Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

नेप्से परिसूचक साताभरि सामान्य उकालो, प्रतिरोध परीक्षणमै बजार

नेप्से परिसूचक साताभरि सामान्य उकालो, प्रतिरोध परीक्षणमै बजार

  • काठमाडौँ । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंक वृद्धि सहित बन्द भएको छ। अघिल्लो साता २५४५.७३ विन्दुमा बन्द भएको नेप्से यो साता ०.५७ प्रतिशत अर्थात १४.५६ अंकले बढेर २५६०.२९ विन्दुमा पुगेको हो।

    पाँच कारोबार दिन खुलेको बजारमध्ये तीन दिन नेप्से वृद्धि भयो भने दुई कारोबार दिन भने घटेर बन्द भएको थियो।

    नेप्से पछिल्ला केही सातादेखि प्रतिरोध परीक्षणमै रहेको देखिन्छ। हाल २५८० देखि २६४० विन्दु आसपास प्रतिरोध क्षेत्र रहेको विश्लेषण गरिन्छ।
    सामान्यतया, नेप्सेले यो प्रतिरोध पार गर्न सकेन भने २४४०–२४९० विन्दु क्षेत्रमा टेवा पाउने सम्भावना प्रबल छ।
    तर, प्रतिरोध तोडेर उकालो लाग्न सकेमा २८००–२८६० विन्दुमा अर्को प्रतिरोध क्षेत्र देखिन्छ।

    गत साता बनेको ‘स्पिनिङ टप’ क्यान्डलले लगानीकर्तामा अन्योल बढेको संकेत गर्छ। बजार बढ्दै वा घट्दै जाने विषयमा स्पष्ट संकेत नआएकाले लगानीकर्ता सावधानीपूर्वक हेरिरहेका छन्। केही सातादेखि नेप्से उही दायरामा सीमित रहेकाले अन्योल झन बढेको विश्लेषण गरिएको छ

    गत साता नेप्सेमा दैनिक औसत ४ अर्ब ८ करोड रुपैयाँको कारोबार मात्र भयो।
    यो रकम २० दिने औसत भोल्यूम ४ अर्ब ७१ करोडको तुलनामा १३.३७ प्रतिशत कम हो। कमजोर भोल्यूमलाई बजारमा उत्साह अभावको संकेतका रूपमा हेरिएको छ।

    तकनीकी सूचकमा भने केही सकारात्मक संकेतहरू देखिएका छन्। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहँदै दुवै रेखाबीच दूरी बढ्दै गएको छ। हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेर विस्तारै बढ्दो क्रममा छ, जसले बजारको समग्र प्रवृत्ति बुलिश रहेको देखाउँछ।

    साप्ताहिक आधारमा स्टकास्टिक RSI न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिद र बिक्रीको चाप सन्तुलित रहेको संकेत गर्छ।

    सामान्य उकालो भए पनि बजार अझै प्रतिरोध परीक्षणमै रहेकाले आगामी साता नेप्से कुन दिशातिर लाग्छ भन्नेबारे लगानीकर्ताहरू चनाखो बनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij