
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनीले व्यावसायिक रूपमा बिजुली उत्पादन सुरु गरेको छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको डेढ महिनापछि कम्पनीले व्यापारिक रुपमा विद्युत उत्पादन शुरु गरेको हो ।कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी सार्वजनिक गरे अनुसार कम्पनी र प्राधिकरणका पदाधिकारीसहितको बैठकले पुस १६ गतेदेखि लागू हुनेगरी आयोजनाबाट उत्पादित विद्युतको व्यापारिक उत्पादन शुरु भएको हो । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने जनाइएको छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने हिसाब गरिएको छ ।
कम्पनी स्रोत अनुसार लामो समयसम्मको हाइड्रोलोजी र खोलाको बहावको तथ्यांक राखिएको हुन्छ । त्यही तथ्यांकको अनुमान अनुसार पीपीए सम्झौता गरिन्छ । त्यसै आधारमा बैशाखदेखि चैतसम्म उत्पादन हुने अनुमानित बिजुलीको हिसाबका आधारमा आम्दानी उल्लेख गरिन्छ । भविष्यमा खोलाको बहाव परिवर्तन भयो भने आम्दानी पनि सोही अनुसार घटबढ हुन सक्ने गरी आकलन गरिने गरिन्छ ।
पीपीए सम्झौता अनुसार वर्षमा ४÷५ महिना मात्रै १११ मेगावाट बिजुली उत्पादन हुने जनाइएको छ । अन्य समयमा पानीको बहाव घटेर उत्पादन पनि घट्ने जनाइए अनुसार सबैभन्दा कम चैतमा २८÷२९ मेगावाटमा मात्रै बिजुली उत्पादन हुने देखिन्छ । परीक्षण गर्दाका बखत ५५ मेगावाट उत्पादन भएको थियो भने एक डेढ महिनामा ३९ मेगावाटमा झरिसकेको छ । यो घट्दै गएर चैतमा २९ मेगावाटमा भर्ने अनुमान अनुसार हुने पीपीएमा छ ।
कम्पनीले व्यावसायिक उत्पादन सुरु गरेको भएपनि तत्काल लाभांश पाउने सम्भावना रहेको देखिँदैन् । विभिन्न संस्थासँग लिएको ऋणको किस्ताबन्दी तिर्ने र अनि बाँकी रहेको रकम शेयरधनीहरूलाई वितरण गर्ने कुरो रहेको छ ।कर्मचारी सञ्चय कोष लगायत अन्य संस्थासँग ऋण लिँदा बिजुली उत्पादन भएपछि किस्ताबन्दी तिर्ने सहमति छ । १० वर्षको किस्ताबन्दी छ । किस्ता संख्या समान भएपनि लागत बढेको छ । किस्ता रकमको आधारमा मात्रै शेयरधनीलाई लाभांश दिने÷नदिने थाहा हुने भएकाले यो वर्ष लाभांश दिन मिल्ने सम्भवना कम छ । किनभने मध्यतिर मात्रै उत्पादन भएको छ । अर्काे वर्षदेखि वर्ष थाहा हुन्छ । थोरै रकम मात्रै रह्यो भने २÷३ वर्षको नाफा एकैपटक शेयरधनीलाई वितरण गर्नुपर्ने पनि हुन सक्छ ।’
१११ मेगावाटको उक्त जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण पूरा भएको हो । गत मंसिर ६ गते मात्रै आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।
आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले जनाए अनुसार टिमुरे (तातोपानी)स्थित विद्युत गृहबाट आयोजनाले नै निर्माण गरेको १० किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०÷१३२÷३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । उक्त विद्युत् चिलिमे–त्रिशूली र त्यहाँबाट त्रिशूली–काठमाडौं २२० केभी केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित हुन्छ ।
प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने समयमा आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ तयभए आधारमा ५० प्रतिशत स्वपूँजी (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको हो ।आयोजना निर्माण अगाडि बढाउने समयमा मुख्य रुपमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन भएको कारण संशोधित अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब १८ करोड ३७ लाख रुपैयाँ कायम गरिएको थियो ।
आयोजना निर्माण अवधि बढ्दा र डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दा आयोजनाको अनुमानित लागत निर्माण अवधिकको ब्याजबाहेक अनुमानित लागत १८ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । निर्माण अवधिको ब्याज करिब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।आयोजनामा चिलिमे जलविद्युतको ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक शेयर छ । आयोजनाले ५० प्रतिशत स्वपूँजी र ५० प्रतिशत ऋणबाट लगानी जुटाएको हो । आयोजनामा कर्मचारी सञ्चाय कोषले ऋण प्रवाह गरेको छ । निर्माण अवधि लम्बिएर कर्जा बढ्दा ऋण ६० प्रतिशत र इक्विटी ४० प्रतिशत कायम भएको छ ।
कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५.५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरु ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुको ४.५ प्रतिशत, आयोजना प्रभावित रसुवाबासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण शेयर रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij