
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई द्रुतगतिमा गर्न निर्देशन दिएका छन् । बिहीबार सो सडकको स्थलगत निरीक्षणपछि मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।काठमाडौँ जोड्ने यो छोटो सडक आर्थिक विकास र समृद्धिको सहयोगीसमेत बन्न सक्ने विश्वास व्यक्त गर्दै मन्त्री दाहालले सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिए ।
यो सडकबाट मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्नसमेत सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ । यसबाट आर्थिक विकासलाई पनि टेवा पुग्ने मन्त्री दाहालले विश्वास व्यक्त गरे । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नै पर्ने आवश्यकता आँैल्याए । विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताउँदै उनले यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माण द्रुतगतिमा गरी समयमै सम्पन्न गर्नुपर्ने बताए ।
यस्तै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौंवासीका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताए ।यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेको उनले बताए । सडक विभागका महानिर्देशक डा.विजय जैसीले कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने प्रतिबद्धता व्यक्त गरे ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढिसकेको छ । अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवजार खतिवडा, बुद्धिजीवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियालगायत सहभागी रहेका थिए ।सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक ८.५ किमि काठमाडौं र बाँकी मकवानपुरमा परेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij