Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

पहिलो तीन महिनामा ३५ अर्ब बढीको विदेशी लगानीको प्रतिबद्धता

पहिलो तीन महिनामा ३५ अर्ब बढीको विदेशी लगानीको प्रतिबद्धता

  • काठमाडौँ । चालु आर्थिक वर्षको (आव)पहिलो तीन महिनामा गत आवको करिब आधा जति प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोज गरी ३५ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागका अनुसार गत आव २०८१/८२ मा ६५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।

    उद्योग विभागका अनुसार चालु आवको पहिलो तीन महिनामा कुल ३११ वटा परियोजनाहरूका लागि ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ  ।  असोज महिनामा मात्र ५४ वटा परियोजनाका लागि ४ अर्ब ९४ करोड ७३ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको जनाइएको छ । 
    ७ वटा ठूला, ४ वटा मझौला र ३०० वटा साना उद्योगमा लगानी गर्ने प्रतिबद्धता आएको छ । यसबाट विदेशी लगानीकर्ताहरू साना तथा मझौला व्यवसायहरूमा बढी आकर्षित भएको देखिएको छ । 

    क्षेत्रगत रूपमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । १ सय ३ वटा पर्यटनमूलक उद्योगमा १ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धताबाट  नेपालको पर्यटन उद्योगको सम्भावना बलियो रहेको दर्शाउँछ ।

    सोहीगरी सूचना प्रविधिमूलक क्षेत्र पनि विदेशी लगानीकर्ताहरूको आकर्षण रहेको छ । सोही अवधिमा १६२ वटा सूचना प्रविधिसम्बन्धी उद्योगहरूका लागि १५ करोड ३७ लाख ३२ हजार रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा ४ करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।

    तर प्रतिबद्धता कार्यान्वयनमा समस्या देखिएका छन् ।  नेपालमा लगानीको प्रतिबद्धता उच्च भए पनि सोही अनुपातमा वास्तविक लगानी भित्रिन नसकेको तथ्यांकहरुले दर्शाउँछ ।  उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा ६५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरिएकोमा  १२ अर्ब १ करोड रुपैयाँ मात्र वास्तविक लगानीको रूपमा भित्रिएको थियो । विज्ञहरूका अनुसार राजनीतिक अस्थिरताले लगानीकर्ताको विश्वास जित्न नसकेको हो । नीतिगत सहजता र स्थिरताको अभावले प्रतिबद्धता कार्यान्वयनमा आउन नसकेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij