
काठमाडौँ । चालु आर्थिक वर्ष बित्न डेढ महिना मात्र बाँकी रहेम्म कर्जा लगानी ३ खर्ब ६४ अर्ब भएको छ ।चालु आवको साढे १० महिना अर्थात जेठ १६ गतेसम्म वाणिज्य बैंकहरुबाट भएको कर्जा लगानीको अवस्था यस्तो देखिएको हो ।वाणिज्य बैंकहरुले साउनदेखि जेठ १६ सम्म गरेको ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानीमध्ये अधिकांश लगानी हरेक त्रैमासिकको अन्तिम महिनामा भएको देखिन्छ ।
यस्तो कर्जा लगानीको हिस्सा ६० प्रतिशत रहेको छ । पहिलो त्रैमासिकको अन्तिम महिना असोजमा ५६ अर्ब, दोस्रो त्रैमासिक अन्तिम महिना पुसमा ९४ अर्ब र तेस्रो त्रैमासिकको अन्तिम महिना चैतमा ६५ अर्ब ऋण लगानी भएको देखिएको हो । त्यसमा पनि यी लगानीहरू अन्तिम महिनाको अन्तिम सातामा धेरै भएको देखिन्छ ।हरेक त्रैमासिकको अन्तिम महिनामा कर्जा लगानी धेरै भइरहेको र अन्य महिनामा कर्जा प्रवाहको अवस्था खुम्चिएको प्रवृति देखिन्छ ।
असोजमा ५६अर्बले बढेकामा कात्तिकमा २ अर्ब तथा चैतमा ६५ अर्बले बढेकामा वैशाखमा ४ अर्बले खुम्चिएको तथ्यांकबाट देखिन्छ । बैंकहरुको पुसमा ९४ अर्बले कर्जा लगानी बढ्दा माघमा भने घटेको देखिए । माघमा भने १२ अर्ब कर्जा लगानी भएको देखियो ।
कतिपयले ऋण असुली प्रभावित भएर खराब कर्जा बढिरहेका बेला वासलात सन्तुलित पार्न ऋण तिर्नका लागि पनि ऋण दिने गरेको आशंका गरेका छन् । राष्ट्र बैंकका पदाधिकारीहरूले यस्तो प्रवृतिलाई स्वाभाविकै रूपमा लिने गरेका छन् ।वाणिज्य बैंकहरूमाथि निगरानी राख्ने राष्ट्र बैंकका अधिकारीहरूका अनुसार त्रैमासिकको अन्तिममा कर्जा र निक्षेप दुवै बढेको देखिन्छ । यस्तोमा अस्वभाविक भन्न देखिँदैन् ।
बैंकहरुले त्रैमासिकको अन्तिम महिनाबाहेक साउनमा २ अर्ब, भदौमा ५३ अर्ब, मंसिरमा ४२ अर्ब, फागुनमा २३ अर्ब र जेठको १६ दिनमा २४ अर्ब कर्जा विस्तार भएको देखिन्छ ।चालु वर्ष साढे १० महिनामा बैंकहरुले ४ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij