काठमाडौँ । दशैँका लागि निजी क्षेत्रले खरिद गरेको च्यांग्राको पहिलो खेप काठमाडौँको खसीबजारमा आइपुगेको छ । चौपाया खरिद बिक्री संघका अध्यक्ष जनकराज खड्काले च्यांग्रा आजै ल्याएको बताएका हुन् । पहिलो खेपमा १५० देखि १६० वटासम्म च्यांग्रा बजारमा ल्याइएको छ । मुस्ताङबाट गत आइतबार ५ हजार च्यांग्रा सिफारिस लिएर हिँडाइए मध्ये पहिलो खेप काठमाडौंँ आइपुगेको छ ।
च्यांग्राको मूल्य प्रतिकेजी १२५० देखि १३०० रुपैयाँ रहेको छ। खसी प्रतिकेजी ७ सय रुपैयाँ छ ।बाढीपहिरोले गर्दा यसपटक च्यांग्रा र खसीबोका उपत्यकाको बजारमा ल्याउन गाह्रो भएको छ । शनिबारदेखि बाटोमा रोकिएको करिब १५ सयदेखि २ हजार वटा खसीबोका बुधबार मात्रै खसीबजारमा आइपुगेको थियो ।
दशैँको घटस्थापना बिहीबार छ। भोलिदेखि सुरु हुने दशैँका लागि थप खसीबोका बजारमा आइपुग्ने व्यवसायीहरूले बताएका छन्। मौसम अनुकूल र बाटो सहज भए दशैँका लागि २२ हजार खसीबोका र ५ हजारको हाराहारीमा च्यांग्रा ल्याउने तयारी निजी क्षेत्रका व्यवसायीको छ। मुस्ताङबाट बिक्रीका लागि म्याग्दी, बागलुङ र पर्वत हुँदै ल्याइने च्यांग्राको खपत पोखरामा अधिक हुन्छ ।