Logo

Jul 11 2025 | २०८२, असार २७गते

Jul 11 2025 | २०८२, असार २७गते

images

अकाम होटल लिमिटेडको आम्दानीमा २४.८५ प्रतिशतको वृद्धि, तर नाफामा जान अझै चुनौती

अकाम होटल लिमिटेडको आम्दानीमा २४.८५ प्रतिशतको वृद्धि, तर नाफामा जान अझै चुनौती

  • काठमाडौं ।अकामा होटल लिमिटेडले सन् २०२४ मा २२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.८५ प्रतिशतले बढी हो। सन् २०२३ मा कम्पनीको आम्दानी १७ करोड ७० लाख रुपैयाँ थियो भने सन् २०२२ मा १० करोड रुपैयाँ मात्र थियो। यो विवरण रेटिङ संस्था केयर रेटिङ नेपाल ले सार्वजनिक गरेको हो।

    आम्दानीमा आएको सुधारको प्रमुख कारण होटलको अकुपेन्सी दरमा भएको उल्लेखनीय वृद्धि हो। अघिल्लो वर्षको ३० प्रतिशत अकुपेन्सी दर यो वर्ष बढेर ४६ प्रतिशत पुगेको छ। मिटिङ, सेमिनार र प्रदर्शनी कार्यक्रमको संख्यामा वृद्धि भएसँगै होटलको सेवा उपयोग दर पनि बढेको देखिएको छ।

    तर, आम्दानीमा वृद्धि भए पनि कम्पनी अझै नाफामा जान सकेको छैन। उच्च ब्याज खर्चका कारण अकाम होटलले सन् २०२४ मा घाटा व्यहोर्नुपरेको छ। ब्याजदरमा आउने उतारचढावले पनि लागतमा अनपेक्षित वृद्धि गराउने जोखिम रहेको छ, विशेष गरी फ्लोटिङ ब्याजदरको कारणले।

    कम्पनीले १ अर्ब १० करोड ५२ लाख रुपैयाँको बैंक कर्जाको रेटिङ पुष्टि गराएको छ, जसमा केयर एनपी बीबी रेटिङ दिइएको छ। यो रेटिङले कम्पनीमा मध्यम स्तरको वित्तीय जोखिम रहेको देखाउँछ — अर्थात्, कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न सक्छ, तर निश्चित जोखिमहरू कायम छन्।

    हालै अकामले ४५ लाख कित्ता साधारण सेयर आईपीओमार्फत बिक्री गर्ने तयारी गरिरहेको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृति मागेको छ। प्रतिकित्ता ५० रुपैयाँको दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने योजना रहेको छ।

    एजेन्सीको निष्कर्षअनुसार, यदि कम्पनीले आगामी दिनमा अकुपेन्सी दर र मुनाफा सुधार गर्न सक्यो भने यसको वित्तीय अवस्था र रेटिङमा सकारात्मक परिवर्तन आउन सक्ने सम्भावना छ। यद्यपि, होटल क्षेत्रको प्रकृतिमा आधारित दीर्घकालीन स्थायित्व अझै पनि कम्पनीका लागि चुनौती बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij