काठमाडौँ । चालु आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा पाँच वर्षयताकै सबै भन्दा बढी स्मार्टफोन आयात भएको छ ।साउन असोजको पहिलो त्रैमासिकमा स्मार्टफोनको आयात ५ वर्ष यताकै उच्च आयात हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको ३ महिनामा कुल १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरका ८ लाख ४ हजार वटा स्मार्टफोन नेपाल आएका छन् । स्मार्टफोन आयातबाट सरकारले २ अर्ब ५४ करोड २१ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
गत आव २०८१/८२ को सोही अवधिमा तुलनामा स्मार्टफोनको आयात परिमाण र रकम दुवैमा वृद्धि भएको हो । गत आवको पहिलो ३ महिनामा ९ अर्ब ८३ करोड २८ लाख रुपैयाँका ६ लाख ५५ हजार वटा स्मार्टफोन आयात भएको विभागको तथ्यांकमा जनाइएको छ ।
आव २०८०/८१को सोही अवधिमा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँका ६ लाख ४२ हजार स्मार्टफोन आयात भएको थियो । आव २०७९/८० मा ८ अर्ब ५३ करोड ३० लाख रुपैयाँको ६ लाख १८ हजार स्मार्टफोन आयात भएको थियो । कोभिड महामारीपछिको आव २०७८/७९ को ठुलो मन्दी खेपेको बेला आर्थिक वर्षभरीमा जम्मा २ अर्ब ८२ करोड ६६ लाख रुपैयाँका १ लाख ७६ हजार स्मार्टफोन मात्र आयात भएको थियो । सो आवको ३ महिनामा त स्मार्टफोन आयात नै भएको थिएन । सरकारले एमडीएमएस लागु गर्ने भएपछि अवैध रुपमा मोबाइलफोन आयात कम भएको सम्बद्ध जानकारहरू बताउँछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij