
काठमाडौँ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ लाई परिमार्जनसहित पारित गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा आज सिंहदरबारमा बसेको समितिको बैठकले जलस्रोत विधेयक, २०८१ सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो ।
प्रतिनिधिसभामा उत्पति भएको उक्त विधेयक प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा गहन छलफल भएर २०८१ चैत ११ गते पारित भएसँगै राष्ट्रियसभामा पुगेको थियो । राष्ट्रियसभाअन्तर्गतको विधायन समितिको १४ वटा बैठकमा गहन छलफल पछि उक्त विधेयक पारित भएको हो ।
जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवं व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्वयका आधारमा सुनिश्चित गर्न उक्त विधेयक ल्याइएको हो ।
बैठकमा ऊर्जामन्त्री खड्काले वृहत छलफल र मेहनतपछि विधेयक पारित भएकामा समितिका सभापतिसहित सबै सदस्यलाई धन्यवाद दिनुभयो । विधेयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्वसम्मत पारित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
विसं २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी गत वर्ष असार २५ गते दफाबार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो । पूर्वाधार विकास समितिमा नौ महिना छलफलपछि विधेयक पारित भई राष्ट्रियसभामा पुगेको थियो ।
विधायन व्यवस्थापन समितिका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकार भएकाहरू, विज्ञबाट प्राप्त सुझावलाई आधार मानेर विधेयकलाई परिमार्जनसहित पारित गरिएको समितिका सभापति तुलसाकुमारी दाहालले जानकारी दिनुभयो ।
उक्त विधेयक साउन २३ गते बस्ने राष्ट्रियसभाको बैठकमा पेस गरिने सभापति दाहालले बताउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij