काठमाडौँ । बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकले वार्षिकरूपमा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको हो ।बागमती प्रदेशका १३ जिल्ला जिल्लाहरूमा आर्थिक वर्ष (आव)२०८१/८२ असार मसान्तसम्मको जिल्लागत कृषि, उद्योग,सेवा तथा पूर्वाधारक्षेत्रको स्थिति र परिदृश्यको संक्षिप्त विश्लेषण यो प्रतिवेदनमा गरिएको कार्यकारी निर्देशक डा. राममणि खरेलले जनाएका हुन् ।
नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा ३६.५ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन आव २०८१/८२मा ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आवमा यो वृद्धि ३.७ प्रतिशत रहेको थियो । चालु आव २०८२/८३को पहिलो त्रयमासमा ढिलो मनसुन(वर्षा)ले केही नकारात्मक असर परेको डा. खरेलले जनाएका छन् । साथै उनले भदौमा भएको जेनजी आन्दोलनको क्षति पश्चात बनेको सरकारले केही सकारात्मक प्रभाव बढ्दै गएको बताएका छन् ।
प्रतिवेदनको सारांशले जनाए अनुसार आव २०८१/८२मा नेपालको आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०८०/८१मा नेपालको आर्थिक वृद्धि दर ३.७ प्रतिशत रहेको संशोधित अनुमान छ ।
आव २०८१/८२को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः२५.२ प्रतिशत १२.८ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
यसैगरी आव २०८१/८२मा बागमती प्रदेशको आर्थिक वृद्धि दर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्ष यो ३.७ प्रतिशत रहेको थियो ।आव २०८१/८२मा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, ११.१ प्रतिशत र ७७.१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij