Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

खुला बजारमा उद्योगीले मूल्य तोक्ने भन्दै मूल्य बढाउने उद्योगीहरूको पक्षमा उभिए उद्योगमन्त्री भण्डारी

खुला बजारमा उद्योगीले मूल्य तोक्ने भन्दै मूल्य बढाउने उद्योगीहरूको पक्षमा उभिए उद्योगमन्त्री भण्डारी

  • काठमाडौँ ।  उद्योगमन्त्री दामोदर भण्डारीले संसदीय समितिमा उद्योगीहरूको पक्षमा आफू रहेको बताएका छन् ।संसदीय समितिका सदस्यहरूसँगको छलफलमा उद्योग मन्त्री भण्डारीले  यस्तो बताएका हुन् ।प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकमा मन्त्री भण्डारीले खुला बजारमा वस्तुको भाउ उद्योगीले नै तोक्ने बताए।

    आफ्नै पार्टीका सांसद समेतको आलोचना खेप्दै आएका मन्त्री भण्डारीले कार्टेलिङ गरी सिमेन्ट डण्डीको मूल्य बढाउने उद्योगीहरूको पक्षमा आफूलाई उभ्याएको देखिएको पर्यवेक्षकहरूको भनाइ छ ।भण्डारीले भने ‘अहिले हामी खुला बजारमा छ। वस्तुको मूल्य व्यवसायीले निर्धारण गर्छ। हामीले अवलम्बन गरेको कानुनी व्यवस्थाले यही भनेको छ ।सरकारको काम भनेको नीतिमा रहेको जटिलता हटाउने हो। वस्तुको मूल्य त बजारले नै निर्धारण गर्छ।’

    सिमेन्ट र डण्डीको भाउ बढ्नुमा लोडसेडिङ लगायत अनेक कारण रहेको उनले जनाए ।उनले भने ‘हिजो हामीले लोडसेडिङमुक्त भयो भन्यौं। तर, आज पनि लोडसेडिङ छ। मूल्य बढेको विषय खोज्ने हो भने यसका अनेक कारण छन् ।अहिले उद्योगको अवस्था के छ समितिले नै अध्ययन गरोस्।’

    मन्त्री भण्डारीले हेटौंडा र उदयपुर सिमेन्टले प्रति बोरा १५० रुपैयाँ घाटा खाएको भन्दै उत्पादन लागतबारे मन्त्रालयले कार्यदल गठन गरेर अध्ययन गरिरहेको र चाँडै नै त्यसले प्रतिवेदन बुझाउने बताए।

    उनका अनुसार राष्ट्र बैंकले प्रत्येक महिना जारी गर्ने मुद्रा स्फीति दरभन्दा बढी भएमा त्यो नियन्त्रण हुन्छ। उद्योग पनि बचोस्, निर्माण पनि होस सम्झौता (नेगोसियसन ) गरिएको छ । सरकारले बनाएको कार्यदलले हप्ता १० दिन भित्र कस्ट अफ प्रोडक्सनबारे यथार्थ ल्याउने छ ।  उद्योगीले उद्योगमन्त्रीको साथ पाएर कार्टेलिङ गरी मूल्य बढाएको आफ्नै पार्टी एमालेका सांसदको भनाइको प्रतिवाद गर्दै भण्डारीले उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्ने भनी प्रतिप्रश्न गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij