काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ ल्याउन लागेको छ । यसअघि २०७१÷७२ लाई आधार वर्ष मानेर गणना भई आएकोमा यो वर्षबाट २०८०÷८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्न लागिएको हो ।त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो ।
केन्द्रीय बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ मूल्य भार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यता अनुसार आधार वर्ष परिवर्तन गरिएको छ ।पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपर्ने कारण आधार वर्ष परिवर्तन भएको जनाइएको छ ।
साथै देश संघीयतामा गएपछि संघीय संरचना अनुसार तथ्यांक संकलन गर्न पनि आधार वर्ष परिमार्जन भएकाले नयाँ आधार वर्षमा उपभोक्ता मूल्य सूचकांक गणनामा भएको बैंकका अधिकारीहरू बताउँछन् ।उनीहरूका अनुसार १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिएको छ ।
यसमा प्रत्येक साता ५९ वस्तु तथा सेवा मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रूपमा ३ सय ७२ वस्तु तथा सेवाको मूल्य संकलन गर्ने गरिन्छ ।पुरानो आधार वर्ष अनुसार खाद्य तथा पेय पदार्थ समूहको भार ४३.९१ प्रतिशत रहेकोमा नयाँ आधार वर्षमा ४५.७९ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको भार ५६.०९ बाट ५४.२१ प्रतिशत भएको छ ।सातै प्रदेशको उपभोक्ता मूल्य सूचकांक पनि निकालिने राष्ट्र बैंकका अधिकारीहरूले जनाएका छन् ।