Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा रहेको विश्व बैङ्कको भनाइ


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 453
    Shares

  • प्यालेस्टिनी प्राधिकरण वित्तीय सङ्कटको जोखिममा रहेको विश्व बैङ्कको भनाइ

    वासिङ्टन ।प्यालेस्टिनी प्राधिकरणले वित्तीय पतनको सम्भावनाको सामना गरिरहेको विश्व बैङ्कले जनाएको छ । गाजा युद्धको पृष्ठभूमिमा राजस्व स्रोतहरूको अभाव हुनुका साथै आर्थिक गतिविधिहरू खस्किरहेकाले यस्तो भएको बैङ्कले जनाएको छ ।  

    प्यालेस्टिनी प्राधिकरणको वित्तीय अवस्था विगत तीन महिनामा नाटकीय रूपमा बिग्रिएकाले  वित्तीय पतनको जोखिमलाई बढाएको बैङ्कले शुक्रबार जार िविज्ञप्तिमार्फत जानकारी गराएको हो । 

    बैङ्कका अनुसार प्यालेस्टिनी प्राधिकरणलाई तिर्नुपर्ने निकासी राजस्व हस्तान्तरणमा कमी र आर्थिक गतिविधिमा ठूलो गिरावटका कारण राजस्व स्रोतहरूमा अत्यधिक कमी आएको छ  ।

    सन् २०२३ को अन्त्यमा ६८ करोड २० लाख अमेरिकी डलर रहेको कोष अन्तर आगामी महिनाहरूमा दोब्बर भई प्यालेष्टिनी प्राधिकरणको घाटा १।२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । 

    प्यालेस्टिनी अर्थतन्त्र ६.५ देखि ९.६ प्रतिशतको बिचमा सङ्कुचित हुने अनुमान गरिएकोमा बैङ्कका दृष्टिकोणसमेत युद्ध लम्बिँदै जाँदा अनिश्चित बनेका छन् । 

    बढ्दो विदेशी सहायता र सार्वजनिक कर्मचारी र आपूर्तिकर्ताको थप बक्यौता जम्मा गर्नु प्यालेस्टिनी प्राधिकरणका लागि उपलब्ध वित्तीय विकल्पहरू मात्र भएको बैङ्कले जनाएको छ ।  

    दक्षिण इजरायलमा अक्टोबर ७ मा भएको प्यालेष्टिनी इस्लामिक समूह हमासको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो । 

    इजरायली अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कअनुसार गाजामा हमासको आक्रमणमा परी एक हजार १७० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।  

    आक्रमणपछि हमासले २५२ जनालाई बन्धक बनाएका थिए, जसमध्ये १२४ जना गाजामा रहेका र तीमध्ये पनि ३७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

    यसैगरी हमासको नियन्त्रणमा रहेको गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी आक्रमणले गाजामा कम्तीमा ३५ हजार ८०० मानिस मारिएकोमा अधिकांश महिला र बालबालिका छन् ।

    हमास र इजरायलबीचको लडाईँका कारण पछिल्लो समय इजरायलले १९६७ देखि कब्जा गरेको वेस्ट बैङ्कमा पनि हिंसा बढेको छ । वेस्ट वैङ्कमा प्यालेस्टिनी प्राधिकरणले सीमितरूपमा प्रशासनिक उपस्थिति रहेको छ । 

    प्यालेस्टिनी अधिकारीहरूका अनुसार अक्टोबर ७ देखि कम्तिमा ५१८ जना  प्यालेस्टिनीहरू इजरायली सेना वा वेस्ट बैङ्क क्षेत्रमा बसोबास गर्ने इजरायलीद्वारा मारिएका छन् । 

    उक्त अवधिमा प्यालेस्टिनी समूहले गरेका आक्रमणमा वेस्ट बैङ्कमा कम्तिमा १२ इजरायलीको ज्यान गएको छ ।

    बैङ्कका अनुसार सन् २०२३ अक्टोबरदेखि युद्धका कारण प्यालेस्टिनी अर्थतन्त्र आएको मन्दीपछि करिब पाँच लाख व्यक्तिले रोजगारी गुमाएका छन् ।

    यो अवधिमा गाजा क्षेत्र र वेस्ट बैङ्कमा बसोबास गर्ने क्रमशः दुई लाख र एक लाख ५० हजार मानिसहरूले रोजगारी गुमाएको अनुमान गरिएको छ । यसका कारण गरिबी बढेकाले हाल लगभग हरेक गाजावासी गरिबीमा बाँचिरहेको बैङ्कले उल्लेख गरेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस