काठमाडौँ ।आगामी माघ १ गतेदेखि सिन्धुपाल्चोकको सुकुटे बजारमा हुने ७ औँ राष्ट्रिय महिला तथा ८ औँ पुरुष भलिबल प्रतियोगिताबारे पालना गर्नुपर्ने शर्तहरू सम्बन्धी सम्झौता भएको छ ।मिति २०८१ आश्विन १३ गतेको नेपाल भलिबल संघको निर्णयानुसार मिति २०८१ माघ १ गते देखि ५ गते सम्म नेपाल भलिबल संघको संयोजन, सिन्धुपाल्चोक जिल्ला भलिबल संघ तथा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजना र व्यवस्थापनमा ७ औँ राष्ट्रिय महिला तथा ८ औँ पुरुष बीच भलिबल प्रतियोगिता बारे मंसिर १० गते शर्तहरूबारे सम्झौता गरिएको हो ।
त्यसको जानकारी नेपाल पर्यटन बोर्डमा एक पत्रकार सम्मेलनको आयोजना गरी जनाइएको छ । जारी विज्ञप्ति अनुसार सिन्धुपाल्चोक जिल्लाको सुकुटे बजारमा आयोजना गर्न विभिन्न शर्तहरु पालना गर्ने गरी संघको तर्फबाट महासचिव रोशन श्रेष्ठ र जिल्ला भलिबल संघ सिन्धुपाल्चोकको अध्यक्ष रमेश कुमार खड्का एवं सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको तर्फबाट अध्यक्ष महेन्द्र सिंह थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गरिएका शर्तहरूमा ७ औँ राष्ट्रिय महिला तथा ८ औँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता नेपाल भलिबल संघको संयोजन, सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजना र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको व्यवस्थापन रहने छ ।यसैगरी दोस्रो शर्तमा ७ औँ राष्ट्रिय महिला तथा ८ औ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगितामा ७ वटा प्रदेश र ३ विभागीय टिमहरुबाट २÷२ टिमहरुको सहभागिता रहनेछ। उक्त प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीहरु एवम् १ जना टिम व्यवस्थापक र १ जना प्रशिक्षकको बसोबास, यातायात, खाना र सुरक्षाको व्यवस्थापन नेपाल सरकारको नियमानुसार सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले गर्ने उल्लेख छ ।
तेस्रो शर्तमा उक्त प्रतियोगिताको लागि नेपाल भलिबल संघबाट प्रतियोगिता संचालन गर्नको लागि ६ थान बल र २ थान नेट आयोजकलाई प्रदान गर्ने छ ।चौथो शर्तमा उक्त प्रतियोगिता संचालन गर्न ७ वटा प्रदेशबाट १–१ जना प्रतिनिधित्व रहने गरि अन्य आवश्यक सम्पूर्ण रेफ्रीहरु नेपाल भलिबल संघबाट चयन गरिने उल्लेख छ ।पाँचौँ शर्तमा ७ औँ राष्ट्रिय महिला तथा ८ औँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उद्घाटन र समापन समारोहको अध्यक्षता नेपाल भलिबल संघबाट गरिनेछ । भने संयोजक सिन्धुपाल्चोक भलिबल संघको अध्यक्ष वा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको रहने व्यवस्था हुनेछ ।
छैटौँमा आयोजक एवं व्यवस्थापन कमिटीसँग केन्द्रबाट समन्वय गर्नको लागि संघका महासचिव रोशन श्रेष्ठ समन्वयकर्ताको भूमिकामा रही सिन्धुपाल्चोक भलिबल संघलाई सहयोग गर्नुहुने जनाइएको छ ।प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्चको आय व्याय विवरण लगायत विस्तृत प्रतिवेदन संघको केन्द्रिय कार्यालयमा प्रतियोगिता सम्पन्न भएको १ महिना भित्र बुझाउनु पर्ने सातौँ शर्तको रूपमा उल्लेख छ ।आठौँ शर्तमा उक्त प्रतियोगिताको लागि नेपाल भलिबल संघले मिडिया पार्टनरको व्यवस्था गर्ने भनिएको छ ।
नवौँ शर्तमा उक्त प्रतियोगितामा सहभागिता जनाउन सहभागी टिमहरुलाई नेपाल भलिबल संघले प्रत्राचार गर्नेछ । साथै व्यवस्थापन पक्षले नै प्रायोजक एवं आयोजक र स्थानीय तहबाट प्राप्त अनुदान सहयोग, आर्थिक कारोबार विवरण व्यवस्थापन गरी नेपाल भलिबल संघलाई प्रतिवेदन मात्र पेश गर्ने भनिएको छ ।दशौँ शर्तको रूपमा उक्त प्रतियोगितामा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमहरुले क्रमशः नगद रु. ५० हजार, २५ हजार, १५ हजार र १० हजार प्रदान गरिने भनिएको छ ।