काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर १८ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
शेयर बजार : नेप्से परिसूचकमा १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा,८ अर्ब ५२ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा १७.८० अंकले बढेर २७७५.८५ बिन्दुमा आएको छ ।आज ८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।
यस दिन ३ सय ७ कम्पनीको १ करोड ८१ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड ७४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र बेस्ट फाइनान्स परेका छन् ।
एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने ,प्रतिकित्ता ५० रुपैयाँ
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले नेपालमै पहिलो पटक रङ्ग उद्योगको तर्फबाट आईपीओ ल्याउने भएको छ ।
कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
एक कार्यक्रमका बिच एभरेष्ट कलरका तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
दाउन्ने एग्रो फार्मको साधारण सभा मङ्सिर २८ गते , आईपीओ निष्कासन गर्ने प्रस्ताव
काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सातौ वार्षिक साधारण सभा मङ्सिर २८ मा गर्ने भएको छ ।
सभा होटल स्टार चितवन प्रा।लि रत्ननगर १ चितवनमा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
काठमाडौँ । भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
सोमबार अपराह्न उहाँहरूबीच भएको भेटवार्तामा दुई पक्षीय हितका साथै पारस्परिक चासोका विविध विषयमा कुराकानी भएको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।
उहाँहरूबीच नयाँ पूर्वाधार योजनाअन्तर्गत सिलीगुडी–झापा र अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणबारे छलफल भएको थियो । साथै उहाँहरूले विगतमा दुई देशबीच भएका सम्झौता तथा तिनको कार्यान्वयनका सम्बन्धमा पनि छलफल गर्नुभएको थियो ।
सिवाईसी नेपाल लघुवित्तको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६ हजार ५४३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १८ हजार ३६० कित्ता अन्य व्यक्तितथा संस्थाहरुले आवेदन दिन पाउने गरी र ८८ हजार १८३ कित्ता भने विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी निष्कासन गरेको हो ।
दुबै तर्फको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र अर्थात पुस १ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । दुबै तर्फको शेयर मंसिर १७ गतेदेखि विक्रीमा आएको हो ।
बलेफी हाइड्रोपावरले मंसिर २७ गतदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन हुनेछ ।
महुली लघुवित्तले एफपीओ जारी गर्न , धितोपत्र बोर्डबाट पायो अनुमति
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो ।
लघुवित्तले एफपीओ जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
माउन्टेन इनर्जी नेपालले गर्यो १५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । माउन्टेन इनर्जी नेपालले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीकोे सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।कम्पनीले लाभांश वितरण प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने जनाएको छ ।
प्रि ओपन सेसन : नेप्से सूचक १४.७० अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.७० विन्दुले बढेको छ । यससँगै सूचक २७७२.७४ अंकमा आएको छ । ७६ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको १३ हजार ६ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।
४६ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ ।
होटल सब्रिना सर्वसाधारणमा शेयर वितरण गर्न आईपीओ निष्काशनको तयारीमा
काठमाडौँ । होटल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले छैटौँं साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । संस्थापक तथा अध्यक्ष निराजन थापाले सोमबार बसेको साधारण सभाबाट आईपीओ निकाल्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यो होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको जनाइएको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा वितरण गर्ने गरी आईपीओ निष्काशन गर्न लागेको जनाएको हो ।
इन्धनको मूल्य बढेपछि आन्तरिक हवाई भाडा बढ्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडा बढाएको छ । नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढेको हो । जसमा सबैभन्द धेरै विराटनगर धनगढीको भाडा १२५ रुपैयाँले बढेको छ । योसँगै यसतर्फको रुटमा ८ हजार २४० रुपैयाँ भाडादर कायम भएको छ ।
काठमाडौ–धनगढी ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ । विराटनगर–भैरहवा ८० रुपैयाँ बढेको छ ।
सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो ,प्रतितोला१ लाख ५० हजार ३०० रुपैयाँ
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको छ ।
टिकटकले जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ : सचिव अर्याल
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताउनुभयो । उहाँले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ ।
काठमाडौँमा आज मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदैआएको बताउनुभयो । उहाँले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरु सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गर्नुभयो ।
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच यस सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार ग्लोबल आईएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउने छन् ।
कतारका नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था मिलाउन उपराष्ट्रपतिको आग्रह
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज आफूसँग भेट गर्न आउनुभएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो ।
उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदितः अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ ।
उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताउनुभएको हो ।
कामपा–१६ की अध्यक्ष श्रेष्ठ शपथ ग्रहण
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रमुख शाहले यही मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई आज महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शपथ गराउनुभएको होे ।
काठमाडौँको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको सो वडाको २१ हजार २५ मतदातामध्ये १० हजार तीन सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी क्षेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
कुलमानलाई तह लगाउन प्राधिकरण हातामै बस्ने योजना बनाउँदै ऊर्जा मन्त्री खड्का
काठमाडौँ । ऊर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तह लगाउन प्राधिकरणमै बस्ने योजना बनाइरहेको खुलेको छ ।सिंहदरबारको मन्त्रालयबाट घिसिङलाई तह लगाउन गाह्रो भएकाले प्राधिकरणमै आफ्ना लागि अनुकूलको कोठा खोज्न कर्मचारी पठाएबाट यस्तो योजना खुलेको हो ।
डेडिकेटेड र ट्रंक लाइन बक्यौता भुक्तानी सम्बन्धी विवादमा घिसिङको व्यवहारबाट सरकार सन्तुष्ट हुन नसकेको छर्लगिंएको छ ।सरकारले उद्योगीहरूको लाइन जोड भन्दा घिसिङले बक्यौता भुक्तानी नभए लाइन जोडिन्न भन्ने अड्डी लिएको देखिएबाट घिसिङ र सरकारबीच भिडन्तको स्थिति बनेको हो ।
सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गर्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज यहाँ आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’मा उहाँले नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गर्नुभएको हो । उहाँले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताउनुभयो । टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरुको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग
वासिङ्टनडिसी ।संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति मार्फत राष्ट्रपति जो बाडेनले रक्षा विभाग (पेन्टागन) लाई किभलाई आफ्नो क्षेत्रिय, स्वतन्त्रता र स्वाधिनताको तत्काल रक्षा गर्न आवश्यक उपकरणहरू उपलब्ध गराउन निर्देशन दिनु भएको छ ।
विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियता बढाउँछः पर्यटनमन्त्री पाण्डे
पाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मियतामा नयाँ उचाई हासिल हुने धारणा व्यक्त गर्नुभएको छ ।
सातदोबाटोस्थित ब्राइट फ्युचर उच्च माध्यमिक विद्यालयले विभिन्न आठ देशका बालनाट्य कलाकारहरुको सहभागितामा यहाँ आयोजना गरेको चौथो ललाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आज आयोजित उद्घाटन समारोहमा उहाँले विभिन्न देशका नाट्यकलाहरुको प्रदर्शनी र प्रस्तुतिले एकअर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताउनुभयो ।
यस्ता छन् नेपाल र चीनबीच भएका ९ बुँदे सहमति
नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।
यस्ता छन् सहमतिका बुँदाहरू
१. टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
२. नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
३.९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
४.भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
५.विकास योजनासम्बन्धी समझदारीपत्र
६.आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
७.नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
८.स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
९.नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
सरकारले जलविद्युत आयोजनामा गरिव सीमान्तकृत जनतालाई सहुलियतमा कर्जासहित शेयर दिने
काठमाडौं । सरकारले जलविद्युत आयोजनाहरुमा गरिव सीमान्तकृत जनतालाई सहुलियतमा कर्जा उपलब्ध गराएर शेयर दिने भएको छ ।
जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि परिमार्जन गरिएको सोमवार सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
ऊर्जा मन्त्रालयले प्राकृतिक स्रोत माथिको अधिकार सवै नागरिकमा समान हुने भएकोले आर्थिक हिसावले विपन्न नागरिकलाई समेट्ने गरी जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व कायम गरी आन्तरिक पुँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास गर्ने उद्देश्यले शेयर लगानी गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर प्रदान गर्नेगरी कार्यविधि संशोधन गरीको छ ।पत्रकार सम्मेलनमा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निमुखा, गरिव सीमान्तकृत बासिन्दाहरुले जलविद्युत आयोजनाबाट अपेक्षित लाभ सामुहिक जवानीमा कुनै ढङ्गबाट शेयर दिने र त्यो आयोजनाबाट अपेक्षित जनताहरु शेयर दिनेगरी कार्यविधि संशोधन गरिएको बताए ।
बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग
पाँचथर ।बम विस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् ।
गत भदौ १३ गते बेवारिसे बम विस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई रु रु तीन लाख ४२ हजार नौ सय ५६ रकम सहयोग उपलब्ध गराइएको हो । यहाँका दीपज्योति युवा क्लब र फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाले रु दुई लाख ८२ हजार चार सय ५६ तथा फालेलुङ सेवा समाजले सङ्कलन गरेको रु ६० हजार पाँच सय रकम सोमबार तीन परिवारलाई वितरण गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो ।
एनपिएलः सुदूरपश्चिम रोयल्स विजयी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । विराटनगरले भने प्रतियोतिगामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका–११ का ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारी नगरपालिका–३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काई नगरपालिकाका–९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता
काठमाडौँ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ ।