काठमाडौँ । पहिलो चौमासिकमा वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई) ३६ अर्बले बढेको छ । चालु आर्थिक वर्षको २०८२/८३ (आव)को पहिलो चौमासिक कार्तिक मसान्तसम्म ३६ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको हो । नेपालले विभिन्न ८ उद्योग समूहहरूमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) स्वीकृति दिएको हो ।
उद्योग तथा लगानीका क्षेत्रअनुसार कुल ३ सय ८२ वटा परियोजना दर्ता भएका छन् । उद्योग विभागको तथ्यांकअनुसार, सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् । आईसीटी क्षेत्रमा मात्र २सय ५ परियोजना स्वीकृत भएपनि लगानी रकम भने तुलनात्मक रूपमा कम छ । अथवा करिब ८७ करोड ४३ लाख रुपैयाँको प्रतिवद्धता गरिएको छ ।
सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वनआधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ । यसमा १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरिएको छ ।
पर्यटनतर्फ १सय १८ उद्योगका लागि ८ अर्ब ९४ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड, ऊर्जामुलक १ वटा उद्योगका लागि १८ करोड, खानीक्षेत्रको १ वटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागकाअनुसार चालु आर्थिक वर्षको कातिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । कुल ७१ वटा उद्योगमा साढे १ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij