Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २४ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २४ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २४ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड (BANDIPUR) को शेयर औपचारिक रूपमा सूचीकृत भएको छ। यससँगै कम्पनीका शेयर अब द्वितीय बजारमा कारोबारयोग्य बनेका छन्।

     

    नेप्सेमा कम्पनीका २ करोड ८३ लाख कित्ता शेयर सूचीबद्ध गरिएका छन्। तीमध्ये ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको छ भने २ करोड २४ लाख ४० हजार कित्ता शेयर संस्थापक शेयरधनीहरूले लगानी गरेका हुन्।

    स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SWASTIK) को शेयर सूचीकृत भएको छ। यससँगै कम्पनीका शेयर अब द्वितीय बजारमा कारोबारयोग्य बनेका छन्।

     

    नेप्सेमा कम्पनीका ५ लाख ७७ हजार ५०० कित्ता शेयर सूचीबद्ध गरिएका छन्। तीमध्ये २ लाख ३१ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको हो भने ३ लाख ४६ हजार ५०० कित्ता शेयर संस्थापक शेयरधनीहरूले लगानी गरेका हुन्।

    सरकारले १६ आयोजना तोक्यो — राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना

    काठमाडौं । सरकारले देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको दिगो विकासका लागि १६ ठूला आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा तोकेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार, यी आयोजना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहेका छन्। यस निर्णयमार्फत सरकारले देशभरका महत्वपूर्ण जलस्रोत र सिँचाइ परियोजनालाई दीर्घकालीन विकास योजनासँग जोड्ने प्रयास गरेको हो।

     

    सरकारले यसपटक पहिलेका गौरवका आयोजनासँगै केही नयाँ र रणनीतिक रूपमा महत्वपूर्ण परियोजनालाई पनि प्राथमिकता सूचीमा समावेश गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार, यी आयोजना देशका विभिन्न प्रदेशहरूमा रहेका छन् र कृषि उत्पादन, जलस्रोत उपयोग र ऊर्जा आत्मनिर्भरता बढाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    भौतिक संरचना पुनर्निर्माण कोषमा साढे सात करोड बढी संकलन

    काठमाडौँ । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्न साढे करोड बढी संकलन भएको छ । जेनजी क्षतिबाट भएका संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको हो  ।

     

    अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा  आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको बैठक सोमबार बस्यो ।

    सेवा प्रदायक स्वाथ्य संस्थाले दाबी भुक्तानीको २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गराउन पर्ने

    काठमाडौँ । स्वास्थ्य सेवा प्रदायक स्वास्थ्य संस्थाले  स्वास्थ्य बीमामा आबद्ध भई प्राप्त गर्ने दाबी भुक्तानीको २ प्रतिशत रकम स्वास्थ्य बीमा कोषमा जम्मा गर्नुपर्ने भएको छ ।स्वास्थ्य बीमा बोर्डले सोमबार  एक सूचना जारी गरी  यसबारे निर्णय भएको सम्बन्धित सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई जानकारी गराएको हो । सो सूचनामा भनिएको छ  ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीबापत स्वीकृत रकमको २ प्रतिशत कट्टा गरी स्वास्थ्य बीमा कोषमा दाखिला गरिनेछ’

    राजस्व अनुसन्धान विभागद्वारा सिमकोटका छतेन लामासमेत ६जना विरुद्ध राजस्व छली कसुरमा मुद्दा दायर

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले इलेक्ट्रिक चुरोट (भेप)को अवैध ओसार पसार गरी राजस्व छली गरेको कसुरमा करिब १२ करोड बिगो सजाय मागदाबीसहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।विभागले हुम्ला सिमकोट गाउँपालिका वडा न ३ बस्ने २७ वर्षीय छतेन लामा तामाङसमेत ६ जना विरुद्ध बाके जिल्ला अदालतमा सोमबार अभियोग पत्र दायर गरेको जनाएको हो ।ओसारपसार गरी प्रचलित कानुनअनुसार तिर्नुपर्ने राजस्व नबुझाएको अभियोगमा अभियोगपत्र दायर गरेको  विभागले जनाएको छ ।

    सर्वोच्चमा मधेश प्रदेश सरकार गठनविरुद्ध रिट दायर

    काठमाडौँ । सर्वोच्च अदालतमा  संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश सरकार गठनविरुद्ध  रिट दायर भएको छ । रक्कीप्रसाद साह र सुजित यादवले  सोमबार  रिट दायर गरेका हुन् ।

     

    उनीहरूले  मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेको जनाएका छन् ।

    संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

    भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

    भैरहवा।शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएकोे थियो । शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् । विमान भैरहवाकै आकाश हँुदै आफ्नो गन्तव्यतर्फ लागेको थियो । गत वर्षकै फागुन १४ गते काठमाडौँको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौँ उडेको फ्लाई दुबईको विमान भारतको पनि लखनऊ डाइभर्ट भएका थिए । यी घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । नेपाल आउने अन्तरराष्ट्रिय विमानहरूले विमान डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउन परे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई प्राथमिकतामा राख्ने गरिएको छ ।

    शेयर बजार : नेप्से परिसूचक  ५.८ अंकले घटेर २५६०.२९ बिन्दुमा, कारोबार घटेर साढे चार अर्बमा

    काठमाडौँ । साताको दोस्रो दिन सोमबार पनि  शेयर बजारमा  गिरावट देखा परेको छ।आइतबार दुई अंकले घटेको नेप्से परिसूचक सोमबार  ५.८ बिन्दुले घटेर २५६०.२९ बिन्दुमा झरेको हो ।

     

    सोमबार कारोबा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २ सय ३६ रुपैया ३४ पैसा बराबर भएको नेप्सेले जनाएको छ । सो कुल कारोबारका लागि ८६ लाख ४७ हजार ८सय ८९ कित्ता शेयरको कारोबार भएको छ ।

    मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै  आधिकारिक कूटनीतिक नोट पठाइयो

    काठमाडौं । सरकारले  मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै  आधिकारिक कूटनीतिक नोट पठाएको छ ।

     

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको पत्र परराष्ट्र मन्त्रालय मार्फत क्वालालम्पुरस्थित नेपाली दूतावास हुँदै मलेसिया सो कूटनीतिक नोट पठाइएको हो । गत शुक्रबार पठाइएको पत्र दूतावासले मलेसियाली सरकारलाई बुझाउन लागेको छ ।

    मलेसियाले पठाएको पत्रले म्यानपावर व्यवसायीबीच सिन्डिकेट प्रणाली लागु गर्ने प्रयास गरेको ठहर गर्दै नेपालले ती मापदण्ड कार्यान्वयन गर्न असम्भव रहेको स्पष्ट पारेको छ ।

    मधेस प्रदेश मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

    जनकपुरधाम।मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभारग्रहण गर्ने कार्यक्रम सार्वजनिक भएसँगै जनकपुरधाम तनावग्रस्त बनेको छ । मुख्यमन्त्री नियुिक्तको विरोधमा उत्रेका विपक्षी राजनीतिक दलसम्बद्ध कार्यकर्ताले यहाँस्थित विभिन्न मन्त्रालयका फर्निचरलगायतका सामग्री तोडफोड गरेका छन् । उनीहरूले प्रदेशअन्तर्गतका मन्त्रालयहरूमा तालाबन्दी गरेका छन् । यसैगरी बजारका विभिन्न ठाउँमा टायर बालेर विरोध प्रदर्शनमा उत्रेका विपक्षी नेता तथा कार्यकर्ताहरू प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र नवनियुक्त मुख्यमन्त्री यादवको विरोधमा नाराबाजी गरिरहेका छन् ।

    सिटिजन्स बैंकको “ सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक

    काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आबद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शीरूपमा ऋण सुविधा उपलब्ध गराइने जनाइएको छ  । 
    सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सकिनेछ ।

    मेलम्ची खानेपानी आयोजनाको अवरोध हटाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाको अवरोध हटाउन  आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका हुन् ।

    नेपाल राष्ट्र बैंकको कारबाहीमा दुई बैंक प्राइम र कुमारी

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियामकीय प्रवन्ध अनुसार काम नगर्ने दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्राइम बैंक र कुमारी बैैंकलाई सचेत गराइएको हो ।

     

     प्राइम बैंक निरीक्षणका क्रममा बैंकले केन्द्रीय बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ कोे बुँदा १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ ।

    मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

    धनुषा, २४ कात्तिकः मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।

    प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

    सोमबार सुनको मूल्य बढेर तोलाको २ लाख ४१ हजार ५०० रुपैयाँ  कायम

     

    काठमाडौँ । सोमबार सुनको मूल्य बढेर तोलाको २ लाख ४१ हजार ५०० रुपैयाँ  कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो ।आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले महँगिएको हो ।

    भन्सार छली, चोरी पैठारी  गरिएको २३ लाख बराबारको अवैध सामान बरामद

    देवदह ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

     
     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij