Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १४ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १४ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १४ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा सम्बद्ध सरोकारवालासँग  छलफल

    काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले जारी गरेको १० बुँदे मापदण्डका विषयमा सम्बद्ध सरोकारवालासँग  छलफल अघि बढाएकी छिन् ।

     

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको  जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले मापदण्डबारे आज श्रम, अर्थ, परराष्ट्र र कानुन मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेकी हुन् ।

    अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, श्रम सचिव कृष्णहरि पुष्कर लगायत सरोकारवाला निकायका उच्च अधिकारी छलफलमा  उपस्थित थिए ।

    राष्ट्रपति पौडेलको कात्तिक १७ गतेदेखि कतार भ्रमण

    काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुन लाग्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । सो औपचारिक भ्रमणका लागि उहाँ यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्नुहुने उहाँले बताउनुभयो । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नुहुनेछ । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गर्नुभयो ।

    नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हरि खड्का नियुक्त

    काठमाडौँ ।नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हरि खड्का बनेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले शुक्रबार खड्कालाई सो पदमा नियुक्त गरेका हुन् ।

     

    नेपाली टोलीको प्रशिक्षक प्रो लाइसेन्सप्राप्त अस्ट्रेलियन नागरिक म्याट रसले राजीनामा पठाएसँगै एन्फाले खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।नेपाली राष्ट्रिय टोलीका लागि निराजन रायमाझी र अञ्जन विष्टसँगै सर्वाधिक गोलकर्ता रहेका नेपाली टोलीका पूर्वकप्तान खड्काले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।पूर्वप्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखक काठमाडौँ उपत्यका बाहिर जान नपाउने आदेशकाठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी सरकारले स्थानहद तोकेको विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार  गरेको  छ ।

     

    सर्वोच्च अदालतले सरकारको अनुमतिबिना उपत्यका बाहिर जान नपाउने गरी अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा   स्थानहद तोकेको विरुद्ध परेको रिटमा  शुक्रबार  अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गर्नुभएको हो । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेस गरेको छ ।

     
    नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन

    काठमाडौँ ।  नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्न समिति गठन भएको छ ।

    समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य चयन भएका छन् ।  मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।

    नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

    काठमाडौँ। म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ । गत मङ्गलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित संयुक्त उद्धार टोली त्यहाँ प्रस्थान गरेको थियो ।

    थापाथलीको राममन्दिरमा निर्माण गरिएको अनधिकृत भौतिक संरचनामा महानगरको डोजर

    काठमाडौँ । काठमाडौँ  महानगरपालिकाले थापाथलीको राममन्दिरमा अनधिकृतरूपमा निर्माण गरिएको भौतिक संरचना भत्काएको छ । 

     

    महानगरपालिकाको टोलीले    सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचना शुक्रबार भत्काएको हो ।

    महानगरले सम्पदा क्षेत्र मिचेर बनाइएका अवैध संरचना भाडामा समेत लगाएर बसेपछि  खाली गर्न भनेकोमा अटेर गरी बसेपछि शुक्रबार महानगरको नगर प्रहरीसहितको टोलीले डोजर लगाएर भत्काएको छ ।

    बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

    मुस्ताङ।वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिनुभयो । तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको छ । तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध भएको ।

    डोरस्टेप डिजिटल सर्भिसले बैंकहरूको भौतिक शाखा घटाउने चुनौती

    काठमाडौँ । घरदैलामा सेवा पुग्न थालेपछि त्यसको प्रतिस्पर्धा बैंकिङ क्षेत्रमा पनि प्रवेश गरेको छ । बैंकिङ क्षेत्रमा डिजिटल सर्भिसले त्यसैपनि कतिपय काम शाखा नआइ नै हुने गरेको छ । तर बैंकिङ क्षेत्रमा घरदैला सेवा अर्थात् डोरस्टेप डिजिटल सर्भिसको सुरुवात भएपछि यस्तो प्रतिस्पर्धा हुने देखिएको हो ।

     

    कामना सेवा विकास बैंकले डोरस्टेप बैंकिङ सर्भिस सुरु गरेपछि यस्तो प्रतिस्पर्धा बढ्ने विज्ञहरू बताउँछन् । कामना सेवा विकास बैंकले विशिष्ट बचत खाता अन्तर्गत नेपालमै पहिलोपटक ‘डुअर स्टेप बैंकिङ सर्भिस’ प्रडक्ट ल्याएको जनाएको छ ।

    बिपी राजमार्ग अवरुद्ध

    धुलिखेल । वर्षाका कारण बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडकमाथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ । रोशी–७ स्थित चारसय बेँसी, वडा नं ९ को बिरुवाडाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।

    निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण

    भद्रपुर (झापा), १४ कात्तिकः मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताउनुभयो ।

    सुनको मूल्य बढेर शुक्रबार तोलाको रू दुई लाख ३९ हजार कायम

    काठमाडौँ।सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     

    त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    एनपीएलको उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने

    काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ।

     

    आज बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच सम्झौता भएको हो। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणको अल्टिमेटम

    काठमाडौं । काठमाडौंमा अतिक्रमित जग्गा हटाउन ७ दिनको अल्टिमेटम दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएका हुन् । महानगरपालिका र उपत्यका विकास प्राधिकरणको गत असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिने निर्णय गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

    हिमालयन बैंकको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ ।हिमालयन बैंक लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

     

    जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता र चिरञ्जीवि लाल अग्रवालको ३ हजार १७१ कित्ता सेयर रहेको छ ।

    उद्यमी विरेन्द्र बस्नेत राजनीतिमा: इटालीका बर्लुस्कोनीजस्तै नेपाली संस्करण बन्ने संकेत?

    काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन हुने–नहुने अन्योल बीच पनि राजनीतिक दल दर्ता र मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया निर्वाचन आयोगमा तीव्र रूपमा चलिरहेको छ।

     

    यसबीच, नेपालका सबैभन्दा सफल उद्यमीमध्येका एक बुद्ध एयरका मालिक विरेन्द्रबहादुर बस्नेतले ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामक नयाँ दल दर्ता गरी चुनावी मैदानमा उत्रिएका छन्। आयोगमा दर्ता भइसकेको उक्त दलले आफूलाई लोकतान्त्रिक धारमा आधारित र मुलुकलाई गति दिने उद्देश्यको पार्टी भएको बताएको छ।

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

     

     

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः संकट, स्थानीयले फोहोर फाल्न रोक लगाए

    काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि ठप्प बनेको छ। स्थानीयबासीले विगतमा भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि फोहोर फाल्न नदिई ल्याण्डफिलसाइट बन्द गरेका छन्।ककनी गाउँपालिका, धुनिबेसी नगरपालिका र बेलकोटगढी नगरपालिकाका स्थानीयले संयुक्त रूपमा सहमति कार्यान्वयन नभएसम्म काठमाडौंको फोहोर नमान्ने निर्णय गरेका हुन्। स्थानीयको स्वतःस्फूर्त आन्दोलनलाई जनप्रतिनिधिहरूले पनि साथ दिएका छन्।ककनी गाउँपालिका–१ का वडा अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीका अनुसार, “हामीले पटक–पटक सम्झौता कार्यान्वयनको माग गरेका थियौँ, तर सुनुवाइ भएन। अब नागरिक नै आन्दोलनमा उत्रिएका छन्, हामी पनि उनीहरूसँगै छौँ।”उनका अनुसार दुई दिनदेखि फोहोर उठ्न नसकेको छ तर काठमाडौं महानगरपालिकाले कुनै पहल नगरेको आरोप छ। स्थानीयले विगतमा गरिएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएसम्म फोहोर ल्याउन नदिने चेतावनी दिएका छन्।बुधबार झण्डै एक सय फोहोरका गाडी फर्काइएका थिए भने बिहीबार पनि सवारी प्रवेशमा रोक लगाइएको छ।

     
    आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

    काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

     


    हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान  छ ।

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij