Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा

पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगको अनुसन्धानमा यादवसँग भएको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि नभएको पाइएको छ। बिहीबार (साउन २९) विशेष अदालतमा दायर मुद्दामा यादवमाथि पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ। आयोगले अवैध रूपमा आर्जित सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा रहेको देखाउँदै त्यसलाई जफत गर्न माग गरेको छ।

    आयोगका अनुसार, ०६६ जेठ २४ देखि ०७९ साउन २९ सम्मको अवधिमा यादवले घरजग्गा खरिद, निर्माण, कर्जा भुक्तानी, सेयर खरिद, शैक्षिक खर्च, बिमा प्रिमियम र बैंक खातामा जम्मा गरी ३ करोड ६५ लाख चार हजार ४५३ रुपैयाँ ९१ पैसा लगानी गरेका छन्।

    पारिश्रमिक, भत्ता, बिमा रकम, हिमाल आरोहण पारिश्रमिक, परामर्श सेवा शुल्क, घरबहाल, बैठक भत्ता, कर्जा, कृषि आय, जग्गा बिक्री र बैंक ब्याजमार्फत यादव र परिवारका नाममा २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसाको वैधानिक स्रोत देखिएको छ। बाँकी सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकिएको हुँदा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

    आयोगले यादवले सार्वजनिक पदको दुरुपयोग गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको ठहर गरेको छ। आयोगले बिगोबराबर जरिवाना र कैद सजायको माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij