Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

काठमाडौँ तराई मधेश द्रुतमार्गको लागत ९२ अर्बबाट २ खर्ब ११ बढेर गयो

काठमाडौँ तराई मधेश द्रुतमार्गको लागत ९२ अर्बबाट २ खर्ब ११ बढेर गयो

  • काठमाडौँ । सुरुमा ९२ अर्ब रुपैयाँ लागतको काठमाडौँ तराई मधेश द्रुतमार्गका लागि संशोधन हुँदै हाल २ खर्ब ११ अर्ब ९३ करोडको भएको छ ।राष्ट्रिय गौरवको आयोजनको रूपमा अगाडि बढाइएको काठमाडौँ तराई मधेशको द्रुतमागको यो लागत वृद्धि १३० प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

    आयोजना निर्माणको क्रममा पूर्वाधार थप हुँदै जाँदा र काममा भइआएको ढिलाईले लागत बढाएको हो । सुरुमा ९२ अर्ब अनुमान रहेकोमा पछि पूर्वाधार थपिएसँगै लागत १ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो । त्यसयता भएको संशोधन हुँदा १ खर्ब ७५ अर्बको लागत अनुमान गरिएयो । हाल मूल्य समायोजन र आकस्मिक खर्च समेत जोडेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ नाघेको निर्माण गरिरहेको नेपाली सेनाले जनाएको छ ।

    लागत बढेपनि आयोजनाको निर्माण कार्यमा तिव्रता दिएको सेनाको भनाई छ । आयोजनाको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत पुगेको जनाइएको छ । आयोजनामा सबैभन्दा जटिल मानिएका सुरुङ र पूल निर्माण कार्यले गति लिएको सेनाले जनाएको छ ।

    आयोजना अन्तर्गत तिन मुख्य सुरुङमार्गमध्ये धेद्रे र लेनडाँडाको ब्रेकथ्रु भइसकेको छ । सबैभन्दा लामो ३.३ किलोमिटरको महादेवटार सुरुङको निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भइसकेको छ । २ हजार २५० मिटरको चन्द्राम भीर सुरुङको १९९ मिटर कार्य पूरा भएको छ । साथै  देवीचौर सुरुङ, सिमौटार सुरुङ र मौरी भीर सुरुङको प्रोटोकलको कार्य भइरहेका छ । 

    सडक निर्माणमा पनि ९.३ मिटर सब बेस र ५ किलोमिटर कालोपत्रे सडक बनिसकेको छ । यसबाहेक, स्लोप प्रोटेक्सन, बाक्स कल्भर्ट,अप्छिकल फाइबर डक्ट र इलेक्ट्रिफिकेसन डक्टर जस्ता संरचनाहरुको काम पनि भइरहेको सेनाले बताएको छ । एनिमल अन्डरपास र इन्टरचेञ्ज निर्माणका कार्यहरु समेत भइरहेका  छन् ।

    आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्ममा कुल ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भएको थियो ।  गत आर्थिक वर्षमा मात्र १३ अर्ब ४५ करोड ७९ लाख रुपैयाँ बजेट खर्च भएको छ ।  राष्ट्रिय महत्वको यो दु्रतमार्गमा इन्जिनियरिङका हिसाबले महत्वपूर्ण प्रगति हासिल भएपनि बढ्दो लागत व्यवस्थापन गर्नु आयोजना र सरकारका लागि प्रमुुख चुनौती बनेको छ ।

    विशेषज्ञहरुका अनुसार लागत वृद्धिको मुख्य कारण समयमै काम सम्पन्न नहुनु, मूल्यवृद्धि र प्राविधिक समस्या हुन् । परियोजनाको पारदर्शिता र कार्यसम्पादनमा सुधार गर्न सरकारले र निर्माण संस्था दुवैले थप कदम चाल्नुपर्ने देखिन्छ । यो दु्रतमार्ग राष्ट्रिय विकास र राजधानीलाई तराईसँग जोड्ने महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ । नेपालको अर्थतन्त्रलाई कायाकल्प गराउने मध्येको एक प्रमुख आयोजना समयमा नबने यसले अपेक्षा गरेको समृद्धिको सपना तुहिनेमा कतिपयको चिन्ता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij