काठमाडौँ । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबीच लगानी सम्झौता भएको छ ।कम्पनीले लमजुङ जिल्लास्थित मस्र्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो ।
उक्त आयोजनाको कूल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको भनाइ छ ।अपर मस्र्याङ्दी हाइड्रोपावर–१ ले पौष १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै पौष ०९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवद्र्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् ।
उक्त परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवद्र्धक र संस्थापकहरूको लगानी रहने छ ।लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सह–अगुवा ग्लोबल आईएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक हुने विश्वास गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij