काठमाडौँ । सरकारले लुम्बिनी विकास कोष तथा लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्त गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अन्य निर्णयहरू सार्वजनिक गर्दै विविध विषयमा सरकार सक्रिय रहेको जानकारी दिए।
उनका अनुसार आगामी मंसिर १० र ११ गते ढाका, बंगलादेशमा आयोजना हुने नेपाल–बंगलादेश ऊर्जा सहकार्य सम्बन्धी सातौँ संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवि चटौत नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी गराउने निर्णय गरिएको छ।
यसैगरी, नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम व्यवस्थाका लागि ७ लाख थान विद्युतीय राहदानी हालकै आपूर्तिकर्ता कम्पनीबाट भेरिएसन आदेशमार्फत खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गरिएको छ।
सैनिक क्षेत्र सम्बन्धी निर्णयमा, एक जना महासेनानीलाई सहायक रथी र एक जना सहायक रथीलाई उपरथि पदमा विशेष बढुवा दिने निर्णय गरेको छ।
त्यस्तै सरकारले उपभोक्ता अदालत तथा बाल अदालतको संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको प्रवक्ता खरेलले जनाए।
यसबाहेक, मंसिर ८ देखि १२ गतेसम्म चीनको ल्हासामा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगकी सदस्य रीना रानालाई सहभागिताको स्वीकृति पनि मन्त्रिपरिषद्ले प्रदान गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij