Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज ६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, असोज ६ आइतबार

  • 87
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असोज ६ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज ६ आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    सरकारी ऋण २५ खर्ब २८ अर्ब नाघ्यो , दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

    काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।
    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो ।
    चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण रु ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर रु १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले रु ९० अर्ब आन्तरिक ऋण उठाउँदा रु ३५ अर्ब बराबर ऋण तिरेको छ ।

    सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सीइडीबी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । आइतबारको अन्तिम कारोबार मूल्य २०३१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो ।

     

    ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको भाउ ९८०.९५ रुपैयाँ कायम भएको छ । यिनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुला हुनेछ ।

    शेयर बजार : नेप्से परिसूचकमा ११.५८ अंकले बढेर  २५८८.३५ बिन्दुमा, ५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ११.५८ अंकले बढेर  २५८८.३५ बिन्दुमा आएको छ । 
    ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज  ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ८ वटा समूहको सूचक हरियो बनेको छ ।

     

    यस दिन ३२५ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ८० लाखभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्सुरेन्स र नेपाल फाइनान्स परेका छन् ।

    दशैं-तिहारका लागि असोज १२ देखि अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं । दशैँ तिहारमा गाउँघर जानेहरूका लागि अग्रिम बस टिकटको बुकिङ खुला हुने भएको छ । यात्रुहरूले असोज १२ गते, शनिबारदेखि टिकट बुक गर्न सक्नेछन् । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरेर अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो ।

     

    उक्त बैठक भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको थियो।  टिकट बुकिङका विषयमा यातायात मन्त्रालय र गृह मन्त्रालयबीच छलफल भइसकेको विभागले जनाएको छ । अब एक(दुई दिनमा नै यातायात व्यवस्था विभागसँग विभागले बैठक गरी अग्रिम टिकट खुला गर्ने भएको हो । सो बैठकले व्यवसायीका मागका विषयमा सातबुँदे निर्णय गरेको छ ।

    सर्वोत्तम सिमेन्टको २४ लाख कित्ता शेयरको सकियो 'लक-इन' अवधि

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको 'लक-इन' अवधि सकिएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको २४ लाख कित्ता शेयरको 'लक-इन' अवधि गत शनिवार सकिएको हो ।   

     

    कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ २०८० फागुन २५ गते बाँडफाँट गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको शेयरको १ लाख ५४ हजार २२७ कित्ता शेयरको 'लक-इन' अवधि भने गत भदौ २५ गते सकिएको थियो ।

    अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट , नेपालको अर्थतन्त्र सुधार हुँदै गएको पाए

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट भएको छ ।

     

    अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताउनुभयो । उहाँले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुन परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझाव कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गर्नुभएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    हिमालय उर्जा विकास कम्पनीको १४ लाखभन्दा बढी कित्ता हकप्रद शेयर लिलामी विक्रीमा आउने

    काठमाडौं । हिमालय  उर्जा विकास कम्पनी लिमिटेडले असोज ७ गते सोमवारदेखि अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको छ । कम्पनीले यस अघि शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद शेयर मात्र विक्री भएको हो । कम्पनीले असार १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ १२ गतेसम्म विक्री खुला गरी भदौ २५ गते बाँडफाँट गरेको थियो । 

     

    लिलामीमा आउने शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ ।

    बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । 

     

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपकरणको आजै बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 
    भदौ २९ गतेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ६५ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यसै अवधिमा जम्मा ५२ खर्ब १६ अर्ब रुपैयाँ बराबर मात्र कर्जा लगानी गरेका बैंकहरुसँग ७ खर्बमाथि लगानीयोग्य पुँजी ९तरलता० रहेको छ ।

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको आज आइतबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

    प्रि ओपन सेसन : नेप्से सूचक २४.५३ अंकले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक २४.५३ विन्दुले बढेको  छ । यससँगै सूचक २६०१.२९ अंकमा आएको छ । १ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९४ कम्पनीको ३४ हजार ८ सय ४० कित्ता सेयर कारोबार भएको छ ।

     

    ७० कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ ।

    सीइडीबी हाइड्रोपावर र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

     

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज असोज ६ गते आइतबार अन्तिम दिन रहेको छ  ।

     

    सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले अघिल्लो २ आर्थिक वर्षको  नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्दैछ । यस बोनस सेयरमा लाग्ने कर बापतको रकम तिर्नु नपर्ने कम्पनीले जनाएको छ । उक्त बोनस सेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने जनाएको छ ।

     

    यस्तो छ आजको  विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
     
    युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा,  युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँ

    काठमाडौं । आज फेरि अर्को नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय २० रुपैयाँ कायम भएको छ ।

    हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण

    काठमाडौँ । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ । 

     

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेङ्गीको जोखिम हुने बताउनुभयो । “साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ”, उहाँले भन्नुभयो, “त्यसपछि जाडो याम सुरु हुने भएकाले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउँदै जान्छन् ।”

    रविलाई पक्राउ गर्ने प्रहरीको तयारी , रास्वपाले पार्टी कार्यालयमा बोलायो कार्यकर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

    पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा रास्वपाले उपत्यकाका पार्टी सदस्यहरुलाई केन्द्रीय कार्यालयमा आउन भनेको हो ।

    रास्वपा बागमती प्रदेशका सभापति डा। अच्युत्तम लामिछानेले कार्यालयमा उपस्थित हुन आग्रह गरेका स्रोतको भनाइ छ।

    सहकारी ठगीमा संलग्न भनिएका डीआईजी छविलाल जोशी पक्राउ

    काठमाडौँ । प्रहरीले सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यलय स्रोतका अनुसार उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।प्रहरीबाट अवकाश पाएका गोर्खा मिडिया नेटवर्कका सञ्चालक जोशीलाई पोखरा लैजाने तयारी छ ।

     

    सहकारी छानबिन विशेष संसदीय समितिले कारबाही गर्न गरेको सिफारिस अनुसार सभामुख देवराज घिमिेरले प्रतिवेदन कार्यार्थ सरकारलाई पठाएका थिए । गहृमन्त्रालयले प्रहरीलाई कार्यान्वयन गर्न भनेको केही समयपछि पूर्व डीआईजी जोशीलाई पक्राउ गरिएको हो ।

    रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते

    मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । 
     
     सदरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली–४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । 

     

     दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुणकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    राजस्व अनुसन्धान विभागमा उपसचिव, अधिकृत र नासुहरूको सरुवा, विभागको पथलैया, बुटवल, इटहरी र कोहलपुरका कार्यालय प्रमुखहरू फेरिए

    काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको  राजस्व अनुसन्धान विभागमा उपसचिव ,अधिकृत र नासुहरूको सरुवा भएको छ । राजस्व अनुसन्धान विभाग अन्तर्गतका चारवटै कार्यालयहरूका कार्यालय प्रमुखहरूको समेत सरुवा गरिएको छ ।समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयमा हरिप्रसाद शर्मालाई पठाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सहायक सीडीओ रहेका शर्मालाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यालय प्रमुखको रूपमा पठाइएको हो ।यस्तै राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत कार्यालय प्रमुख  बैकुण्ठप्रसाद  सापकोटालाई सामान्य प्रशासन मन्त्रालय तानिएको छ ।

     

    यस्तै राजस्व अनुसन्धान कार्यालय बुटवलमा कार्यरत कार्यालय प्रमुख पशुपतिबाबु पुरीको सरुवा गरिएको छ । उनको ठाउँमा विवेक घिमिरेलाई पठाइएको छ । पुरीलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । यसैगरी राजस्व अनुसन्धान विभागको इटहरी कार्यालयमा उत्तम कुमार घिमिरेलाई पठाइएको छ ।यता राजस्व अनुसन्धान कार्यालय कोहलपुरको कार्यालय प्रमुखमा उमेश रिमाललाई पठाइएको छ ।

    बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौँ ।बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

     

    यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो ।

    श्रीलङ्का : राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम

    कोलम्बो ।श्रीलङ्कामा शनिबार सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक मतगणनामा माक्र्सवादी नेता अनुरा कुमारा दिसानायकाले अग्रता कायम गर्नुभएको छ । 

     

    आइतबार बिहानसम्मको मतगणनाअनुसार दिसानायकाले १० लाखभन्दा बढी मत अर्थात् ५२ प्रतिशत मत प्राप्त गरी ५२ प्रतिशत मत पाउनुभएको छ । विपक्षी नेता साजिथ प्रेमदासा २३।३ प्रतिशत मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने रनिल विक्रमासिङ्घे १६ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहनुभएको छ । 

    सन् २०२२ मा देखिएको चरम आर्थिक सङ्कटका कारण चलेको आन्दोलनका भरमा तत्कालिन राष्ट्रपति गोटबाय राजपाक्षले राजिनामा गरेपछि उहाँको स्थानमा त्यहाँको संसद्ले रनिल विक्रमासिङ्घेलाई चयन गरेको थियो । विक्रमासिङ्घेले राजपाक्षको पलायन र राजिनामापछि खालि रहेको राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्दै सङ्कटग्रस्त अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने काम गर्नुभएको थियो ।

    प्रधानमन्त्रीको अमेरिका भ्रमणः को -कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ?

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

     

     सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गर्नुभएकामा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो ।

     त्यस्तै महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ ।  कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।   

     

    विभागकमनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस