काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज ९ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनुभएको छ ।
चीनको राजधानी बेइजिङमा आयोजित ‘ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम’ लाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताउनुभयो ।
नेपालको भौगोलिक अवस्थाअनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गर्दै उहाँले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
वीरगञ्ज ।चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा चारपाङ्ग्रे सवारीको आयात घटेको छ ।
चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, कार र भ्यान आयात भएको थियो ।
आव २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताउनुभयो ।
युनिलिभर नेपालले प्रतिकित्ता १७१४ रुपैयाँ लाभांश दिने
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले शेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो लाभांश अहिलेसम्मकै उच्च हो ।
असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
नागरिक लगानी कोषको ७४ लाख भन्दा बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोष बोनस शेयर सूचीकृत भएको छ ।
कोषको ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खाताम आएपछि कारोबार गर्न मिल्नेछ ।
कोषको असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने
काठमाडौँ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ । निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगञ्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउनेछ । उक्त व्यवस्थापनका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा, ४ अर्ब ८१ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा आएको छ ।आज ४ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । म्युचुलअ फन्डबाहेक बाँकी सबै समूहको सूचक बढेका छन् । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
यस दिन ३२७ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र सीइडीबी हाइड्रोपावर परेका छन् ।
सिटिजन्स सदाबहार योजनाले इकाई जारी गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सिटिजन्स सदाबहार योजनाले इकाई जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस फन्डले ५ करोड इकाई बिक्रीका लागि बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिइकाई १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको इकाई बिक्री गर्न लागेको हो । यस फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटलले गर्नेछ ।
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।
भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताए। उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
एनआईबिएल ग्रोथ फण्डले प्रतिफल प्रयोजनका लागि तोक्यो बुक क्लोजको मिति
काठमाडौं । एनआईविएल ग्रोथ फण्डले यस वर्षको प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले यस योजनाको प्रतिफल प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
युनाइटेड अजोड इन्सुरेन्सले हकप्रद सेयर बिक्री गर्न , धितोपत्र बोर्डसँग माग्यो अनुमति
काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
सुनको भाउ नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५९.५४ र चाँदी प्रतिऔंस ३१.९३ डलरमा कारोबार भइरहेको छ ।
सुनको भाउ नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १९ सय ५५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५९.५४ र चाँदी प्रतिऔंस ३१.९३ डलरमा कारोबार भइरहेको छ ।
विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।
लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो ।
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।
केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ ।
असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै, एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने
काठमाडौं ।नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ । आउँदो असोज १९ गते शनिबार काठमाडौंको सोल्टी होटलमा सम्मेलन आयोजना हुनेछ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागीता हुने बताइएको छ । कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका उद्यमी, लगानीकर्ता र व्यवसायिक नेतृत्वकर्ता लगायत उपस्थित हुनेछन् ।
नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट महत्वपूर्ण हुने आयोजकको विश्वास छ । सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सिईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ताको रूपमा आउँदैछन् ।
उपभोक्ताले‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए
काठमाडौँ । नेपाल आहारपुरक सौन्दर्यवद्र्धक सङ्घ(एनएनसिए)ले आफ्नो पहिलो अधिवेशन यही असोज १२ गते आयोजना गर्ने भएको छ । देशभर ६ सय बढी न्युट्रास्युटिकललगायतका आहारपुरक आपूर्ति गर्ने व्यवसायी छन्
सङ्घद्वारा अधिवेशनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विप्लप रञ्जितले नेपालमा न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीको आयात र बजारीकरणमा आफ्नो सस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिराखेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ,“आम उपभोक्ता तथा बिरामीलाई पोषणतत्वको अभावले विविध रोग लाग्न सक्ने र त्यसलाई रोक्न न्युट्रास्युटिकल्स प्रोडक्टको महत्व विश्वव्यापी रुपमा बढेको छ ।”
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक
काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्र्न उहाँले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
जीबी राईसमेत १७ जना विरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनमा मुद्दा दायर
काठमाडौँ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।सहकारी ठगी कसुरमा १७ जनालाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको हो ।
प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर रहेका छन् ।
जुम्लामा नूनको अभाव छैनः साल्ट ट्रेडिङ कर्पोरेसन
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसँैतिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा नून मौज्दात
रहेको उहाँले बताउनुभयो । यहाँस्थित डिपोमा अहिले एक हजार १६० क्विन्टल नून मौज्दात रहेको जनाइएको छ । यही असोज ६ देखि १५ गतेसम्म चन्दननाथ नगरपालिकासहित पातारासीका, गुठीचौर, तातोपानी र तिला गाउँपालिकाका स्थानीयवासीलाई वडाको सिफारिसका आधारमा नून वितरण गरिएको छ ।
विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी घर भई हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भई हाल काभ्रेको बनेपा–९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरु तथा काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन् : महासचिव पोखरेल
सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।”
आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रमा सुधार आउने र ४.९ प्रतिशतले विस्तार हुने एडीबीको प्रक्षेपण
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एसियाली विकास बैंक (एडीबी)ले जनाएको हो । एडीबीले आफ्नो पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमा जनाएको छ ।नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनों कोश्वाले आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्ने बताएको एडीबीद्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एसियन डेभलपमेन्ट आउटलुक सेप्टेम्बर २०२४ का अनुसार, सामान्य मनसुनसँगै समयमै धान रोपाई सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकुलतामा निर्भर रहनेछ। विद्युत् उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ। पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघ नेपाल द्वारा सरकारसँग भुक्तानी दिन माग
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ नेपालले सरकारसँग भुक्तानी दिन माग गरेको छ । यस सम्बन्धमा महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएको हो । शहरी विकास मन्त्री समेत रहेका सिंहलाई आज बुधबार भेटेर निर्माण व्यवसायीहरुले भुक्तानी माग गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहका अनुसार राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ छ ।
निर्माण व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएको आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भुक्तानी नपाएको बताउँदै आएका छन् ।
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
ढाका ।बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ ।
बङ्गलादेश बैङ्कका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ ।
केन्द्रीय बैङ्कले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैङ्कले अन्य बैङ्कका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट)मा वृद्धि गरेको थियो । मुद्रास्फीतिलाई नियन्त्रण गर्न वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणलाई ५० आधार बिन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो।
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले गर्नैपर्ने कामको सूची जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाहरूलाई पालना गर्नैपर्ने खालका विभिन्न कामहरू गर्न भनेको छ ।महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गरी सहकारी संस्था र सदस्यलाई विभिन्न काम नियमानुसार पालना गर्न भनेको हो ।
नकली ऋणी खडा गरी लगानी नगर्ने, धितो या जमानी नराखी वा न्यून धितो राखी ऋण लगानी नगर्ने, पुँजी कोषको १० प्रतिशतभन्दा बढी रकम एक सदस्यलाई लगानी नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्ने, संस्थाको बचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घरजग्गाको किनबेच वा कारोबारमा लगानी नगर्नलगायतका कामहरू गर्न महानगरपालिकाले सहकारी संस्थाहरूलाई भनेको छ ।
साथै महानगरले बचत प्रयोग गरी सेयर किनबेच प्रयोजनका लागि प्रयोग नगर्ने, उद्देश्य तथा कार्यक्षेत्र विपरीतका कार्यमा खर्च नगर्ने, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्ने, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्ने, सदस्य बाहेकका व्यक्तिलाई ऋण लगानी नगर्ने, संस्थाले प्रदान गर्ने बचत र ऋणको व्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी कायम नगर्ने, प्राथमिक पुँजी कोषको १५ गुणाभन्दा बढी हुने गरी बचत संकलन नगर्न भनेको छ ।