काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई यो वर्ष पनि लक्ष्य अनुसार धान किन्न सकस भएको छ । चालु आर्थिक वर्षमा करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको ७ लाख ७७ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पूरा नहुने देखिएको हो । कम्पनीले अहिलेसम्म एक लाख २० हजार क्विन्टल मात्र किन्न पाएको छ।कम्पनीले गत वर्ष ५ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा ५६ हजार क्विन्टल मात्र किन्न सकेको थियो।
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका कारण किसानले व्यवसायीलाई धान बिक्री गरेपछि कम्पनीलाई किन्न गाह्रो भएको जनाएको छ । कम्पनीकी बिक्री प्रबन्धक अम्बिका पौडेलले जनाए अनुसार यो वर्ष पौने ८ लाख क्विन्टलको लक्ष्य लिइएको छ । तर त्यो लक्ष्य पूरा नहुने देखिएको हो । २ लाख क्विन्टल खरिद हुन सक्ने देखिएको उनको आकलन छ ।
यस पटक पूर्वभन्दा पश्चिममा धान खरिद राम्रो भएको छ। पूर्वमा चामल मिल धेरै भएकोले व्यवसायीले किसानको खेतबाटै सरकारले तोकेभन्दा क्विन्टलमा १०० देखि १५० रुपैयाँसम्म बढी तिरेर खरिद गरेका छन् । किसानले समर्थन मूल्यभन्दा बढीमा बिक्री गर्न पाएका छन्। त्यो आफैमा राम्रो मानिएको छ ।
सरकारले चालु आर्थिक वर्ष धानको समर्थन मूल्य मोटाको प्रति क्विन्टल ३४१० र मध्यमको ३५८० रुपैयाँ तोकेको छ। कम्पनीका अनुसार पूर्वका व्यवसायीले किसानसँग प्रति क्विन्टल ३६०० देखि ४ हजार रुपैयाँसम्म धान किनेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij