Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

राजस्व अनुसन्धान विभागको ध्यान चोरी तस्करी नियन्त्रणतर्फ


नया सडक

२०८१, असोज १० बिहीबार

  • 1.0k
    Shares

  • राजस्व अनुसन्धान विभागको ध्यान चोरी तस्करी नियन्त्रणतर्फ

    काठमाडौँ । राजस्व अनुसन्धान विभागको ध्यान चोरी तस्करी  नियन्त्रणतर्फ गएको छ ।ठुला चाडपर्व नजिकिएसँगै चोरी तस्करी बढ्ने  आशंकामा विभागको ध्यान चोरी तस्करी नियन्त्रण गर्ने तर्फ केन्द्रित भएको हो ।राजस्व अनुसन्धान विभागका  महानिर्देशक चण्डीप्रसाद घिमिरेले नेपालीहरू ठुला चाडपर्व दशैँ तिहार र छठ नजिकिएसँगै छिमेकी मुलुकहरूबाट चोरी तस्करी बढ्ने आशंकामा त्यसको नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागको ध्यानकेन्द्रित भएको बताएका छन् ।महानिर्देशक घिमिरेले सीमाक्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणका लागि राज्यका सबै निकाय संयुक्तरूपमा परिचालित हुने समेत नयाँ सडकसँगको संक्षिप्त कुराकानीमा बताएका छन् ।

    राजस्व अनुसन्धान विभागले पछिल्लो समय उत्तर छिमेकी मुलुक चीनतर्फका नाका र दक्षिणी छिमेकी मुलुक भारततर्फका नाकाहरूबाट छुटेका मालवाहक सवारी साधनको रेन्डमली चेकजाँच तीव्र बनाएको छ ।राजस्व अनुसन्धान विभागलाई प्राप्त सूचनाका आधारमा ल्याइएका मालवाहक सवारी साधन र नेपाल प्रहरी ÷ सशस्त्र प्रहरीले ल्याएका सवारी साधनहरूबाट भन्सार÷राजस्व छलीको आशंकमा ल्याइएका करिब तीन दर्जन मालवाहक गाडीबाट चालु आवको साउन र भदौमा मात्र झण्डै चार करोड राजस्व÷धरौटी राज्यको खातामा जम्मा भएको छ ।चोरी तस्करी तथा राजस्व चुहावट नियन्त्रण गर्न विशेष योजना बनाएका महानिर्देशक घिमिरेले मातहतका चारवटै कार्यालयहरूलाई चोरी तस्करी तथा राजस्व चुहावट नियन्त्रण निर्देशन समेत दिएका छन् ।विभागका चारवटै कार्यालयहरू पथलैया, बुटवल, इटहरी र कोहलपुरमा प्रमुख अनुसन्धान अधिकृत पनि नयाँ गएका छन् ।

    महानिर्देशक घिमिरेले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन २०५२ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० तथा विदेशी विनिमय(नियमित गर्ने) ऐन २०१९को मर्म अनुसार कार्य गर्न मातहतका सबै निकायलाई निर्देशन समेत दिएका छन् ।
    यद्यपि, घिमिरेले अनुसन्धान विभाग सम्हालेलगत्तै सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न विभिन्न टुल्स प्रयोग गर्नुको सट्टा भन्सार चेकजाँच भएर आएका मालवाहक सवारी साधनमा मात्र आँखा लगाउनलाई व्यापारीहरूले सकारत्मकरूपमा लिएका छैनन् ।

    अर्बौँ राजस्व गुमाएको क्षेत्रहरूमा विभागको अन्यौलता 

    राजस्व अनुसन्धान विभागको उद्देश्य भनेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण)ऐन २०५२ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७० तथा विदेशी विनिमय(नियमित गर्ने) ऐन २०१९ र नियमहरू २०२० बमोजिम  राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार विभागलाई दिइएको छ । यद्यपि विभागले राजस्व चुहावट भइरहेका क्षेत्रमा खासै ध्यान दिन सकेको छैन् । विभाग सहजरुपमा गर्न सकिने र हुने काममा  अल्मलिएको छ । राजस्व गुमाइरहेका क्षेत्रहरू, अपारदर्शी घरजग्गा कारोबार, कानुनी दायरामा पूर्णरुपमा समेटन नसकिएको र आउन नसकेको अनलाइन व्यापार, भन्सार चोरी तस्करी, अनौपचारिक अर्थतन्त्रलगायतका क्षेत्रमा राजस्व अनुसन्धान विभागले गहिरो अनुसन्धान गर्न सकेको छ्रैन् ।

     विभागमा आउने नयाँ महानिर्देशकको परम्परा

    २०५०सालदेखि अर्थ मन्त्रालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभाग मिति २०७४ फागुन १३ गतेको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको छ । विभागमा २०७४ पछि आउने महानिर्देशकहरूको सुरुवाती काम भन्सार जाँचपास भएर आएका मालवाहक सवारी साधनहरूमा पर्दै आएको छ ।

    यसअघिका महानिर्देशकहरू नारायणप्रसाद सापकोटा , प्रकाश पौडेल, मदन दाहाल, झलकराम अधिकारी , नवराज ढुंगाना र चक्रबहादुर बुढाको  समेत सुरुवाती काम भन्सार जाँचपास भएर आएका मालवाहक सवारी साधनहरूको अनुगमनबाट भएको थियो । अहिलेका महानिर्देशक घिमिरेले समेत त्यसैलाई निरन्तरता दिँदै भन्सार चेकजाँच भएर आएका मालवाहक गाडीहरूमा ध्यान दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस