विश्वसनीय लगानी वातावरण र दिगो आर्थिक गतिविधि सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij