Logo

Apr 29 2025 | २०८२, वैशाख १७गते

Apr 29 2025 | २०८२, वैशाख १७गते

images

जलवायु संरक्षण र हरित अर्थतन्त्र प्रवर्द्धनका लागि सगरमाथा संवादको तयारी द्रुतगतिमा

जलवायु संरक्षण र हरित अर्थतन्त्र प्रवर्द्धनका लागि सगरमाथा संवादको तयारी द्रुतगतिमा

  • काठमाडौँ । जलवायु संरक्षण र हरित अर्थतन्त्र  प्रवर्द्धनका  लागि सगरमाथा संवादको तयारी द्रुतगतिमा बढेको छ ।जेठ २ गतेदेखि तीन दिनसम्म चल्ने सगरमाथा संवादको तयारी द्रुतगतिमा बढेको हो ।सगरमाथा संवादका लागि ५० भन्दा बढी देशका करिब ३०० पाहुनालाई निमन्त्रणा गरिसकिएको छ । त्यसमध्ये अधिकांशले आउने सुनिश्चित गरिसकेका पनि छन् । तर अहिलेसम्म प्रमुख अतिथिको रूपमा झन् प्रभावकारी छनोट गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागिता इनकार गरेका छन् ।

    जेठ २ गते सोल्टीमा होटलमा साढे नौ बजे कार्यक्रम उद्घाटन गरिने जनाकारी दिइसकिएको छ । सगरमाथा संवाद कार्यक्रमको प्रमुख अतिथि भारतका प्रधानमन्त्री मोदीलाई बनाउने तयारी पूरा हुने नभएपछि अरुको खोजी भइरहेको छ ।

    परराष्ट्र मन्त्रालयका सहसचिव एवं सगरमाथा संवाद सचिवालयका सदस्य लोकबहादुर पौडेल क्षेत्रीले प्रमुख अतिथिको टुङ्गो लागिनसकेको  बताए । चीन, भारतलगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई निम्ता गरिएको छ ।  आउने सुनिश्चित भएपछि प्रमुख अतिथिबारे टुङ्गो लगाइनेछ ।

    जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य सगरमाथा संवादको मुख्य विषय रहने जनाइएको छ । पाँच वटा मूल विषयवस्तु (थिम)मा १२ वटा सत्र (सेसन) र तीन वटा विशिष्ट वृहत सत्र ( प्लेनरी सेसन)सहितका कार्यक्रमहरू दुई दिनसम्मका लागि तय गरिएका छन् । 

    पहिलो दिन ‘पर्वतभन्दा पर ः पर्वतलाई महासागर जोड्दै’ थिममा रहेर चार वटा सेसन सञ्चालन गरिनेछ । यसमा हिमनदीहरू संरक्षणको आवश्यकता , उच्च पहाडी भूभागलाई टापुहरूसँग जोडेर  खाद्य सुरक्षा र जलवायु अनुकूल कृषि, हिमालमा समुदायको नेतृत्वमा जलवायु सुधारका लागि चालिएका कदमहरूलाई समावेश  गरिएका छन् । 

    दोस्रो दिन अर्थात् जेठ ३ गते दोस्रो थिम ‘ हरित अर्थतन्त्र(ग्रीन इकोनोमी)मा सशक्त भविष्यः स्वच्छ ऊर्जाको उपयोग र पर्वतको प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा सत्र  सञ्चालन  गरिनेछ । हानि नोक्सानीबाट बच्ने र न्यूनीकरण गर्ने उपाय थिममा हिमालको जोखिम र मूल्याङ्कन, हिमालमा हुने क्षति र त्यसको सम्बोधन गर्ने  विषयवस्तुमा आधारित सत्रहरू  सञ्चालन गरिने कार्यक्रम रहेका छन् ।

    यसैगरी चौथो थिम मानवताको भविष्य र जलवायु न्याय विषयमा दिगो सहर तथा समुदाय, समावेशी भविष्य निर्माणः लैङ्गिक र अन्तरपुस्तागत समानता, हिमाली लचिलोपनका लागि विज्ञान र प्रविधिलाई जोड्ने काम र दिगो पर्वतीय अर्थतन्त्र गरी चार वटा सत्र समावेश गरिएका छन् ।क्षेत्रीय तथा विश्वव्यापी साझेदारी भनेर पाँचौँ थिममा विभिन्न क्षेत्रका विज्ञहरूले छलफल गर्ने आयोजकहरूले जनाएका छन् । 

    तेस्रो दिन अर्थात् जेठ ४ गते बिहान सगरमाथा संवादमा सहभागीहरूलाई सगरमाथाको अवलोकन गराउने कार्यक्रम तय गरिएको छ । सो अवलोकनपछि १० बजे सगरमाथा संवाद २०२५ घोषणापत्र जारी हुनेछ । दिउँसो एक बजे कार्यक्रम समापन हुने  जनाइएको छ । 

    जलवायु परिवर्तनले विश्व अर्थतन्त्रमा परेको असर , यसको असर कम गर्ने कार्यक्रमले अर्थतन्त्रमा पार्नेप्रभाव विश्वभरका विज्ञहरूका लागि चासोको विषय हो ।पर्वतीय क्षेत्रहरूमा यसबाट परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने कार्यक्रम पनि रहेको छ ।

    सगरमाथा संवाद लेखिएको लोगोसहितको झन्डा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक दन्तबहादुर छत्यालले सगरमाथाबाट फहराउने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त झण्डा हस्तान्तरण गरेपछि छन्त्याल त्यसतर्फ प्रस्थान गरिसकेको आयोजकहरूले बताएका छन् ।झन्डा हस्तान्तरण समारोहमा मुख्य सचिव एकनारायण अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति रहेको थियो ।

    हिमाली पर्यावरणमा देखिएका समस्यालाई विश्व मञ्चमा स्थापित गराई यसबाट हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले सन् २०१९ मा सगरमाथा संवादको स्थापना गरेको थियो ।राजनीतिक, कूटनीतिक, आर्थिक र वातावरणसम्बन्धी विषयलाई जोडेर अर्थ दिने गरी आयोजना हुन लागेको  यो सगरमाथा संवादमा उच्चपदस्थ अधिकारी, विज्ञ र सरकार प्रमुख तथा राष्ट्रप्रमुखको  सुनिश्चितताले आयोजनाको प्रभावकारिता तय हुने र प्रमुख अतिथिको चयन हुने अपेक्षा  परराष्ट्र मन्त्रालय सम्बद्ध अधिकारीहरूको रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij