Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

नेपाल–चीन सचिवस्तरीय बैठक मंगलबार, बीआरआई कार्यान्वयन ढिलाईबारे छलफल हुने


नया सडक

२०८१, असार १० सोमबार

  • 597
    Shares

  • नेपाल–चीन सचिवस्तरीय बैठक मंगलबार, बीआरआई कार्यान्वयन ढिलाईबारे छलफल हुने

    काठमाडौं । नेपाल चीनबीच भएका सम्झौताहरूको कार्यान्वयनका विषयमा छलफल गर्न दुई देशबीचका उच्च पदस्थ अधिकारीहरूबीच छलफल हुने भएको छ ।नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक मंगलबार काठमाडौंमा हुने भएको हो । आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे बैठकमा छलफल हुनेछ ।
    मंगलबार  हुने बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले नेतृत्व गर्नेछन् । 

    उपविदेशमन्त्री सुनले नेपालको तीनदिने भ्रमणमा रहने गरी बैठकमा भाग लिने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।परराष्ट्रका अधिकारीहरूका अनुसार नेपाली पक्षले बैठकका एजेन्डाहरू तयार पारिसकेको छ । चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवद्र्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुनेछ । व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे छलफल हुनेछ ।

    राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने सम्झौता नेपाल र चीनबीच  भइसकेको छ । व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय पनि भइसकेको छ । तर  हालसम्म बैठक बस्न सकेको छैन । यसैगरी सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुनेछ ।नेपाल र चीनबीच रसुवागढी–केरुङ सीमापार २२० केभी प्रसारण लाइन निर्माणबारे सम्झौता भइसकेको छ तर काम अघि बढ्न सकेको छैन । सन् २०२३ को अप्रिलमा बेइजिङमा बसेको बैठकमा नेपाली पक्षले चिनियाँ पक्षलाई नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्न आग्रह गरेको थियो ।

     नेपाली पक्षले उठाउने अन्य एजेन्डाहरूमा नेपाल–चीन सीमापार रेलमार्ग हो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा रेलमार्ग निर्माणको लागि अध्ययन गर्ने सहमति भएको थियो । चीनले प्रारम्भिक गृहकार्यका लागि बेइजिङबाट पठाएको टोलीले विस्तृत परियोजना रिपोर्टमा काम गरिरहेको छ ।नेपालले सन् २०१६ मा भएको यातायात र पारवहन सन्धि कार्यान्वयनमा पनि जोड दिनेछ । नेपालले उक्त सन्धि र सन् २०१८ मा भएको प्रोटोकल सम्झौताअनुसार हालसम्म भियतनामबाट बेसार आयात र नेपालबाट दक्षिण कोरियामा चाउचाउ निर्यात हुन सकेको छ । यस्तै नेपाल र चीनबीच यसै साता बेइजिङमा भएको नापी विभागका महानिर्देशकस्तरीय द्विपक्षीय बैठकबाट प्राप्त सुझावबारे पनि छलफल हुने परराष्ट्रका अधिकारीहरूको भनाइ छ । 

    बैठकमा चीनले सन् २०१७ मा नेपाल र चीनबीच सम्झौता भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को प्रगतिबारे  छलफल गर्ने अपेक्षा गरिएको छ । सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौता र फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतालाई चीनले उठाउने आकलन गरिएको छ । यी दुवै सम्झौता राष्ट्रपति सीको नेपाल भ्रमणका बेलामा भएको थियो ।  यसअघिको संघीय संसद्को सचिवालयमा यसअघि पेस पनि गरिएको थियो । तर सचिवालयमै थन्किएर बसेपछि चिनियाँ पक्षले चासो देखाइरहेको छ ।

    बैठकमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र त्यहाँका कर्मचारीहरूलाई भने बोलाइएको छैन । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल पनि सहभागी हुनेछन् । दुई देशबीच कर्मचारीस्तरमा द्विपक्षीय विषयमा छलफल गर्ने यो माथिल्लो संयन्त्र हो । संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो ।पछिल्लो समय बीआरआईको विषयमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेकाले चीनले बीआरआईको विषयलाई सो बैठकमा सशक्तरुपले उठाउने परराष्ट्र स्रोतले जनाएको छ । अमेरिकाको एमसीसी सम्झोतामा नेपाल पक्षले देखाएको तदारुकता जस्तो चीनको बीआरआईको विषयमा नदेखिएकोले चिनियाँ पक्षको चिन्ता चासो बढेको हो ।

    प्रतिक्रिया दिनुहोस