
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २९ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
हिम स्टार ऊर्जा कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्दै
काठमाडौं ।हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (IPO) सार्वजनिक निष्कासन गर्ने भएको छ। कम्पनीले ३७ करोड ३० लाख रुपैयाँको जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ। यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।
नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बिहीबार कम्पनीका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकरण गरिएको हो।
कम्पनीले गत फागुन ८ गतेदेखि चैत १४ गतेसम्म २५ प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। लगानीकर्ताहरूले उक्त अवधिमा आवेदन दिएका सेयरहरू अब डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
शेयर बजार : नेप्से परिसूचकमा ७.१५ अंकले घटेर २६५७.३२ बिन्दुमा, १२ अर्ब ५१ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा नेप्से परिसूचकमा ७.१५ अंकले घटेर २६५७.३२ बिन्दुमा आएको छ । आज १२ अर्ब ५१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा र एउटा नकारात्मक लेबलमा कारोबार भएका छन् । होटल तथा पर्यटन समूहमा बढी उत्साह देखिएको छ ।
यस दिन ३ सय ११ कम्पनीको २ करोड ८६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।
एभरेष्ट कलरले सर्वसाधारणका लागि आईपीओ ल्याउँदै, लक्ष्मी सनराइज क्यापिटलसँग सम्झौता
काठमाडौं । आईएसओ प्रमाणित एभरेष्ट कलर प्रा।लि। ले सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्कासन गर्न लागेको छ। यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडसँग बिक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता सम्झौता गरेको हो।
बुधबार सम्पन्न सम्झौतामा एभरेष्ट कलरका प्रबन्ध सञ्चालक सरोज लुइँटेल र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
कम्पनीले निकट भविष्यमा ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने योजना बनाएको छ।
दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर बाँडफाँट, संस्थापक र सर्वसाधारण तर्फको अन्तिम मूल्य निर्धारण
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ ११ गतेदेखि २० गतेसम्म लिलामीमार्फत विक्री गरिएको अवितरित हकप्रद शेयर जेठ २८ गते बाँडफाँट गरेको छ। लिलामीमा कूल १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद शेयर विक्री खुला गरिएको थियो, जसमा सर्वसाधारण तर्फको लकइन अवधिमा रहेको ९३ हजार ६२९ कित्ता शेयर भने विक्री हुन सकेन।
कम्पनीले यसअघि १स्१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएका संस्थापक तर्फका १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण तर्फका लकइनमा रहेका १ लाख ६५ हजार ९५६ कित्ता र लकइनमा नरहेका ४ लाख ९५ हजार ६७९ कित्ता शेयर लिलामीमा ल्याएको थियो। बाँकी रहेका लकइन शेयर असार ७ गतेपछि फुकुवा हुने छन्।
स्वावलम्बन लघुवित्तले ५३,००० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्यायो
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आज, जेठ २९ गतेदेखि ५३,००० कित्ता संस्थापक सेयर लिलामी बिक्रीका लागि खुला गरेको छ। यसमा न्यूनतम मूल्य प्रति कित्ता ४३५ रुपैयाँ तोकिएको छ। इच्छुक आवेदनकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी, अन्य संघसंस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्नको लागि असार १२ गतेसम्मको समय तोकिएको छ। आवेदनहरू बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा प्रस्तुत गर्नुपर्नेछ।
प्रि ओपन सेसन : नेप्से सूचक ०.७५ अंकले बढ्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.७५ विन्दुले बढेको छ । यससँगै सूचक २६६५.२२ अंकमा आएको छ । २ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४२ कम्पनीको ४८ हजार ४ सय ४२ कित्ता सेयर कारोबार भएको छ ।
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक शुक्रबार १ बजे
काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ। बैठक सुरू भएलगत्तै विपक्षी सांसदहरू उभिएर विरोधमा उत्रिएपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम फिर्ता लिई बैठक स्थगित गरेका हुन्। अब प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।
सभामुख घिमिरेले सदनमा दलहरूलाई बोल्ने अवसर दिने र संसदको कार्यसूची अघि बढाउने वातावरण बनाउन आग्रह गरे पनि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन चल्न दिएनन्।
१ करोड ५० लाखको बैंकिङ कसुर मुद्दामा फरार हिरण्य कुमार मगर पक्राउ
काठमाडौं । १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हिरण्य कुमार मगर पक्राउ परेका छन्।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भइ हाल ललितपुर महानगरपालिका–१४ महालक्ष्मीमा बसोबास गर्दै आएका ४१ वर्षीय मगरलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले जेठ २९ गते पक्राउ गरेको हो।
‘देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ’ : वातावरणमन्त्री ऐनबहादुर शाही
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विदेशी काठ आयातलाई निरुत्साहित गर्दै नेपाली काठलाई प्रवर्द्धन गर्ने उद्देश्यले नीतिगत सुधारको तयारी भइरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ को सुझाव र समितिले वन तथा वातावरण मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयनबारे आज छलफल भएको थियो ।
‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजको आगो निभाउन सङ्घर्षरत भारत
नयाँदिल्ली ।भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ ।
चालक दलका २२ सदस्य बोकेको दुई सय ६८ मिटर ९आठ सय ७९ फिट० लामो सिङ्गापुर झण्डाको कन्टेनर जहाज एमभी वान हाई ५०३ मा आगो लागेको छ । तीमध्ये चार जना बेपत्ता छन् । यो जहाजमा सोमबार भारतको बेयपोर बन्दरगाहबाट लगभग ७८ समुद्री माइल टाढा आगो लागेको थियो ।
२२ महिनामा ४७ व्यवसायीविरुद्ध खाद्य मिसावट मुद्दा, रु ११ लाखभन्दा बढीका अखाद्य वस्तु नष्ट
बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१÷८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा झण्डै साढे तीन करोड बराबरको नेपाली र विदेशी मुद्रा बरामद
काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका मुद्रा गरी तीन करोड ४६ लाख ५५ हजार ८सय८० रुपैयाँ बराबर मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये एक करोड ९१ लाख बराबर नेपाली मुद्रा र एक करोड ५५ लाख बराबर भारतीय रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको हो ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख विवेक घिमिरेले जनाए अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका रकम बरामद भएको हो ।उनका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।
१० हजार मेगावाट बिजुली भारत निर्यात हुँदा नेपाललाई बर्सेनि ६ अर्ब कमाइ हुने
काठमाडौँ । १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपाललाई बर्सेनि ६ खर्ब कमाइ हुने आकलन गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तीमा ६ खर्ब कमाउने बताएका हुन् ।
मधेश प्रदेशको सर्लाही जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने अनुसार भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सकिए करिब–करिब ६ खर्बदेखि ७ खर्ब बर्सेनि कमाइ हुन्छ । त्यो भनेको हाम्रो ४५/५० खर्ब बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १५/२० प्रतिशत हिस्सा विद्युत् निर्यातबाट मात्र हुने छ ।
भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा
चितवन । व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो ।
बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५÷२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्ननै नसकेको गुनासो गरेका छन् ।
बिहीबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम
काठमाडौं । सुन बजारमा छापावाल सुनको मूल्य प्रति तोला १६ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ थियो। यस वृद्धि पछिल्लो समयको उच्चतम मूल्य हो र यसले सुनको बजारमा उत्साह थपेको छ।
यता, चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेर २१ सय ५० रुपैयाँ पुगेको छ। यसअघि बुधबार चाँदीको मूल्य २१ सय ६५ रुपैयाँ थियो।
ठाउँठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै
काठमाडौँ ।मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताउनुभयो । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उहाँले जानकारी दिनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij