Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ २७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, भदौ २७ बिहीबार

  • 168
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  भदौ २७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २७ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    एनआईसी एशिया सेलेक्ट ३०को इकाई मूल्य समायोजन

    काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन भएको छ ।

     

    प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले यस दिन फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन गरेको हो ।  समायोजनपश्चात फण्डको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

    नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो ।

    समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताउनुभयो ।

     

    “हामी टिम स्पिरिटमा काम गर्छौँ, एकअर्कालाई सहयोग गछौँ ।

    भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी

    पाटन । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताउनुभएको छ । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजना भएको “अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन“ मा गभर्नर अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको नेपालको अर्थतन्त्र क्रमशः सुधार हुँदै पछिल्लो दुई वर्षमा निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगति गरेको बताउनुभएको हो ।

     

    “नेपालको वित्तीय सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमा महत्वपूर्ण परिचालन सुधारको यात्रा पनि अघि बढाएको छ ।  २०१६÷१७ मा ब्याज दर करिडोरको सुरुवात र २०२०÷२१ मा रिजर्भ लक्ष्यबाट ब्याज दर लक्ष्यतिर सर्दै मौद्रिक नीति प्रसारणको प्रभावकारिता बढाउने उद्देश्यले यी परिचालन सुधारहरू क्रमशः हुँदै आएको छ ।“ उहाँले भन्नुभयो, “प्रभावकारी तरलता व्यवस्थापनका लागि २०२३÷२४ मा स्थायी निक्षेप सुविधा, हालैका नीतिगत सुधारहरू, मौद्रिक नीति सञ्चालनको आधुनिकीकरण, ऋणको गुणस्तर अभिवृद्धि, डिजिटल बैंकिङ र फिनटेकलाई जोड दिने, आधुनिक भुक्तानी प्रणालीको विकास र त्यसलाई विश्व बजारमा एकीकरण गर्ने र वित्तीय सुदृढीकरणका उपायलाई निरन्तरता दिनेमा हाम्रा प्रयासहरु केन्द्रित रहेका छन् ।”

    क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ: अर्थमन्त्री पौडेल

    काठमाडौँ । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याङ्कन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । 
     
    भेटका अवसरमा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 
     
    उहाँले क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा पूर्वाधारलगायत क्षेत्रमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने बताउनुभएको छ । साख मूल्याङ्कनका लागि ‘फिच क्रेडिट रेटिङ’ कम्पनीको टोली नेपाल आएको हो । टोलीमा सहभागीहरुले नेपालमा राजस्व परिचालन, पुँजीगत खर्च, सार्वजनिक ऋण, वैदेशिक सहयोग परिचालनलगायत विषयमा चासो व्यक्त गरेका थिए ।
     

    निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छः गृहमन्त्री लेखक

    काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले नीजि क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी रहेको बताउनुभएको छ ।
     
     सिंहदरबारस्थित प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज उहाँले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने  भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिनुभयो ।
     
     “निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने की नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न”, लेखकले भन्नुभयो, “पहिले प्रिन्सिपल सेट हुनु प¥यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो, भाषा लेख्ने कुरा कठिनाइ होइन ।”

    शेयर बजार : नेप्से परिसूचकमा ७८.१७ अंकले बढेर २६८८.३८  बिन्दुमा, ८ अर्ब १६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ७८.१७ अंकले बढेर २६८८.३८  बिन्दुमा आएको छ । आज ८अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।आज  हाइड्रोपावर समूह सबैभन्दा बढी बढेको छ । 

     

    यस दिन ३१८ कम्पनीको १ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४७ करोड ६५ लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।आज दोस्रो र तेस्रोमा हिमालयन रिइन्सुरेन्स र एनआरएन इन्फ्रास्टक्चर परेका छन् ।

    नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गर्यो , एफपीओ पनि जारी गर्ने

    काठमाडौं ।नेपाल ल्यूब आयल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्ने यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । 

     

    सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ ।

    हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका ५ जना संस्थापकले सेयर बिक्री गर्न लागेका हुन् । यसमा हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
    यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आजदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    सिद्धार्थ क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस क्यापिटलले गत वर्षको नाफाबाट कर सहित २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्ने यसले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा यस क्यापिटलको कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । 

    सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ ।

    असोज १३ देखि २२ गतेसम्म सफा र सुकिलो नोट साट्न पाइने

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।

     

    राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादसँैमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालय ९विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी० बाट २०८१ असोज १३ देखि २२ गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामार्फत भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।” सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएरसमेत सफा तथा सुकिलो नोट साट्न सक्नेछन् ।
         
    विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकामा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको हो ।

    आज एनआइसी एसिया क्यापिटलका ४ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं ।  एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज भदौ २७ गते बिहीबार अन्तिम दिन हो ।  एनआइसी एसिया सेलेक्ट ३०, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी फन्डहरुले नगद लाभांश वितरण गर्न भदौ २८ गते बुक क्लोज गर्दैछन् ।  आज भदौ २७ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

     

    एनआइसी एसिया सेलेक्ट ३० का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डको करसहित १०.५० प्रतिशत, ग्रोथ फन्डको करसहित ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्डको करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण गर्न लागेको हो ।

    नेपाल एयरलाइन्सको वाइडबडी विमान इटालीबाट फर्कियोः लामो गन्तव्यमा उडान भर्ने

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाडौँ आइपुगेको छ । 

     

    गत असार ८ मा विमानको विस्तृत परीक्षण विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको एन एएलवाई कलसाइनको उक्त विमान करिब साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

     

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको ए–३३० ९अन्नपूर्ण० विमान आज बिहान ८ बजेर ३६ मिनेटमा काठमाडौँ अवतरण गरेको छ । योसँगै लामो दूरीका जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा तीन विमानको उडानमार्फत यात्रुलाई थप सेवा दिने विश्वास छ ।   

    सुनको मूल्य एक सयले घट्यो , प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

     

    आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ ।

    बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो ।

    ‘पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजन बढाइने’

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासलाई प्राथमिकताका साथ अगाडि बढाउन पुँजीगत खर्च बढाउने सरकारको नीति रहेको बताउनुभएको छ । 

     

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र लगानी बोर्डको संयुक्त आयोजनामा आजदेखि सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको पाँचाँै संस्करणमा उहाँले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढाउने प्रतिबद्धता जनाउनुभएको हो ।  

     

    “सरकारले पूर्वाधार विकासका लागि पुँजीगत खर्च विनियोजनलाई बढाउँदै जाने नीति लिएको छ, पुँजीगत खर्च बढाउन विभिन्न कानुनी तथा प्रक्रियागत सुधारलाई अगाडि बढाउने र वैदेशिक सहायतालाई भौतिक पूर्वाधार विकासमा केन्द्रित गर्ने नीति छ”, उहाँले भन्नुभयो, “समस्त नेपालीको आकाङ्क्षा ‘समृद्ध नेपाल र सुखी नेपाली’ हो । सरकार यही आकाङ्क्षा साकार पार्न अनवरत लागिरहेको छ । समृद्ध नेपाल निर्माणको मूल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास हो ।”

    ट्रान्समिटर चढ्नेदेखि प्रबन्ध निर्देशकसम्म अर्याल

    काठमाडाँै । “एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला”, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थाल्नुभयो । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिनुभएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने अलि संवेदनशील रहेको बताउनुभयो । अग्लो कुर्सीमा बसेर भूइँसम्मै सेवा पु¥याउनुपर्छ भन्ने उहाँको मानसपटलमा स्पष्ट छ । त्यसैले उहाँ भन्नुहुन्छ, “मैले कहिल्यै पद हेरिन, कर्म हेरेँ । कर्मले डो¥याउँदै यहाँसम्म ल्याइपु¥यायो ।” काठमाडौँको पुतलीसडकमा जन्मिनुभएकी अर्यालले डिल्लीबजारस्थित पद्म कन्या विद्याश्रम विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो ।

    नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

    काठमाडौँ । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ ।

     

    चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।” यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो ।

    हवाई टिकट र ट्रेकिङमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता गर्न  पर्यटन व्यवसायीहरूको माग

    काठमाडौँ । हवाई टिकट र ट्रेकिङमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता गर्न माग गरिएको छ ।नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नव नियुक्त भएका दीपकराज जोशीलाई भेटेर यस्तो माग गरेको हो ।

     

    संगठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा र महासचिव यमबहादुर खड्काले संयुक्त रूपमा  पर्यटन बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न मुद्दाहरूमा यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका दीपकराज जोशीलाई बधाई दिँदै पर्यटन व्यवसायीहरूले कार्यान्वयनमा ल्याउन बुँदागतरूपमा माग बुझाए ।

    बीमाको पहुँच एक दशमलव ११ प्रतिशतले घट्यो

    वीरगञ्ज (पर्सा) ।  नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा मुलुकभरिमा बीमाको पहुँच विस्तारमा एक दशमलव ११ प्रतिशतले कमी आएको जनाएको छ । आव २०७९/८० सम्म कूल जनसङ्ख्याको ४४ दशमलव ३८ प्रतिशतमा बीमाको पहुँच पुगेको थियो । आव २०८०/८१ मा उक्त पहुँचमा सङ्कुचन आउँदै कूल जनसङ्ख्याको ४३ दशमलव २७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मात्रै एक दशमलव ११ प्रतिशतले बीमाको पहुँचको दायरा खुम्चिएको प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिनुभयो । वीरगञ्जमा आयोजित बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रममा निर्देशकसुवेदीले अघिल्लो आवको तुलनामा गत आवमा बीमाको दायरा खुम्चिनुमा लघुवित्त र सहकारी क्षेत्रमा देखापरेको सङ्कट प्रमुख्य कारण रहेको बताउनुभयो ।

    अर्थमन्त्री पौडेलद्वारा लक्ष्य अनुसार राजस्व संकलन गर्न निर्देशन, उद्योगी व्यवसायीद्वारा भन्सार कानुनमा सुधार गर्न पर्ने माग

    काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले समग्र अर्थतन्त्र दबाबमा रहेको बताएका छन् । भन्सार व्यवस्था गोष्ठीलाई सम्बोधन गर्दै बिहीबार मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

     

    धेरै आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै अर्थमन्त्री पौडेलले राजस्व संकलनमा सचेत रहन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । लक्ष्यअनुसार राजस्व संकलनमा ध्यान दिन भन्दै अर्थमन्त्री पौडेलले लक्ष्य अनुसार राजस्व संकलन नहुने हो कि भनी आफूलाई चिन्ता भएको बताए ।

    कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार व्यवस्था सुधार र त्यसको चुनौतीका बारेमा जानकारी दिएका थिए ।निजी क्षेत्रको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भन्सारसम्बन्धी नीतिका केही व्यवस्थाले व्यावसायीलाई निरुत्साहित बनाएको बताए ।अग्रवालले त्यस्ता विषयमा सुधार गर्न पर्ने बताए ।

    सर्वोच्च अदालतद्वारा यातायात व्यवसायीको सम्पत्ति जफत गर्ने र दर्ता खारेज गर्ने मन्त्रिपरिषदको निर्णय खारेज , यातायात व्यवसायीहरूद्वारा फैसलाको स्वागत

    काठमाडौँ । ट्रक व्यवसायी महासंघले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका ट्रक लगायत यतायात क्षेत्रका विभिन्न विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ साउन १ गते दायर गरेको रिटमा  सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले महासंघको कानुनी स्थिति र यातायात क्षेत्रबारे मन्त्रिपरिषदबाट भएका  निर्णयहरूलाई बदर गर्ने  गरेको फैसलालाई स्वागत गरेको हो ।

     

    सर्वोच्च अदालतले नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा अन्य संघ संस्थाको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने, दर्ता खारेज गर्ने र सम्पत्ति जफत गर्ने नेपाल सरकारका निर्णयहरूलाई असंवैधानिक ठहर गरेको छ । यो फैसलाबाट यातायात व्यवसायीहरूको हकमा महत्वपूर्ण राहत दिएको नेपाल ट्रक यातायात व्यवसायी महासंघका महसचिव राजेन्द्र बिक्रम बानियाँले बताएका हुन् ।सर्वोच्च अदालतको इजलासले २०७५ सालको वैशाख ४ र २०७४ असार ३१ मा नेपाल सरकारद्वारा लिइएका निर्णयहरूको पुनरावलोकन गरी  यी निर्णयहरू संविधान र कानुनविपरीत रहेको ठहर गरेको हो।

    कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था ? यी हुन् विधेयकमा भएका व्यवस्था

    काठमाडौँ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ ले परिकल्पना गरेको ‘सार्वजनिक सेवा प्रसारण’सम्बन्धी व्यवस्था कानुन निर्माणको अन्तिम चरणमा छ ।

     

    राष्ट्रियसभामा उत्पत्ति भएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक’ शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भई उक्त समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाको मङ्गलबारको बैठकबाट पारित भएको हो । 

     

    नेपालमा हाल सञ्चालित सरकारी, निजी तथा सामुदायिक सञ्चारमाध्यमको भन्दा फरक प्रकृतिको स्वामित्व रहनेगरी सञ्चालनमा ल्याउन खोजिएको ‘सार्वजनिक सेवा प्रसारण संस्था’लाई कानुनी आधार प्रदान गर्न ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ ल्याइएको हो । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस