
काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच द्विपक्षीय छलफल गर्नुभएको छ ।
आज यहाँ भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली श्रमिकको पक्षमा दीर्घकालीन हित हुने विषय प्रस्ताव गर्नुभयो । नेपाली महिला घरेलु कामदार युएई लैजाने सम्बन्धमा एक ‘पाइलट’ परियोजना अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रीकोे निजी सचिवालयले जनाएको छ ।
पछिल्लो समय अध्ययन गन्तव्यको रुपमा पनि विकास भएको युएईमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र निर्माण गर्न भौतिक पूर्वाधारसहित आवश्यक तालिम उपकरण उपलब्ध गराइदिन मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।
उहाँले युएईमा कार्यरत नेपाली कामदारको हकमा २४ घण्टा काम गर्दा बिमा लागू हुनुपर्ने प्रस्ताव गर्र्नुभयो । त्यसैगरी, नेपाली कामदारले पारिश्रमिक रेमिट्यान्समार्फत रकम नेपाल पठाउँदा लाग्ने चर्को शुल्क घटाउन आग्रह गर्नुभयो ।
मन्त्री भण्डारीले युएईमा रहेका कम्पनीले कर्पोरेट सामाजिक उतरदायित्व अन्तरगत नेपाली कामदारका लागि स्वास्थ्य, शिक्षा विकासका लागि खर्च गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij