Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, भदौ १४ शुक्रबार

  • 123
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ १४ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  भदौ १४ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    इष्टर्न साहाराले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । इष्टर्न साहारा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।कम्पनीले प्रतिकित्ता शेयरमूल्य १०० रुपैयाँका दरले ३० लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो । सर्वसाधारणहरुमा निष्कासन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङ्ग गर्नको निमित्त नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालसँग सम्झौता सम्पन्न भएको कम्पनीले बताएको छ । 

     

    कम्पनीको रजिष्टर्ड झापाको बिर्तामोड नगरपालिका, चारपानेमा छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा  छ ।

    प्रधानमन्त्रीद्वारा ग्रीन हाइड्रोजन उत्पादन र रिफ्युल सेन्टर उद्घाटन

    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय (केयू)मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गर्नुभएको छ । 

     

    विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने बा१झ ११११ नम्बरको कारको समेत उद्घाटन गर्नुभयो । उहाँ सोही कार चढेर दीक्षान्त समारोहस्थल जानुभएको थियो । 

     

    सोअवसरमा उहाँले विश्वविद्यालयले सञ्चालन गरेको ग्रीन हाइड्रोजन उत्पादन र रिफ्यूलिङ स्टेसन निर्माण अनुकरणीय कार्य भएको बताउनुभयो । “काठमाडौँ विश्वविद्यालयमा मात्र होइन, यस प्रकारको नवीनतम काम अन्य स्थानमा पनि सञ्चालन हुनुपर्छ”, कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    राष्ट्र बैंकले सार्वजनिक गर्यो प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष बैदेशिक लगानीको सर्बेक्षण २०७९/८० सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब ५० करोड पुगेको छ ।

     

    कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३।७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।यसैगरी, २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् १ खर्ब ३ अर्ब ४५ करोड ९३५ प्रतिशत० र त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्याण्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड (६.४ प्रतिशत) र सिंगापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

    लक्ष्मी सनराइज क्यापिटलका ६ वटै फन्डको न्याभ र नाफा बढ्यो

    काठमाडौं ।  साउन मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज क्यापिटलका ६ वटै म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) र नाफा बढेको छ ।
    लक्ष्मी उन्नति कोषको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) साउनमा २ रुपैयाँ ८ पैसाले बढेर १२ रुपैयाँ ८७ पैसा कायम भएको छ ।फन्डले साउन मसान्तसम्म ७१ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

     

    लक्ष्मी भ्यालु फन्ड-२ को न्याभ पनि साउन मसान्तमा बढेर १२ रुपैयाँ ४० पैसा कायम भएको छ । न्याभ असारको तुलनामा १ रुपैयाँ ७३ पैसाले धेरै हो । असारमा यसको न्याभ १० रुपैयाँ ६७ पैसा रहेको थियो । यस फन्डले साउन मसान्तसम्म ८२ करोड ४५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । 

    फन्डले कुल ६६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

    साहस उर्जाको लक ईन अवधि असोज १६ गते समाप्त हुने

    काठमाडौं ।साहस उर्जा लिमिटेडको लक ईन अवधि यही असोज १६ गते समाप्त हुने भएको छ। कम्पनीको लक ईनमा रहेको संस्थापक समूहको शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयरको लक ईन अवधि समाप्त हुन लागेको हो।
    कम्पनीले संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कम्पनीका कर्मचारीहरुको शेयर सर्वसाधारणलाई २०७८ असोज १७ गते बाँडफाँट गरेको थियो। कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक शेयर, ३५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र २ लाख १० हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको शेयर लक ईनमा रहेको छ। असोज १६ गतेपश्चात सो शेयरहरुको कारोबार गर्न सकिनेछ।

    नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ७२ हजार १५९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

     

    इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय बनेपा,–८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले आठ जना शेयरधनीहरूको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो ।

    लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

    काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्सुरेन्सले साधारण सेयर ९आइपीओ० निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा आइपीओ जारी गर्न लागेको हो । 

    उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

    एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो । 

     

    सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो । एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा १० प्रतिशत ब्याजसहित बुझाउनुपर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।एनसेलले लाइसेन्स नवीकरण गर्दा २० अर्ब बुझाउनुपर्नेमा एकै पटक सो रकम तिर्न नसक्ने भन्दै किस्ता बन्दीमा तिर्न सुबिधा मागेको थियो । एनसेलले गत जेठमै पहिलो किस्ता स्वरूप चार अर्ब बुझाएर किस्ताको सुबिधा मागेको थियो । एनसेलले लिएको लाइसेन्सको २० बर्षे अवधि भदौ १५ गते सकिदै थियो ।

    आजको विनिमयदर : अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो

    काठमाडौँ ।  बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।

     

    नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको  खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको थियो । 

    हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । बिहीबार एक युरोको खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय भएको छ ।

    आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि घटेको छ ।  एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७७ रुपैयाँ ४५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर एक सय ७७ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९२ पैसा रहेको थियो ।

    सुनको मूल्य प्रतितोला ३०० सयले घट्यो, प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार ९०० रुपैयाँ कायम भएको छ ।

     

    आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १८ सय २० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ३० रुपैयाँ रहेको थियो ।

    वित्तिय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्यूरो’ गठन गर्ने

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वित्तिय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्यूरो’ गठन गर्ने बताउनुभएको छ ।

     

    सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तिय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताउनुभयो । प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसदमा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुङ्ग्याएर मन्त्रिपरिषद्मा पठाउने सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

     

    “प्रहरीका केही कानुन धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिनुभयो”, गृहमन्त्री लेखकले भन्नुभयो– “ सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सैद्धान्तिक रुपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौँ ।” सर्वोच्च अदालतको आदेश सबैका लागि मान्य हुने उहाँको भनाइ थियो ।

    नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ सार्वजनिक गरेको छ । 

     

    प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍यायाउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । 

     

    आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

    एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ: प्रधानमन्त्री

    धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताउनुभएको छ । 

     

    यहाँस्थित काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

    “पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनुे अवस्था विद्यार्थीमाथिको अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि निर्देशन दिइसकेको छुु”, उहाँले भन्नुभयो, “धेरैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ ।”

    एमसीसी नेपाल अन्तर्गतको १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता हस्ताक्षर

    काठमाडौँ । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौता भएको छ । नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने गरी  एमसीए–नेपाल र ट्रान्सरेल लाइटिङ लिमिटेडबीच सम्झौता भएको हो।

     

    सो प्रसारण लाइन निर्माणका लागि ट्रान्सरेल लाइटिङसँग १२३.६० लाख अमेरिकी डलरको सम्झौता गरिएको छ।
    अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसी तथा एमसीए–नेपालका पदाधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङका प्रतिनिधि अमोल वाङ्खेडेले सो उक्त सम्झौतामा हस्ताक्षर गरे ।

    अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल संचालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका कुल १२.६० करोड अमेरिकी डलर बजेटयुक्त तीन वटा सबस्टेसनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा स्थापित गराउन नेपाललाई सघाउने  यो सम्झौता महत्वपूर्ण हुने विश्वा व्यक्त गरेका छन् ।

    मुना पाण्डेको हत्या अभियोगमा बवीसिं शाह पक्राउ

    वाशिङ्टन डिसी । प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा  टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको  टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

     

    हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।

    एनआरएनए मलेसियाका युवा उपाध्यक्ष नारायण  अधिकारीले  विश्वभरका बीमा अभिकर्ताहरूको छाता संगठनमा रचे इतिहास ,  अधिकारीले पाए ‘एमडीआरटी इमर्जिङस्टार’

    काठमाडौँ । एनआरएनए मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारीले बीमा जगतमा इतिहास रचेका छन् ।विश्वभरका अभिकर्ताहरूको छाता संगठन मिलियन डलर राउण्ड टेबल (एमडीआरटी २४ मिनेटमै ) वान डे फाइभ टाइम्स इमर्जिङ स्टार बनी इतिहास रचन सफल भएका हुन् ।

    आजको मौसम : बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी बर्षाको सम्भावना

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

     

    हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    पाँचथरमा विस्फोटक पदार्थ पड्कँदा १ जनाको मृत्यु, ३ जना घाइते

    काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा साँवाको उपचारका क्रममा झापाको बि एण्ड सीअस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो।
    विस्फोटमा परी ११ वर्षीय दिपशन साँवा गम्भीर घाइते छन्। उनलाई पनि जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेर थप उपचारको लागि झापाको बि एण्ड सी अस्पतालमा रेफर गरिएको छ।

     

    त्यसैगरी ११ वर्षीय पबन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। ७ वर्षीय दिपशन राई सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस