Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 489
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २२ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    चिलिमे जलविद्युत ६५ करोड रुपैयाँभन्दा बढी खुद नाफामा

    काठमाडौँ । चौथो त्रैमाससम्म चिलिमे जलविद्युत कम्पनी ६५ करोड २९ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ६४ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको यस कम्पनीले गत वर्ष थोरै नाफा बढाएको हो ।

     

    यस कम्पनीअन्तर्गत प्रवर्द्धित कुल २७० मेगावाट क्षमताका चारओटा जलविद्युत् आयोजनाहरूमध्ये रसुवागढी हाइड्रोपावर अन्तर्गतको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

    त्यस्तै साञ्जेन जलविद्युत कम्पनीअन्तर्गत निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत आयोजनाबाट गएको आश्विन २१ गतेदेखि आंशिकरूपमा विद्युत् उत्पादन भइरहेको छ । त्यसैगरी मध्य भोटेकोशी जलविद्युत कम्पनीअन्तर्गत निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजना पनि करीब सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ ।

    शेयर बजार : नेप्से परिसूचक १४५.०५ अंकले घटेर  २६५१.३२ विन्दुमा ,  २३ अर्ब ७१ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक १४५.०५ अंकले घटेर  २६५१.३२ विन्दुमा आएको छ । आज २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

     

    यस दिन ३२२ कम्पनीको ५ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब ३९ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

    मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भागलिन मन्त्री भण्डारी भारत प्रस्थान

    काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । 

     

    कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० व्यापार शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ ।

     

    सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

    भिजन इनर्जी एन्ड पावरले आइपीओ जारी गर्ने , साधारण सभा भदौ १४ गते

    काठमाडौं । भिजन इनर्जी एन्ड पावर लिमिटेडले आइपीओ प्रस्ताव सहित भदौ १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा जुम मार्फत दिउँसो ३ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    एचआईडिसिएलको १ करोड ६८ लाख कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

    काठमाडौँ ।  हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात एचआईडिसिएलले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

     

    कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको शेयर बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि जो कोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन्।
    लगानीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीको लागि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ।

    एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  एनआइसी एसिया बैंकले आज ९साउन २२ गते० देखि आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा बैंकले सबैभन्दा धेरै आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
    बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ८३३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

    फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा १२.०४ प्रतिशतले घट्यो

    काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १२.०४ प्रतिशतले घटेर १७ करोड ४२ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ ।

     

    खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख ७५ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा १२.३८ प्रतिशतले घटेर २५ करोड १० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ । 

    यसको वितरणयोग्य नाफा १३ करोड ६९ लाख २७ हजार रुपैयाँ देखिएको छ ।यसको प्रतिसेयर आम्दानी १४.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १३४.७६ रुपैयाँ छ ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ।
    आज युरो पनि महँगिएको छ। आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। 
    बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ।

    अर्थमन्त्री पौडेलले व्यवसायीलाई  सुन आयात भन्सार दर घटाउने विश्वास दिलाए

    काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदी व्यवसायीहरूलाई सुनचाँदीमा भन्सार दर घटाउने विश्वास दिलाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरूले अर्थमन्त्रालयमा भेट्न गएका बेला अर्थमन्त्री पौडेले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको विश्वास दिलाएका हुन् ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले अर्थमन्त्रीसँगको भेटवारे यस्तो जानकारी सार्वजनिक गरेका  छन्।  भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको सुनचाँदी व्यवसायीहरूले बताएपछि मन्त्री पौडेलले भन्सार दर घटाउन सरकार सकारात्मक रहेको बताए ।

    नेपालले चालु वर्षको बजेटमार्फत सुन आयातमा भन्सार दर १५ बाट २० प्रतिशत पु¥याएपछि भारतले सुनको भन्सार दर  ६ प्रतिशतमा झारेको छ। यसले गर्दा  नेपालमा भन्दा अहिले भारतमा सुनको मूल्य प्रति तोला करिब १४ हजार रुपैयाँ सस्तो हुन पुगेको छ ।

    सुनको मूल्य तोलामा २३ सयले घट्यो,  प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ ।आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले घटेको छ ।

     

    आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँ कायम भएको छ ।

    काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन

    मकवानपुर ।काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नं २ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरूद्ध सडक सञ्चालनमा आएका छ । 

     

    पहिरो हटाएपछि आज दिउँसोबाट हेटौँडा काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको ललितपुरको भट्टेडाँडा इलाका प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी उक्त लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ महादेवटारस्थित सडकमा गएको पहिरो पन्छाएर सोमबार नै एकतर्फी हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

    जीप दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते

    काँक्रेविहार । जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

     

    जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११  नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो । 

    दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षे सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन,  १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते हुनुभएको छ । त्यस्तै २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते हुनुभएको प्रहरीको भनाइ छ ।

    ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गर्नुभएको छ । उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ ।

    भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धतामा सरकार दृढ छः प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा  सरकार दृढ रहेको बताउनुभएको छ ।

     

    प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन  समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनको उद्देश्य र कारणबारे प्रस्ट्याउँदै उहाँले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहो¥याउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचारप्रतिको शून्य सहनशीलता  सरकारको नीति हो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न ।”

    बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

    ढाका । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्लादेशको वर्तमान रानजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।

     

    प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् ।  

    ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गर्नुभएको थियो ।  

    बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण ९कोटा० प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो । 

    निर्जीवन बीमा कम्पनी तर्फको लघु बीमा व्यापारमा करिब साढे तीनसय प्रतिशतले वृद्धि

    काठमाडौं । निर्जीवन बीमा कम्पनीतर्फको लघु बीमाको व्यापार गत आर्थिक वर्ष २०८०÷८१मा ३४९ प्रतिशतले वृद्धि भएको छ ।अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुबीमाको व्यापार ३४९ प्रतिशतले बढेको हो  । अघिल्लो आवमा कुल ६ करोड ९८ लाख रुपैयाँको लघुबीमा व्यवसाय भएको थियो । त्यसमा वृद्धि भई गत आवमा ३१ करोड ३६ लाख रुपैयाँको पुगेको छ ।

     

    यसैगरी  यो अवधिमा हवाई बीमा ३५.८ प्रतिशत र सम्पत्ति बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कुल २ अर्ब ६० करोड ७६ लाख रुपैयाँको हवाई बीमा भयो । सोही अवधिमा १० अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सम्पत्ति बीमा भएको छ । अघिल्लो आवमा यो बीमा १ अर्ब ९२ करोड २ लाख र ९ अर्ब रुपैयाँ भएको थियो ।

    हिरोसिमामा परमाणु बम आक्रमणको ७९औँ वर्ष पुरा

    टोकियो ।जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताउनुभएको छ । 

     

    काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिनुभएको हो ।  

    “युक्रेनमा रुसको आक्रमण र इजरायल र प्यालेस्टाइनबिचको बिग्रँदै गएको अवस्थाले अनगिन्ती निर्दोष मानिसहरूको ज्यान लिइरहेको छ र सामान्य मानिसको जीवनलाई ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो ।

    गुगलले सर्च इन्जिन र विज्ञापनहरूमाथि गैरकानुनीरूपमा एकाधिकार कायम गरेको अमेरिकी न्यायाधीशको फैसला

    काठमाडौं । अमेरिकाका एक न्यायाधीशले गुगलले कायम गरेको अनलाइन खोजी कार्य (सर्च) र तत्सम्बन्धी विज्ञापनहरूमाथि एकाधिकार गैरकानूनी रूपमा  कायम गरेको भनीे एक ऐतिहासिक फैसला सुनाएका छन् ।सोमबारको सो ऐतिहासिक फैसलाबाट गुगलको माउ कम्पनी अल्फाबेटलाई  ठूलो झट्का लागेको हो ।फैसलाले टेक्नोलोजी दिग्गजहरूले व्यापार गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अपेक्षा गरिएको छ ।

     

    गुगलमाथि सन् २०२० मा अमेरिकी न्याय विभागले अनलाइन खोज बजारको ९० प्रतिशत नियन्त्रण गरेको भन्दै मुद्दा दायर गरेको थियो।यो धेरै मुद्दाहरू मध्ये एक हो जुन ठूला टेक कम्पनीहरू विरुद्ध दायर गरिएको छ  । अमेरिकाका  एन्टिट्रस्ट नामक निकायका अधिकारीहरूले उद्योगमा प्रतिस्पर्धालाई बलियो बनाउने प्रयास गर्ने गरेकाले यस्ता कम्पनीहरू विरुद्ध मुद्दा दायर गर्ने गर्छन्।
    गुगलका एकाधिकारलाई सो मुद्दामा खतराको  रूपमा व्याख्या गरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस