
काठमाडौं । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग विशेष भेटघाट गरेका छन् ।विश्व बैंक समूहको नेतृत्व गरी तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन आएका रेजरले मन्त्री पुनसँग छुट्टै भेटेका हुन् । भेटमा आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं बैठकसम्बन्धी विषयमा छलफल भयो ।
काठमाडौमा आयोजना हुने सो आईडीएको बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुने कार्यक्रम छ । सो बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष रेजरले पुनलाई जानकारी दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने विश्वास दिलाए ।आईडीएको २१औं बैठकबारे सरकारको तयारी बारे मन्त्री पुनले रेजरलाई जानकारी दिए ।
बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले भेटमा दिएका थिए ।
विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकायको रूपमा रहेको आईडीएको बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुने गरी हुन लागेको छन् । सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ।
आईडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आइडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij