Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ३० बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    लक्ष्मी सनराइज बैंकको स्वामित्वमा रहेको सनराइज सेक्युरिटिजद्वारा शेयर कारोबार शुरु

    काठमाडौं। लक्ष्मी सनराइज बैंकको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिजले शेयर कारोबार गराउन शुरु गरेको  छ।बैंकका अध्यक्ष रमण नेपालले बुधबार कम्पनीको कारोबार सञ्चालन शुभारम्भ गरेका हुन् ।  त्यस अवसरमा उनले कम्पनीले शेयर कारोबारसँग सम्बन्धित सेवा सहजरुपमा दिने विश्वास व्यक्त गरे।

     

    बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकको सहायक कम्पनीका रुपमा अर्को संस्थाले कारोबार सुरु गरेकोमा  खुशी व्यक्त गरे। सनराइज सेक्युरिटिजका प्रबन्ध सञ्चालक कमल गौतमले कम्पनीले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवा सरल र सहजरुपमा प्रदान गर्ने बताए।कम्पनीको अधिकृत तथा चुक्ता पूँजी २० करोड रुपैयाँ छ। गैह्रीधारामा कार्यालय रहेको कम्पनीको स्टक ब्रोकर नम्बर १०० हो।

     

    प्रभु इन्स्योरेन्सको खुद नाफा ११८.१३ प्रतिशतले बढ्यो

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ११८ दशमलव १३ प्रतिशत वृद्धि भएको छ ।

     

    अघिल्लो आवमा कम्पनीले रू. २२ करोड ५० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४९ करोड ८ लाख पुगेको छ । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको कुल आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५७ प्रतिशत बढेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी रू.८९ करोड ८० लाख रहेकोमा गत आवमा बढेर रू. १ अर्ब ४१ करोडभन्दा बढी पुगेको छ ।

    हिमालयन एभरेष्ट इन्सुरेन्सको खुद नाफामा ५०.०८ प्रतिशतले बढ्यो

    काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको भन्दा ५०.०८ प्रतिशतले धेरै हो ।

     

    असारसम्ममा कम्पनीको खुद बिमा शुल्क आर्जन र कुल आम्दानी बढेकाले खुद नाफामा वृद्धि भएको हो । यसको खुद बिमा शुल्क ३६।९४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल आम्दानी ४४.१४ प्रतिशतले बढेर २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि २.१० प्रतिशतले बढेर ३४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 

    हाल हिमालयन एभरेष्ट इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

    एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ३६.९१ प्रतिशतले बढ्यो

    काठमाडौं एसियन लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ३६.९१ प्रतिशतले धेरै हो ।कम्पनीको खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १४.७६ प्रतिशतले बढेर ७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । साथै, लगानी तथा कर्जाबाट आम्दानी ९.७४ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसको जीवन बिमा कोषमा ४२ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । 

     

    हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ

    शेयर बजार : नेप्से परिसूचक ३४.२९ अंकले बढेर  २९५७.७५ विन्दुमा ,२३ अर्ब ४३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ३४.२९ अंकले बढेर  २९५७.७५ विन्दुमा आएको छ । आज २३ अर्ब ४३ करोडभन्दा बढीको कारोबार भएको छ ।आज  १३ मध्ये १० वटा समूहका सुचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ । ११ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । 

     

    ३३२ कम्पनीको ५ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८६ करोड ५८ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र अपि पावर परेका छन् ।

    हिमालयन रिको खुद नाफा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष ९७.६४ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

     

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क ८२.७५ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।


    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत बढेर २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८७ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    शिखर इन्स्योरेन्स नाफा बढ्यो

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ३० लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ६१ लख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १२६.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

     

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क १३.३२ प्रतिशत बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।


    समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेर ९४ करोड ९७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

    अटोमोबाइल्स व्यवसायीहरूको ‘नाडा अटो शो’को तयारी पूरा, भदौको दोस्रो साता भृकुटीमण्डपमा आयोजना गरिने

    काठमाडौं। गाडी  व्यवसायीहरूको सबैभन्दा ठूलो मेला ‘नाडा अटो शो’को तयारी पूरा भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तयारीबारे बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी जनाएको हो ।

     

    भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा  नाडाले अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न मेला गर्न लागेको छ ।
    मेलामा २४ वटा चार पांंग्रे ब्रान्ड, १९ वटा दुई पांंग्रे ब्रान्ड र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डको  प्रदर्शन गरिने नाडा अटो शोका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी दिए।

    उनका अनुसार ३३ कम्पनीका लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट पनि मेलामा रहनेछन्। मेलामा ७ वटा वित्तीय संस्थाले स्टल राख्ने तय भएको छ। ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्ने बरालले बताए।

    अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह

    काभ्रेपलाञ्चोक । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनहुन्छ । 

     

    पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गर्नुभएको हो । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताउनुभयो । “राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ”, उहाँले भन्नुभयो ।

    प्रतिनिधि सभाबाट संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक पारित

    काठमाडौँ । प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रश्ताव राखेका थिए ।

     


     सभामुख देवराज घिमिरेले विधेयक सभाको बैठकबाट पारित भएको घोषणा गरे । त्यसैगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको जानकारी दिए । प्रश्नोत्तरका लागि समूह ७ मा रहेका सांसदहरुले भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवलाई आफ्नो प्रश्न लिखित रुपमा दिन उनले आग्रह गरे ।

     

    जनकपुर, मध्यबानेश्वर र खुमलटारस्थित विदेशी सम्बन्धनका तीन कलेजमा मन्त्रालयद्वारा भर्ना रोक

    काठमाडौँ । जनकपुर, मध्यबानेश्वर र खुमलटारस्थित विदेशी सम्बन्धनका तीन कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाइएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो ।

     

    जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा रहेको नेपाल एजुकेसन फाउन्डेसन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाइएको छ ।मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची सार्वजनिक गरिएको छ । मन्त्रालयले ती कलेजहरू मात्रै विद्यार्थी भर्ना गर्न अनुरोध गरेको छ ।

    राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त टोलीद्वारा कुलेश्वरस्थित ड्राइफ्रटका गोदामहरूमा छापा

    काठमाडौं। राजस्व अनुसन्धान विभाग र  प्रहरीको संयुक्त टोलीले काठमाडौंको कुलेश्वर स्थित एक गोदाममा मारेको छ ।राजस्व छली ड्राइफ्रुट ल्याइएको आशंका लागेका ठाउँहरूमा निगरानी बढाउने क्रममा सूचनाका आधारमा कुलेश्वरस्थितको गोदामहरूमा छापामारी गरिएको हो ।

     

    राजस्व छली गरेर ल्याएको सामान भण्डारण गरी राखिएकोे सूचना पाएपछि प्रहरीको टोली कुलेश्वर पुगेको थियो ।सूचनाका आधारमा  छापा मारिएको प्रहरीले  जनाएको छ। गोदाम भारतीय नागरिकले सञ्चालन गरिएको जनाइएको छ ।गोदामबाट राजस्व छलीको ठुलो परिमाणको काजुसँगै कागजातहरू नियन्त्रणमा लिइएको छ ।

    शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एक अध्याय पूरा : अध्यक्ष दाहाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९ माथिको छलफलमा अध्यक्ष दाहालले अब परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अघि बढ्ने ढोका खुलेको बताउनुभयो । 

     

    “शान्ति प्रक्रियासँग अभिन्न अङ्गका रुपमा सम्बन्धित सङ्क्रमणकालीन न्यायसम्बन्धी राजनीतिक सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक आज सदनले अनुमोदन गरेको छ । यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाएको छ । इतिहासलाई न्याय र सहिदको सपनाको सम्मान गरेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।

    नदी खोलाको दुवै किनारमा २० मिटर थप छोड्न सर्वोच्चको फैसला कार्यान्वयन गराउन काठमाडौं महानगरपालिकाद्वारा सूचना जारी

    काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर भित्रका नदी–खोलाका दायाँबायाँ तय मापदण्डभित्र कुनै पनि निर्माण संरचना नबनाउन सूचना जारी जनाएको छ ।सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गत वर्ष पुस ३ गते गरेको फैसलामा पहिला तय मापदण्डभन्दा थप २० मिटर क्षेत्र खाली गर्न र त्यसलाई ‘नो कन्स्ट्रक्सन जोन’ बनाउन भनिएको छ ।
    यो फैसलाको पूर्णपाठ केही समय अघि मात्र सार्वजनिक भएको थियो ।

     

    हाल काठमाडौं महानगर भइ बहने वागमती र विष्णुमतीको मापदण्ड किनारबाट २० मिटर हो। सर्वोच्चको फैसलाले त्यसमा थप २० मिटर थप्नुपर्ने भएको छ।यसैगरी धोबिखोलामा अब ९ मिटरमा थप २० मिटर मापदण्ड खाली गर्नुपर्ने तय भएको छ । बल्खु खोलामा १० मिटरमा थप २० मिटर र टुकुचा, सामाखुसीसँगै अन्य साना खोलको हकमा ४ मिटर रहेकोमा थप २० मिटर छोड्नुपर्नेछ।

    सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने प्रावधान पालना गरी लाइसेन्स नवीकरण गराउन एनसेलको ढिलाइ

    काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलले कम्पनी सरकारलाई हस्तान्तरण गर्न पर्ने प्रक्रिया अगाडि नबढाएर मौन बसेको छ । २५ वर्ष पुगेपछि सरकारी स्वामित्वमा आउनुपर्ने कानुनी व्यवस्थाको सुनिश्चितता गर्नका लागि एनसेलले कम्पनीलाई हस्तान्तरण गर्न प्रक्रिया बढाउन ढिलाइ गरिसकेको हो । 

     

    दूरसञ्चार ऐन २०५३ ले ‘जम्मा पुँजी लगानीको ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचना अनुमतिपत्रको अवधि समाप्त भएपछि सरकारको स्वामित्व हुनुपर्ने’ कानुनी व्यवस्था गरे अनुसार एनसेलले त्यस्तो प्रक्रिया अगाडि बढाउनुपर्ने थियो ।

    अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

    खाँदबारी (सङ्खुवासभा), ३० साउनः रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।

     

    साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij