Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर १२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, मंसिर १२ मंगलबार (From Archieve)

  • 603
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  मंसिर १२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १२ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही गरेको हो ।

     बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो । धितोपत्र बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार, वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गर्ने जनाएको छ । कराबाही पर्नेमा अधिकांश जलविद्युत् समूह र लघुवित्त समूहका लगानीकर्ता रहेका छन् ।

    ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं ।  नेप्सेमा ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २११ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पछि यसको मूल्य २०८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

    सोही मूल्यलाई आधार मानेर बुधबार कारोबार खुला हुनेछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारित गर्न यस बैंकले मंसिर २८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ ।सभा, नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । बैंकले भोलि मंसिर १३ गते बुक क्लोज गर्दैछ ।

    मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा पर्यो १२.४८ गुणा बढीको आवेदन

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (मंसिर १२ गते) साँझ ५ः०९ बजेसम्ममा १३ लाख २२ हजार ९५४ जनाले १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १२.४८ गुणा बढी हो ।

    नेपाल वेयरहाउजिङको आइपीओमा पर्यो १०.०३ गुणा बढीको आवेदन

    काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओमा १ अर्ब १४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (मंसिर १२ गते) साँझ ५ः०९ बजेसम्ममा १० लाख ५५ हजार ६३८ जनाले १ करोड १४ लाख ५३ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १०.०३ गुणा बढी हो ।

    शेयर बजार : २.१७  अंकले घटेर नेप्से १८९४.५३  विन्दुमा ,  १ अर्ब २८ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से  २.१७  अंकले घटेर १८९४.५३  विन्दुमा आएको छ । १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस दिन २९० कम्पनीको ४७ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ८ करोड ४९ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।

    त्रिशूली जलविद्युत कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार त्रिशूली जलविद्युत कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम भएको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता ८९.३८ रुपैयाँदेखि २६८.१४ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । बुधबार (मंसिर १३ गते) स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा सोही रेन्जभित्र रहेर पहिलो कारोबार हुनेछ । पहिलो कारोबारलाई आधार मानेर नियमित कारोबार हुनेछ ।

    हिमालयन रिइन्सुरेन्सको प्रिमियम आइपीओमा कति पर्यो आवेदन ?

    काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आइपीओमा ३७ करोड ६ लाख ८८ हजार ७६० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (मंसिर १२ गते) बिहान १०ः१० बजेसम्ममा २० हजार ६ जनाले १७ लाख ९९ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।  हिमालयन रिइन्सुरेन्सले मंसिर ४ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो ।

    नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीलाई चेम्बरको आग्रह

    काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि जापानी उद्योगी व्यवसायीसंग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको इन्टरनेशनल कोअपरेशन अर्गनाईजेनस फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया आईकोसासंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानी एवं व्यापारिक साझेदारीका लागि प्रस्ताव गर्नुभएको हो । 
    नेपालमा जलविद्युत, पर्यटन, औद्योगिक एवं इलेक्ट्रिक क्षेत्रमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह गर्नुभएको हो । आइकोसाकाका अध्यक्ष डा. कुरोसे नावुहिरो सहितको प्रतिनिधीमण्डलसंग अध्यक्ष मल्लले भन्नुभयो, ‘नेपाल र जापानबीच आर्थिक र कुटनीतिक तवरले उच्चस्तरीय सम्वन्ध छ । लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य समेत हो । जलविद्युत, पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानीका लागि म आग्रह गर्दछु । प्रतिफल सुनिश्चितताका लागि चेम्बर अफ कमर्सका तर्फबाट पहल समेतगर्नेछौं, ।’

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

    सो अवसरमा उहाँहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गर्नुभएको थियो ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा योजनाबद्ध धाँधली,पुनः निर्वाचन गराउन र दोषीलार्ई कडा कारबाही गर्न आरके शर्मा पक्षको माग

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा योजनाबद्ध धाँधली भएको भन्दै आरके शर्मा पक्षले पुनः निर्वाचन गराउन र दोषीलार्ई कडा कारबाही गर्न माग गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शर्माले अनलाइन निर्वाचनमा गम्भीर ७ वटा त्रुटीहरुका भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । ‘१९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरू सहित हामीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थियौँ।  तर अहिले पाँच हप्ता बितिसक्दा पनि मन्त्रालयले कुनै जवाफ दिएको छैन।  प्रहरीको अनुसन्धानबारे पनि हामीलाई केही बताइएको छैन’, शर्माले भने, ‘ त्यसैले संसारभरि रहेका लाखौँ गैरआवासीय नेपालीहरूको भावनासँग जोडिएको यस्तो महत्त्वपूर्ण विषयमा सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूह विरुद्ध कडा कारबाही गर्न माग गर्दछौँ।’
    शर्माले महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रूपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य आफूहरूलाई अमान्य हुने बताए ।

    वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ

    काठमाडौं । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई प्रहरीले उद्दार गरेको छ ।

    स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो । 

    युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत आफन्तलाई पठाइदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । रातोपुल र एयरपोर्ट नजिकै रहेका पौडेलका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको प्रहरीको भनाइ छ ।

    अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

    झापा ।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।

    आजको मौसम :  हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चि प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, कर्णली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यस्तै ती प्रदेशका उच्च पहाडी तथा  हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

    सुनको मूल्यमा नयाँ रेकर्ड ,प्रतितोला  १ लाख १७ हजार ७०० रुपैयाँ 

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
    आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १५ सय रुपैयाँ कायम रहेको छ ।

    ९ महिनादेखिको घरभाडा नतिरेपछि घर खाली गर्न निदान हस्पिटललाई ३५ दिनको अल्टिमेटम

    काठमाडौं । ललितपुरस्थित निदान हस्पिटल प्रा.लि.ले ९ महिनादेखिको घरभाडा नतिरेपछि घर खाली गर्न घरधनीले आग्रह गरेकी छिन् । मंगलबार एक सूचना प्रकाशन गर्दै घरधनी मिना श्रेष्ठले ३५ दिनभित्र घर खाली गर्न र बाँकी रहेको घरभाडा वापतको रकम उपलब्ध गराउन आग्रह गरेकी हुन् ।जग्गा पिताको शेषपश्चात् आफ्नो नाममा नामसारी भई आएकोमा हस्पिटलले पटक–पटक अनुरोध गर्दा समेत सम्झौताको उल्लंघन गरि २०७९ फागुनदेखि २०८० कार्तिकसम्म ५५ लाख ५१ ह्जार ७२९.२० रुपैयाँ घरभाडा रकम नबुझाएको घरबेटी श्रेष्ठले बताइन् ।

    आज ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं।ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलबार मंसिर १२ गते अन्तिम दिन हो ।। आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् ।सभा, नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

    नेसनल लाइफले बाल अस्पताललाई वार्षिक २५ लाख दिने

    काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनी र काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (केआइसीएच) बीच सम्झौता भएको छ ।निर्माणाधीन २०० बेड क्षमताको गैह्रनाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेसनल लाइफले वार्षिक रुपमा सहयोग गर्ने भएको छ ।

    सम्झौताअनुसार इन्सुरेन्सले ३ वर्षसम्म वर्षको २५ लाख रुपैयाँका दरले वित्तिय सहयोग उपलव्ध गराउनेछ । सोही कार्यक्रममा पहिलो किस्ताबापत् २५ लाख रुपैयाँको चेक पनि हस्तान्तरण गरेका छन् ।

     

     
     
     
     
     
     
     
     

     

     
     
     

     

     
     
     
     

     

     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस