
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज फागुन २० गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाखरुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई जारी गरेको हो ।
कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसमा आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्मको दागि आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारमा रहेका नेपालीले पनि न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीयले यस कम्पनीको आइपीओमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij