Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ३ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ..

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ३ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ..

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ३ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू..

    देशभित्र भविष्य खोज्ने अभियानलाई तिव्रता दिनुपर्ने : अर्थमन्त्री विष्णु पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक समारोहमा “कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू” नामक पुस्तक विमोचन गर्दै उनले नेपालभित्रकै सम्भावनाहरूको पहिचान र उपयोगमा जोड दिए।

    उनले भने, “नेपाल प्रकृतिको वरदानका रूपमा चिनिएको देश हो, जहाँ थुप्रै सम्भावनाहरू छन्। तर, दुर्भाग्यवश अहिले पनि धेरै नेपालीले आफ्नो भविष्य विदेशमा खोजिरहेका छन्।”

     

    पौडेलका अनुसार, नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले धनी मुलुक हो। यस्ता स्रोत र सम्भावनाहरूको अधिकतम उपयोग गरेर देशलाई समृद्ध बनाउनु जरुरी रहेको उनले बताए।

    वीरगञ्ज भन्सार कार्यालयद्वारा ११ महिनामा ४५ अर्बभन्दा बढी राजस्व संकलन

    पर्सा ।सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा कूल ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार चालु आवमा राजस्व संकलनको प्रवृत्ति उत्साहजनक देखिएको छ।

    उनका अनुसार, साउन महिनामा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, र कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसपछि मंसिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड, र चैतमा ४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

    सुनचाँदी व्यवसायीको विलासिता करप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण, संवादबाट समाधान खोज्ने आश्वासन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित तीनवटै प्रमुख सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेटमा प्रस्ताव गरिएको दुई प्रतिशत विलासिता करसम्बन्धी प्रावधानबारे गम्भीर ध्यानाकर्षण गराएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली, र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकार सहभागी थिए। उनीहरूले विलासिता करको यस्तो व्यवस्थाले नेपाली सुनचाँदी उद्योगलाई धरासयी बनाउने बताउँदै, यसबारे पुनः विचार गर्न माग गरेका छन्।

    शेयर बजार  : नेप्से परिसूचकमा २.५९ अंकले घटेर २५६५.०६२६  बिन्दुमा, ७ अर्ब ६५ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा  २.५९ अंकले घटेर २५६५.०६२६  बिन्दुमा आएको छ । आज ७ अर्ब ६५ करोड बढीको सेयर कारोबार भएको छ ।

    आज एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३ सय ६ कम्पनीको १ करोड ६४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र ङादी ग्रुप पावर परेका छन् ।

    गभर्नर डा. विश्वनाथ पौडेलको चेतावनी: "ग्राहक ठगीमा संलग्न बैंकमाथि तुरुन्त कारबाही हुनेछ"

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरे तुरुन्त कडा कारबाही गरिने चेतावनी दिएका छन्। नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सर्वसाधारणको सम्पत्ति सुरक्षित राख्ने र बैंकको सेवा धेरै मानिससम्म पुर्‍याउने आफ्नो प्रमुख उद्देश्य भएको स्पष्ट पारे।

     

    गभर्नर पौडेलले ग्राहकलाई विभिन्न बहानामा समस्यामा पार्ने वा ठगी गर्ने बैंकलाई ूबिना कुनै छुट तुरुन्त कारबाहीू गर्ने बताएका छन्। उनले यो चेतावनी विशेषगरी त्यसपछि दिएका हुन् जब धनुषाका व्यापारीहरूले बैंकले ऋण लिएर फिर्ता गर्न नसक्ने ऋणीहरूको धितो लिलाम गर्ने गरेको गुनासो गरे।

    सेयर लगानीकर्ताहरूद्वारा सीडीएससीका नवनियुक्त सीईओ प्रविन पन्दाकलाई शुभकामना

    काठमाडौँ । सेयर लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्ने लगायतका आवश्यकताबारे ध्यान दिन आग्रह गरिएको छ ।सेयर लगानीकर्ताहरूको विभिन्न संघ संस्थाहरूले  मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दुर दराजका लगानीकर्तालाई सेवा पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै यस्तो बताएका हुन् ।

     

    सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल , नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाई , स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष  डिल्लिश्वर कार्की (रोहन)समेतले संयुक्तरूपमा एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् । केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङग लिमिटेडका नवनियुक्त सीईओलाई सफल कार्यकालको शुभकामना दिँदै जारी गरेको सो विज्ञप्तिमा आईपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउन , क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने, लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्ने जस्ता काम गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।

    ‘भिजिट भिसा’ प्रकरणले संसद अवरुद्ध, प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजेका लागि सारियो

    काठमाडौँ ।प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने भएको छ । ‘भिजिट भिसा’ प्रकरणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले निरन्तर सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको हो । 

     

      आज दिउँसो १ बजे बस्ने भनिएको बैठक पटक पटक सूचना टाँसेर समय परिवर्तन गरिए पनि बस्न सकेन । सदन सञ्चालन गर्नेबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा ९एमाले० बीच दुईबुँदे सहमति भएको छ । तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बैठक अवरोध गर्दै आएका छन् ।

    एमआइटीका वैज्ञानिक अनुसन्धानकर्ता शेर्पाले प्रधानमन्त्रीलाई भेटेपछि...

    काठमाडौँ । विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी ९एमआइटी० का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको छ । तीन महिना अघि स्वदेश फर्किएका शेर्पाले जनस्वास्थ्यका क्षेत्रका अनुसन्धान परियोजना सञ्चालन गर्दै आउनुभएको छ ।

     

     

    गत वर्ष संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको बोस्टनस्थित हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन भएका दिन त्यहाँस्थित विश्वविद्यालयमा विभिन्न विषयमा अध्यापन र अध्ययनरत नेपाली शिक्षक–विद्यार्थीहरूसँग संवाद गरी प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्न आग्रह गर्नुभएको थियो ।

    किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते

    किएभ ।युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ ।

     

     

    “आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेख्नुभएको छ, “आवासीय भवन, शैक्षिक संस्था र महत्त्वपूर्ण पूर्वाधार सुविधाहरू“ सबै प्रभावित भएका छन् । मृतकको सङ्ख्या १४ पुगेको छ । अहिलेसम्म किएभमा ४४ जना घाइते भएका छन् ।”

    सरकारले निजी ऊर्जा क्षेत्र सिध्याउने रणनीति ल्यायो : इप्पान अध्यक्ष गणेश कार्की

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याएको बजेटले निजी ऊर्जा क्षेत्रलाई सिध्याउने र नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा ध्वस्त पार्ने संकेत दिएको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो बजेट खपत र विद्युत् बिक्रीको यथार्थ नसमेटिएको, केवल ‘बिजुली बढी भयो’ भन्ने मानसिकतासहित प्रस्तुत गरिएको बताए।

    जुत्ता /चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली भइरहेको राजस्व अनुसन्धान विभागको निष्कर्ष,  बंशल ब्रदर्सलगायतका फर्म राजस्वको निगरानीमा

    काठमाडौँ । जुत्ता /चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली भइरहेको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ । राजस्व अनुसन्धान विभागले केही समययता जुत्ता /चप्पलको आयात  र कारोबारमा कैफियत देखेपछि अनुसन्धान गर्दा ठुलो मात्रामा राजस्व छली भइरहेकोे निष्कर्ष निकालेको हो ।
    अनुसन्धान विभागले केही समय अगाडि रसुवा भन्सार कार्यालयबाट आएका जुत्ता /चप्पल  लोड भएका गाडी सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट भन्सार भएर छुटेको गाडी र अन्य भन्सार कार्यालयबाट आएका गाडीहरू चेकजाँच गर्दा जुत्ता चप्पलको आयात र कारोबारमा  ठुलो मात्रामा राजस्व छली भएको निष्कर्ष निकालेको छ । विभागले जुत्ता /चप्पलआयात गर्दा न्यून बिजीकरण भएको र परिमाण फरक फरक भएको पाइएपछि जुत्ता /चप्पलमात्र लोड गरिएका गाडीहरूबाट मात्र झण्डै दुई करोड राजस्व (धरौटी) उठाएको छ । विभागले केहीलाई मुद्दा हालेको छ ।

    सरकार कर्मचारीको कूलिङ पिरियड हटाउनेबारे जुक्ति खोज्दै

    काठमाडौँ । कर्मचारीको कूलिङ पिरियड राखेर संसदबाट पारित गराउन लागिएको विधेयकबाट त्यो प्रावधान हटाउन उच्च पदस्थ कर्मचारीहरूले दबाब दिएका छन् ।उच्चपदस्थ कर्मचारीहरूको दबाबमा त्यो  विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको हो  ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा कुलिङ पिरियड राख्ने गरी विधेयक अगाडि बढेको भएपनि नराख्ने कोणबाट छलफल भयो ।राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीलाई अवाकाशपछि वा राजीनामा दिएपछि त्यसको दुई वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति नपाउने गरी कुलिङ पिरियड राखेर विधेयक प्रक्रिया अघि बढाइसकेको छ । तर उच्चपदस्थ निजामती कर्मचारीहरूको दबाबमा सरकार रहेको देखिएको छ ।

    कमल राज गौतमविरुद्ध २ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौँ तह)कमल राज गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

    गौतमले २०५५ सालदेखि २०७९ सालसम्म सरकारी सेवामा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ। अख्तियारका अनुसार उनले पेस गरेको आय विवरणमा वैधानिक रुपमा कुल २ करोड ८९ लाख रुपैयाँ आय देखिएको थियो। तर, सो अवधिमा उनले घर निर्माण, जग्गा खरिद, सवारी साधन किन्न, जनक शिक्षा सामग्री केन्द्रको ऋण तिर्न, शेयर तथा सुन खरिद, बीमा तथा बैंकमार्फत लगानीजस्ता शीर्षकमा झण्डै ५ करोड ४० लाख रुपैयाँ खर्च गरेका छन्।

    सभामुख र गृहमन्त्रीबीच सिंहदरबारमा छलफल : भिजिट भिसा प्रकरण र रास्वपाको मागमाथि कुराकानी

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबीच मंगलबार सिंहदरबारमा महत्वपूर्ण छलफल भएको छ। संसद् बैठक सुरु हुनु अघि भएको यो भेटवार्तामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

     

    छलफलमा अर्का प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसद्मा उठाइरहेको मागबारे पनि कुराकानी भएको बताइएको छ। रास्वपा भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।

    जी–७ बाट चाँडै बाहिर निस्कनु इजरायल–इरान युद्धविरामसँग ‘कुनै सम्बन्ध छैन’– ट्रम्प

    क्यालगेरी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट आफ्नो चाँडै प्रस्थानको इजरायल र इरानबीचको सम्भावित युद्धविरामसँग ‘कुनै सम्बन्ध नभएको’ भन्दै फ्रान्सका राष्ट्रपतिले अन्यथा सुझाव दिनु ‘गलत’ भएको बताउनुभएको छ ।

     

     

    “प्रचार खोज्न फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायल र इरानबीचको ‘युद्धविराम’ मा काम गर्न म क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट वासिङ्टन डिसीमा फर्किन गएको कुरा गलत रूपमा भन्नुभयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, “गलत१ उहाँलाई थाहा छैन किन म अहिले वासिङ्टन जाँदैछु, तर यसको निश्चित रूपमा युद्धविरामसँग कुनै सम्बन्ध छैन । त्योभन्दा धेरै ठूलो कुरा हो । जानाजानी होस् वा होइन, इमानुएलले सधैँ यसलाई गलत ठान्नुहुन्छ ।

    ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइनः अध्यक्ष दाहाल

    चितवन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताउनुभएको हो । दाहालले भन्नुभयो, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपार्इंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उहाँको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उहाँले बताउनुभयो । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उहाँको धारणा छ ।

    काठमाडौं महानगरद्वारा सडक र फुटपाथ खन्न दुई महिनाका लागि रोक

    काठमाडौं।काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि सडक र फुटपाथ खन्ने कार्यमा रोक लगाएको छ। महानगरको सार्वजनिक निर्माण विभागले सूचना जारी गर्दै यस अवधिमा खनाइसम्बन्धी स्वीकृति तथा सहमति नदिइने जनाएको हो।

     

    वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी आवागमन र पैदल यात्रामा अवरोध पुग्ने भएकाले हरेक वर्ष जस्तै यस वर्ष पनि खनाइमा अस्थायी रोक लगाइएको जनाइएको छ।

    मोदी इनर्जी लिमिटेडको विशेष साधारण सभा असार १९ गते, १००% हकप्रद सेयर प्रस्ताव पेस हुने

    काठमाडौं। मोदी इनर्जी लिमिटेडले आउँदो असार १९ गते विशेष साधारण सभा बोलाएको छ। सभा रानीमहल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

     

    सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, उक्त सभाबाट एक जना सञ्चालकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

    सन नेपाल लाइफ इन्स्योरेन्सको २७% हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन हो।

     

    कम्पनीले हाल कायम १ कित्ता सेयरको अनुपातमा ०.२७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर, अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो।

    मंगलबार सुनको भाउ तोलामा २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँ कायम

    काठमाडौं ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा झरेको छ ।यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर २१ सय ६० रुपैयाँ कायम भएको छ ।

    आजको मौसम : देशभर आंशिकदेखि मध्यम वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

     

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । ती  प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका हिमपातको सम्भावना छ ।

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij