बुटवल । सरकारले अहिलेसम्म उद्योग व्यापार मैत्री वातावरण बनाउन नसकेको उद्योगी व्यवसायी र अर्थतन्त्रका जानकारहरुले गुनासो गरेका छन् ।सरकारले कर असुलीलाई मात्र प्राथमिकतामा राखेकोले उद्योग व्यापार क्षेत्र संकटमा पुगेको दर्शाउँदै उनीहरू यस्तो बताएका हुन् । बैंकहरूमा तरलता थुप्रिएर ब्याजदर एक अंकामा झरेर गएको भएपनि लगानी मैत्री वातावरण बन्न नसकेकाले कर्जा प्रवाह किन हुन नसकेको भन्दै व्यवसायीहरूले प्रश्न उठाएका छन् ।
लुम्बिनी प्रदेश सरकार र युरोपियन युनियन (ईयु) नेपालको सहकार्यमा मणिग्राममा आयोजित ‘उद्योग, लगानी र व्यापारसम्बन्धी क्षमता निर्माण र जागरूकता कार्यक्रम’मा सहभागीहरूले यस्तो बताए ।व्यवसायीहरुले भन्सार र कर नीति स्वदेशी उद्योगीलाई संरक्षण गर्ने भन्दा विदेशी सामान आयातलाई प्रोत्साहन हुने गरी बनेको बताउँदै तिनलाई संशोधन परिमार्जन गरी उठिरहेको भएपनि त्यसलाई बेवास्ता गरिएको बताए ।पर्यटन क्षेत्रले राम्रो प्रतिफल दिने जान्दाजान्दै त्यसबारे गर्नुपर्ने काम नगरी जहाँपनि जतापनि मनलाग्दी गरी गरिएको प्रहरी चेकजाँचले विदेशी पर्यटकहरूमा नकरात्मक प्रभाव परिरहेको उनीहरूले बताए ।
चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले स्वदेशी उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताए ।आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकारको स्पष्ट दृष्टिकोण नहुँदा सीमित नेता, उनीहरुका आसेपासे र सीमित ठूला उद्योगी–व्यापारी मात्र मोटाउने तर आम उद्योगी व्यवसायी धराशायी हुने अवस्थामा अर्थतन्त्र पुगेको धारणा व्यक्त गरे ।उद्योगी व्यवसायीबाट चर्को कर असुल्ने, अनेक बहानामा दुःख दिने, निजी क्षेत्रको योगदानलाई अवमूल्यन गर्ने काम मात्रै सरकारबाट भएको पोखरेलले बताए ।
वार्षिक ५४ खर्बको नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ । कूल रोजगारीमा निजी क्षेत्रको योगदान ८५.५ प्रतिशत अर्थात ५५ लाख छ । जबकि सरकारी रोजगारी ४ लाख ५० हजार मात्र छ । निजी क्षेत्रका उद्योग संख्या करिब १० लाख छ, जुन ३० वर्षमा ३२ गुणा वृद्धि भएको हो ।