Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २० मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २० मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २० मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    हिमालय एयरलाइन्सले चैत्र १८ गतेबाट पोखरा ल्हासा उडान गर्ने

    काठमाडौँ। पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो ।

     

    सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने उद्देश्यसहित सुरु गरिने यो उडानले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि व्यावसायिक उडानले निरन्तरता पाउन सकेको छैन । यस्तो अवस्थामा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्दा चिनियाँ पर्यटक भित्रिने आशा जागेको व्यवसायीहरुको प्रतिक्रिया छ ।“पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुँदा व्यवसायीहरूमा ठूलो आशा थियो, तर अपेक्षाकृत अन्तरराष्ट्रिय उडान नहुँदा त्यो उत्साह केही अधुरो भएको थियो, अब भने पोखराबाट चीनको ल्हासासम्म उडान सञ्चालन हुने खबरले पर्यटन क्षेत्रमा नयाँ आशा जागेको छ”, होटेल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले भने, “यसले विशेषगरी चिनियाँ पर्यटकको आगमन बढाउने मात्र होइन, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले उडानसँगै नेपालले प्रभावकारी रणनीति अपनाएर चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न सकिने बताए ।

    सांग्रिला डेभलपमेन्ट बैंकको ४३ हजार संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    कुनै पनि बहानामा श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ ।

     

     

    नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट०द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भन्नुभयो ।

     

    श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रमिक रोजगारदातामा रुपान्तरण हुनसक्ने भएकाले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

    बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री

    काठमाडौँ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

     

     

    प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताउनुभयो । 

     

    “भन्सार विधेयकसँगै वाफिया र धितोपत्रसम्बन्धी विधेयकमाथिको छलफल चाँडो सकेर चैत मसान्तभित्र समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पुग्नेछ भन्ने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो ।

    आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आजदेखि ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न सुरु गरेको छ। यस सेयर बिक्रीमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्तिगत र संस्थागत लगानीकर्ताले पनि बोलपत्र पेश गर्न सक्नेछन्।सेयरको प्रतिकित्ता न्यूनतम २११ रुपैयाँ तोकिएको छ, र लगानीकर्ताले यस मूल्यलाई आधार मानेर लिलाम बढाबढमा भाग लिन सक्नेछन्। आवेदकहरूले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

     

    यस सेयर लिलामीको बिक्री प्रबन्धक प्रभु क्यापिटल हुनेछ, र बोलपत्र पेश गर्नका लागि काठमाडौंको कमलादी स्थित कार्यालयमा पुग्नुपर्नेछ।

     

    महासंघको नेतृत्वमा १० अर्ब पूँजीको कम्पनी स्थापना गरी लगानीमैत्री वातावरणको निर्माणमा सक्रिय प्रयास : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक प्रगति र रोजगार सृजनाका लागि लगानीमैत्री वातावरणको आवश्यकता रहेको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको सक्रिय पैरवी निरन्तर जारी रहने बताएका छन्। उनले महासंघअन्तर्गतका विभिन्न वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार महासंघमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उक्त धारणा राखेका हुन्।

     

    अध्यक्ष ढकालले देशमा थुप्रै लगानीका सम्भावनाहरू रहेका र ती सम्भावनाहरूलाई अवसरमा बदल्नको लागि सही वातावरणको आवश्यकता रहेकोमा जोड दिए। उनले भने, ूहामी प्रायः हरेक विषयलाई नकारात्मक दृष्टिकोणबाट हेरिरहेका छौं, तर यदि सकारात्मक दृष्टिकोण अपनायौं भने स्वदेशमै थुप्रै सम्भावनाहरू छन्, जसबाट हामी रोजगार सिर्जना गर्न सक्छौं।ू

    ढकालले सानो–सानो लगानीबाट पनि देशमा पूँजी निर्माण गर्न र त्यस पूँजीलाई परिचालन गरेर पूर्वाधारको विकास गर्न सकिने कुरामा विश्वास व्यक्त गरे। यस क्रममा महासंघको नेतृत्वमा १० अर्ब पूँजीको लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको जानकारी समेत दिए।

    ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने

    काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ । 

    त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने चैत १२ गतेसम्म म्याद थप हुनेछ ।

    ङादी ग्रुप पावरको ८ लाख ७३ हजार कित्ता सेयर लिलामी खुला

    काठमाडौं । ङादी ग्रुप पावरले आज फागुन २० गते मंगलबारदेखि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागु २८ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । 

     

    यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

    आजदेखि पियोर इनर्जी लिमिटेडको आइपीओ  बिक्री खुला

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज फागुन २० गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाखरुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई जारी गरेको हो । 
    कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    सुनचाँदीको मूल्यमा वृद्धि, आजको कारोबारमा नयाँ रेकर्ड

    काठमाडौँ । आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला रू एक हजार चार सय र चाँदीको मूल्य प्रतितोला रू २५ बढेको हो।

    सोमबार प्रतितोला रू एक लाख ६८ हजार एक सयको मूल्यमा कारोबार भइरहेको सुन आज बढेर प्रतितोला रू एक लाख ६९ हजार पाँच सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

     

    त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोला रू एक हजार नौ सय ४० मा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औंस २,८९२ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।

    सरकार र उद्योगीबीच ग्यासको मूल्य रु १२ बढाउने सहमति

    काठमाडौँ  ।सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन् ।

     

    सहमतिको १ नम्बर बुँदामा भनिएको छ, “मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीलाई जानकारी गराइयो ।” सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर रु एक हजार नौ सय १० बाट बढेर एक हजार नौ सय २२ रूपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो ।

    बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

    काभ्रेपलाञ्चोक  गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ । आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाइ बनाउने तथा अप्ठेरो भएको स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ ।

    पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि

    काठमाडौँ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ । ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ । त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन ।

    सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐनको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

    भजनी (कैलाली)  ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो परिमाणमा कारोबार भइरहेको सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ कैलालीको १२औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देशको अर्थतन्त्रमा व्यवसायीको भुमिका अतुलनीय रहेको बताउनुभयो । व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्ने कार्यमा राज्य चुक्न नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “व्यावसायिक वातावरण सिर्जना हुँदा त्यसले अर्थतन्त्रलाई मात्रै नभई रोजगारी पनि सिर्जना हुन्छ ।” देश सङ्घीय प्रणालीमा गइससकेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चापदार्थको उपलब्धता प्रदेश तहबाट हुन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । “हामीले बनाएका केही ऐन कानुन संसोधन गर्नुपर्ने स्थिति आएको छ ।

    "सशस्त्र प्रहरीको टोलीद्वारा केरुङबाट ल्याइएका अवैध सामग्री भन्सार कार्यालयलाई हस्तान्तरण"

    सुवा । सशस्त्र प्रहरी बलको टोलीले भन्सार छली लुकाईछिपाई केरुङ हुँदै चीनबाट ल्याइएका उपभोग्य वस्तु एवं लत्ताकपडा बरामद गरी स्थानीय टिमुरे भन्सार कार्यालयलाई बुझाएको छ ।

     

    धुन्चेस्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्मले चीनतर्फबाट ल्याइएका चक्लेट, ओेखर, सस, टिमुरको तेल, जुत्ता तथा कपडालगायत सामग्री बरामद गरी भन्सार कार्यालय टिमुरेलाई बुझाएको हो ।

     

    केरुङबाट रसुवागढी हुँदै बिक्रीका लागि काठमाडौँतर्फ लाँदै गरेको अवस्थामा ती सामान बरामद गरिएको हो । सशस्त्र प्रहरीले सार्वजनिक यातायातमा  नियमित जाँच गर्ने क्रममा आज ती सामान बरामद गरी नियमानुसार भन्सार कार्यालयमा बुझाएको जनाएको छ । 

    कुनै पनि बहानामा श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ ।

     

     

    नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट०द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सले पनि न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन पाइँदैन भन्नुभयो ।

     

    श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रमिक रोजगारदातामा रुपान्तरण हुनसक्ने भएकाले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

    कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा

    काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । 

     

     

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

     

    यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभईकन कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्न सकिने तथा यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट टुङ्गो लगाइने व्यवस्था मिलाइएको जनाइएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेडले आर्टिफिसिएल इन्टेलिजेन्स र मेसिन लर्निङसम्बन्धी ह्याकाथनको  आयोजना गर्दै

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ ।  बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको हो ।  यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतीहरुको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।

     

    प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ । ग्लोबल आइएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ । डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नवीनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

    नेपाल राष्ट्र बैंकको नयाँ कर्जा प्रबन्धन: फलफूल खेती र अन्य परियोजनामा १% साधारण कर्जा नोक्सानी

    काठमाडौँ । व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि एक प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । 

     

    नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार रेशम, जुट कपासलगायत कृषिखेती र व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किबी, ड्र्यागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलफूलखेतीका लागि लिइने कर्जामा उक्त प्रबन्ध गरिएको हो । 

    त्यस्तो कर्जाको ग्रेस अवधि चार रहेको अवस्थामा पहिलो वर्ष शून्य दशमलव २५ प्रतिशत, दोस्रो वर्ष शून्य दशमलव ५० प्रतिशत र तेस्रो वर्ष शून्य दशमलव ७५ प्रतिशत र चौथो वर्ष एक प्रतिशत मात्रै साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने निर्देशनमा उल्लेख छ । 

     

    एक वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जालगायत पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा प्रवाहित भएको असल कर्जाको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुतपातिक रुपमा कर्जा नोक्सानीको व्यवस्था गरी अन्तिम वर्ष एक प्रतिशत मात्रै सामान्य कर्जा नोक्सानीको प्रबन्ध गरिएको छ । यसअघि त्यस्तो कर्जाको व्यवस्था एक दशमलव १० प्रतिशत थियो ।

    सुर्खेत-जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने, माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडे

    काँक्रेविहार ।कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो ।

     

    सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी तीन विमानस्थल विस्तारका लागि थप बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । मन्त्रालयका शाखा अधिृकत प्रकाश पोखरेलका अनुसार विमानस्थल विस्तारका लागि अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितता गरिदिन अनुरोधसहित प्रस्ताव गरिएको छ ।

    तीनवटै विमानस्थल विस्तारका क्रममा आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएबमोजिम फागुन १५ गते बसेको मन्त्रिस्तरीय बैठकले स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको छ । सोहीअनुसार दाङ टरिगाउँ विमानस्थल जग्गा अधिग्रहणका लागि रु पाँच अर्ब लागत अनुमान गरिएकामा रु एक करोड विनियोजन र रु ९९ करोड स्रोत सुनिश्चितताको माग गरिएको छ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । 

     

    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९० पैसा निर्धारण भएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij