काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो आठौँ वार्षिकोत्सव मनाइरहेको बेला हालसम्म कोषमा जम्मा भएको करिब रु ९५ अर्ब ६८ करोड रकम कहाँ–कहाँ लगानी भइरहेको छ भन्ने विषयले व्यापक चासो पाएको छ। कोषका प्रवक्ता तथा उपकार्यकारी निर्देशक कृष्ण अधिकारीका अनुसार कोषले सुरक्षित मानिने क्षेत्रमा मात्र लगानी गर्ने नीति अवलम्बन गर्दै आएको छ।
उनका अनुसार जम्मा भएको रकम सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकका निक्षेप, म्यूचुअल फन्ड, डिबेन्चर तथा योगदानकर्तालाई सापटीका रूपमा लगानी गरिएको छ। हाल योगदानकर्तालाई चार प्रतिशत ब्याज उपलब्ध गराइने गरिएको छ भने सापटी लिँदा दुई प्रतिशत थप ब्याज दर लाग्ने व्यवस्था छ।
सामाजिक सुरक्षा कोषले हालसम्म पूर्वाधार तथा जलविद्युत् परियोजनामा प्रत्यक्ष लगानी नगरे पनि आगामी दिनमा सो क्षेत्रमा जान सकिने सम्भावना रहेको अधिकारीले बताए। सञ्चय कोष र नागरिक लगानी कोषले बैंकहरूसँग ‘कन्सोर्टियम’ बनाएर परियोजनामा लगानी गर्ने गरेको भन्दै सामाजिक सुरक्षा कोषले पनि त्यही मोडेल अपनाउन सक्ने विशेषज्ञहरूको सुझाव छ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठका अनुसार कोषले सजिलो र सुरक्षित क्षेत्रमध्ये भएका सरकारी ऋणपत्र तथा निक्षेपमा लगानी गरे पनि ती रकम बैंक तथा सरकारमार्फत अन्य क्षेत्रमा उपयोग भइने भएकाले यसको प्रभाव व्यापक देखिने बताइन्छ।
२०७५ मंसिर ११ गतेदेखि सञ्चालनमा आएको सामाजिक सुरक्षा योजनामा हाल २६.५ लाख योगदानकर्ताहरू आबद्ध छन्। तीमध्ये करिब ६.५ लाख औपचारिक क्षेत्रका श्रमिक र २० लाख वैदेशिक रोजगारमा गएकाहरू रहेको कोषले जनाएको छ। वैदेशिक श्रमिकले नियमित योगदान नपठाउने चुनौती समाधान गर्न सरकारले विदेशस्थित सामाजिक सुरक्षा संस्थासँग सहकार्यको कानुनी बाटो खोलेको छ।
कोषले हालसम्म विभिन्न शीर्षकमा १७ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी सुविधा तथा अवकाश भुक्तानी गरेको छ। जसमा अवकाश भुक्तानी १४.५ अर्ब र स्वास्थ्य, मातृत्व तथा अन्य सुरक्षासम्बन्धी सुविधाका रूपमा २.५ अर्ब रुपैयाँ भुक्तानी भएको छ। साथै, योगदानकर्तालाई ७ अर्ब रुपैयाँ कर्जाका रूपमा लगानी भएको जानकारी कोषले दिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij