Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वास

आर्थिक क्रान्तिका पाटाहरुमा नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने एनआरएनए अभियन्ता आरके शर्माको विश्वास

  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा कतारका स्थापित व्यवसायी राजेन्द्र कुमार शर्मा (आरके) ले कतारी अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणसँगै दुई देशबिचको सम्बन्ध उच्च तहमा स्थापित हुने बताएका छन् । उनले नेपाल र कतारबिच पहिलेदेखि नै सम्बन्ध राम्रो भएपनि अबचाहिँ आर्थिक क्रान्तिका पाटाहरुमा समेत बलियो सम्बन्ध स्थापित हुन सुरुवात भएको प्रतिक्रिया दिए । ‘दुई देशबिच अहिले हेर्दा धेरै सम्झौता नभएपनि राष्ट्र विकासका पाटाहरुमा यो अर्थपूर्ण छ’, उनले भने, ‘सहकार्यका लागि दुई पक्षीय टीम बनाउने कुरा भएको छ । यो टीमले गति लिएर पक्कै पनि नेपालको बिकासमा कतार बलियो साझेदार बन्ने छ भन्ने विश्वास छ ।’

    कतारी राजाको भ्रमण दुई देशबिचको सम्बन्धको विस्तारका साथसाथै आर्थिक बिकासमा सुरुवाती बिन्दु भएको रुपमा आफूले ठानेको शर्माको भनाइ छ । ‘भ्रमणले बाटाहरु खुलेका छन् । दुई देशका राष्ट्र प्रमुखहरुको भेट भइसकेपछि दुई देशको बीचको सम्बन्ध अझ उचाइमा पुगेको त छ नै, निकट भविष्यमा आर्थिक पाटामा पनि फड्को मार्ने विश्वास छ ।’ शर्माले कर्मभूमिका अमिरलाई जन्मभूमिमा स्वागत गर्ने सुवर्ण अवसर प्राप्त गरेको भन्दै खुसी समेत प्रकट गरे । ‘यसले मलाई थप जिम्मेवारी थपिएको महसुस भएको छ ।

    यसको लागि म सम्मानित नेपाल सरकार सहित सरकारी निकाय प्रति आभारी छु’, शर्माले भने, ‘कतारका अमिरको भ्रमणले नेपाल र खाडी क्षेत्रबिच थप उच्च तहमा सम्बन्ध स्थापित भएको छ र आगामी दिनमा आर्थिक सम्वृद्धिका लागि लगानी टेक्नोलोजी ट्रान्सफर पर्यटन बृद्घि लगायत समेत बढ्ने अपेक्षा गर्न सकिन्छ ।’ यस्तै रासायनिक मलको विषयमा दुई देशबिच सम्झौता नभएपनि यसले निकास पाउने उनको विश्वास छ । दुबै देशबाट यसबारे एउटा टोली बनाउने भन्ने भएको र त्यही टोलीले निकास दिने उनले बताए ।

    यसमा काम सुरु भइसकेकाले पहलमा भरपर्ने शर्माको भनाइ छ। कतारले रासायनिक मल निर्यात गर्दै आएको छ भने नेपालमा आयात गर्नेबारे दुई देशबीच छलफल भएपनि अहिले नतिजा नकिस्किसकेको अवस्थामा शर्माले यस्तो बताएका हुन् । कतारका अमिरको दुई दिने नेपाल भ्रमणका क्रममा दुई देशबीच ८ बुँदे सहमति भएको थियो । बुधबार स्वदेश फर्किएका अमिरले थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद समेत दिएका थिए । आफ्नो एक्समार्फत उनले मित्र राष्ट्र नेपालको पहिलो भ्रमणको क्रममा यहाँको ऐतिहासिक कुरा तथा आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त भएको पनि बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij