Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

घट्दो ब्याजदरबीच जीवन बीमा कम्पनीको मुद्दती निक्षेप १३.८४% ले बढ्यो

घट्दो ब्याजदरबीच जीवन बीमा कम्पनीको मुद्दती निक्षेप १३.८४% ले बढ्यो

  • काठमाडौँ । घट्दो ब्याज दरका बाबजुद जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप रकम बढाएका छन्।
    आर्थिक वर्ष २०८०/८१ मा १४ वटा जीवन बीमा कम्पनीहरुले विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा ५ खर्ब २१ अर्ब ३६ करोड १६ लाख रुपैयाँ मुद्दती निक्षेपमा राखेकाेमा २०८१/८२ मा यो रकम १३.८४ प्रतिशतले बढेर ५ खर्ब ९३ अर्ब ५१ करोड २७ लाख रुपैयाँ पुगेको छ।

    जीवन बीमा कम्पनीहरुले आफूसँग भएको लगानीयोग्य रकमको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा राख्ने गरेका छन्। यद्यपि, अहिले संस्थागत निक्षेपको ब्याज दर ३ प्रतिशतभन्दा तल झरेको भए पनि लगानी निर्देशिकाले मुद्दती निक्षेपमा राख्नै पर्ने बाध्यता भएकाले निक्षेप रकम बढेको हो।

    तथ्यांक अनुसार सबैभन्दा बढी मुद्दती निक्षेप नेपाल लाइफ इन्स्योरेन्सको छ। आव २०८०/८१ मा नेपाल लाइफको निक्षेप १ खर्ब ५१ अर्ब ३७ करोड १० लाख रुपैयाँ रहेकोमा १२.५८ प्रतिशत वृद्धि भई २०८१/८२ मा १ खर्ब ७० अर्ब ४१ करोड ६० लाख रुपैयाँ पुगेको छ।
    त्यसपछि क्रमशः लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, नेसनल लाइफ, हिमालयन लाइफ, राष्ट्रिय बीमा संस्थान, सूर्य ज्योति लाइफ, मेट लाइफ, एसियन लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, रिलायवल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, आईएमई लाइफ र सन नेपाल लाइफ रहेका छन्।

    गत आवमा सबैभन्दा बढी २५.७५% वृद्धि राष्ट्रिय बीमा कम्पनीको मुद्दती निक्षेपमा भएको छ भने सबैभन्दा कम ५.१८% वृद्धि हिमालयन लाइफको भएको छ।

    आव २०८१/८२ को तथ्यांक अनुसार कुल मुद्दती निक्षेप रकममध्ये करिब ९० प्रतिशत वाणिज्य बैंकमा डिपोजिट भएको छ। उक्त वर्ष वाणिज्य बैंकमा ५ खर्ब ३२ अर्ब ४९ करोड १४ लाख रुपैयाँ, विकास बैंकमा ४८ अर्ब ७० करोड २८ लाख रुपैयाँ, फाइनान्स कम्पनीमा ७ अर्ब ६४ करोड ८५ लाख रुपैयाँ र पूर्वाधार बैंकमा ४ अर्ब ६७ करोड रुपैयाँ मुद्दती निक्षेप रहेको देखिन्छ।

    अघिल्लो आव २०८०/८१ मा भने वाणिज्य बैंकमा ४ खर्ब ६१ अर्ब ११ करोड ७५ लाख रुपैयाँ, विकास बैंकमा ४३ अर्ब ९९ करोड १५ लाख रुपैयाँ, फाइनान्स कम्पनीमा ६ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ र पूर्वाधार बैंकमा ९ अर्ब २७ करोड ४० लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा जम्मा भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij