
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २२ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक
डडेल्धुरा ।गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताउनुभएको छ ।
डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनुभयो । जनताको स्वतन्त्राताको कुनै विकल्प नरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताउनुभयो ।
“देशमा गणतन्त्र आएको छ, केही व्यक्तिले राजतन्त्र पुनःस्थापनाको कुरा गर्दैछन्, लोकतान्त्रिक व्यवस्थामा अब राजतन्त्रमा फर्किने सम्भावना छैन । निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडी होइन् अगाडी बढ्ने हो”, उहाँले भन्नुभयो ।
क्रेष्ट माइक्रो लाइफको आइपीओमा पहिलो दिनमै माग भन्दा ३.१८ गुणा बढी आवेदन
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । पहिलो दिन अर्थात् आज बिहीबार साँझसम्ममा ६ लाख ६५ हजार ४८८ जना सर्वसाधारण आवेदकहरुले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ३.१८ गुणा बढी हो ।
युनाइटेड इदी मर्दीको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ७०९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८१.७३ रुपैयाँ कायम भएको छ ।
एनआइसी एसिया बैंकको साधारण सभा सम्पन्न , ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौँ । आज काठमाडौंको आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न एनआइसी एसिया बैंकको वार्षिक साधारण सभाले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सभामा बैंकले १ सय रुपैयाँ अंकित मूल्यका अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। यस प्रस्तावअनुसार, बैंक ५ अर्ब रुपैयाँ बराबरको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नेछ।
यसका साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसम्बन्धी वार्षिक विवरणहरू छलफल र स्वीकृत गरिएको छ। बैंकले प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन र थप गर्ने प्रस्ताव पनि पारित गरेको छ।
राष्ट्रियसभाबाट पाँच अध्यादेश स्वीकृत
काठमाडौँ ।राष्ट्रियसभाको आजको बैठकले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाबाट बुधबार पारित भएका सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ तथा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई राष्ट्रियसभाले बहुमतबाट स्वीकृत गरेको हो ।
बजेट छलफल : सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह
काठमाडौँ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी तथा भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गर्नुभएको हो । उहाँले सङ्घीयतामा प्रदेश र स्थानीय तहले गर्ने काम सङ्घले गर्न जरुरी नरहेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेहरुमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ रहनुभएको छ ।
मारवाडी सेवा समितिको पक्षमा उच्च अदालतको आदेश ,अब निर्बाध रूपमा पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले चलाउन पाउने
काठमाडौँ । मारवाडी सेवा समितिले नै पशुपति गौशाला धर्मशाला सञ्चालन गर्न पाउने आदेश भएको छ ।काठमाडौं महानगरपालिकाले गौशाला धर्मशाला सञ्चालन गर्न पाउने गरी पशुपति विकास कोषसँग भएको सम्झौता खारेज भएको हो ।उच्च अदालत पाटनले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबीच भएको सम्झौता खारेज गरेको हो ।
बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्नुपर्ने आदेश दियो । मारवाडी सेवा समितिलाई अधिकार खोसेर कोषले गत असोजमा गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरसँग सम्झौता गरेको थियो ।
सार्वजनिक सेवामा लैङ्गिक सवालहरु र भावीमार्ग चित्रहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले नेपालको सार्वजनिक सेवामा लैङ्गिक सवालहरु र भावीमार्ग चित्रहरु विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । ११५औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च २०२५) को अवसरमा सडक विभागको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
मुलुक अब आत्मनिर्भरताको बाटोमाः प्रधानमन्त्री ओली
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।” प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताउनुभयो ।
निर्धारित समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नआएकाले मूल्याङ्कन गर्न सकिएनः ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्याङ्कन गर्न नसकेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री खडकाले गत भदौ मसान्तमा बुझाउनुपर्ने कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन गत पुस मसान्तमा बुझाइएकाले कार्यकारी निर्देशक घिसिङको मूल्याङ्कन गर्न नसकिएको जानकारी दिनुभयो । पटकपटक आग्रह गर्दा पनि घिसिङले मन्त्रालयलाई अटेर गरेर म्याद सकिएपछि मूल्याङ्कन गर्न भन्दै आफैँले नम्बर तोकेर पठाएकाले समस्या भएको उहाँको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले हुँदै नभएको नाफा देखाएको : ऊर्जा मन्त्री दीपक खड्काको
काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनभन्दा माथि हो भने संसद् भनिदिन आग्रह गरेका छन् । कुलमानमाथि प्रष्टीकरण सोधेको विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले कुलमानले समयभित्र कार्यसम्पादन मूल्याङ्कनका लागि समयभित्र अनुरोध नै नगरेको र मन्त्रालयले पत्राचार गरेपछि आफूले आफैँलाई नम्बर दिएर पठाएको बताए ।
ऊर्जामन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले हुँदै नभएको नाफा देखाएको आरोप समेत लगाएका छन् । उनले ट्रंक र डेडिकेटेड लाइनको उठ्न बाँकी भनिएको महसुललाई समेत नाफामा बाँधेर नाफा देखाइएको र यसैका आधारमा प्रिमियममा मूल्यमा जनतालाई शेयर जारी गर्न यो देखाइएको बताए ।
राष्ट्रियसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत
काठमाडौं । राष्ट्रियसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ स्वीकृत भएको छ।
बुधवारको राष्ट्रियसभा बैठकले अध्यादेश स्वीकृत गरेको हो।अध्यादेशमा विपक्षी दलहरूको तर्फबाट अस्वीकृत गर्ने प्रस्ताव परेको थियो तर राष्ट्रियसभाले बहुमतले अध्यादेश स्वीकृत गरेको हो।
प्रभु बैंकको ९ लाख ४७ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ९ लाख ४७ हजार २७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गर्नुभएको छ ।
महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो ।
आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।
प्रतिनिधिसभा शून्य समय : विकासमा विभेद हुने गरेको सांसदहरुको गुनासो
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नेक्रममा सांसदहरुले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने गरेको र विकासमा विभेद हुने गरेको गुनासो गरेका छन् ।
सांसद अनिसा नेपालीले राजनीतिक अस्थिरताका कारण विकास योजना प्रभावित बनेको धारणा राख्नुभयो । विकासमा पनि दलीय विभेद हुनेगरेको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदा विकास योजना छनोट र रकम विनियोजनमा विभेद नगर्न उहाँले आग्रह गर्नुभयो । त्यसैगरी सांसद अम्मरबहादुर थापाले मुलुकको हितमा भन्दा पनि कुनै व्यक्ति वा समूहलाई लाभ मिल्ने गरी बजेटमा योजना पारिने बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषिलगायत उत्पादनका क्षेत्रमा बजेट केन्द्रित गरिनुपर्ने उहाँको भनाइ छ । वितरणमुखी बजेट रोक्न उहाँले आग्रह गर्नुभयो ।
शेयर बजार : नेप्से परिसूचकमा २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा, १० अर्ब १० करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा आएको छ । आज १० अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ४ वटा समूहको सूचक बढेका छन् ।
यस दिन ३ सय ८ कम्पनीको २ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६करोड ७० लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । आज दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सगरमाथा जलविद्युत कम्पनी परेका छन् ।
आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
महोत्तरी । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो ।
उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्बोनेट उत्पादनको समेत अवलोकन गर्नु भयो । २ अर्व रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।
राष्ट्रियसभा सुरुः पाँचवटा अध्यादेश पेस हुँदै
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई बैठकमा पेस गर्न लागिएको हो । यी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेका छन् ।
सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते
सियोल । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका क्रममा बिहीबार दुर्घटनावश आठवटा बम गलत ठाउँमा खसालेको जनाएको छ ।
“एयर फोर्सको केएफ–१६ विमानबाट असामान्य रुपमा खसालिएका आठवटा एमके–८२ बम सामान्य उद्देश्यका लागि खसालिएको र ती निर्धारित फायरिङ रेन्जभन्दा बाहिर अवतरण भएका जानकारीमा आएको छ,” वायुसेनाले भनेको छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियासँगको सीमाबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको पोचेओनमा स्थानीय समयअनुसार बिहान १० बजे उक्त घटना भएको हो ।
वायु सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बमहरू गलत ठाउँमा खसालिएकोमा हामी गहिरो खेद प्रकट गर्दछौं । यसबाट हताहत भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने: ट्रम्प
वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिनुभएको छ । उहाँले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिनुभएको छ ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पोस्टमा भन्नुभएको छ, “सही निर्णय लिनुहोस्। बन्धकहरूलाई अहिले नै छोडिदिनुहोस्, नत्र पछि यसको परिणाम नरक हुनेछ१”
उहाँले भन्नुभएकोछ, “गाजाका जनताका लागि एक सुन्दर भविष्यले पर्खिरहेको छ तर यदि तपाईं बन्धकहरू रिहा गर्नुभएन भने त्यो सम्भव हुने छैन ।”
सोही पोस्टमा अमेरिकी नेताले हमासलाई भन्नुभएको छ, “सबै बन्धक र तपाईंले हत्या गरेका मानिसहरूका सबै शवहरू पछि होइन तुरून्तै अहिले नै फिर्ता गर्नुहोस्।”
स्वरोजगार लघुवित्तको १३.८९ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस सेयर वितरण घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको हो ।
हालै बिक्री गरेको १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ साधारण सभाको लागि हुने बुक क्लोज मितिभन्दा अगावै सूचीकरण भएमा एफपीओ पाउने लगानीकर्ताले पनि उक्त बोनस सेयर पाउने कम्पनीले जानकारी गराएको छ ।
"नयाँ गभर्नर नियुक्तिका लागि समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय"
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यहि चैत २४ गते सकिंदैछ । योसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो । गभर्नर अधिकारी भने चैत ५ देखि १५ गतेसम्म फोर्स लिभमा बस्नेछन् ।
धुम्बाराहीमा एक विद्युतीय बसमा आगलागी, स्थिति नियन्त्रणमा
काठमाडौँ । धुम्बाराहीमा विद्युतीय ऊर्जामा चल्ने इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जनाएका छन् ।
प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ कायम
काठमाडौँ । आज बिहीबार सुनको मूल्य प्रतितोला ३०० सय रुपैयाँ वृद्धि भएको छ । तीनदेखि निरन्तर मूल्य बढ्दै आएको सुनको मूल्य बिहीबार प्रति तोला १ लाख ७० हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
फागुन १९ गते तोलाको १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता तीन दिनमा २ हजार ६०० रुपैयाँले उकालो लागेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ९८५ रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि तीन दिनमा प्रति तोला ७० रुपैयाँ बढेको छ।
वीरगञ्जमा म्याग्नस फर्माले ‘इन्जेक्टेबल’ औषधि उत्पादन सुरु गर्दै, एक अर्ब लगानी बढाउने
वीरगञ्ज । वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।
कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताउनुभयो । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उहाँले बताउनुभयो ।
“कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ”, उहाँले भन्नुभयो ।
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।
यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ १७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८० पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij