
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २१ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
शेयर बजार : नेप्से परिसूचकमा २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा, १० अर्ब ९७ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा आएको छ । १० अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ट्रेडिङबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छ ।
यस दिन ३ सय ८ कम्पनीको २ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९६करोड ७० लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । आज दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सगरमाथा जलविद्युत कम्पनी परेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले कम्पनीको आईपीओ फागुन २२ गते बिहान ८ः३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ९७७ जना आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
भुजुङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने , साधारण सभा फागुन १९ गते
काठमाण्डौ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । गत फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
बैठकले सभा आगाी चैत २१ गते बिहिबारका दिन काठमाण्डौको बसुन्धारामा रहेको दियालो फूडल्याण्ड एण्ड पार्टी प्यालेसमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा कम्पनीको प्राथमिक सार्वजनिक निष्कासन९आईपीओ०गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट संशोधन गर्न निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
"आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया सुरु: अर्थमन्त्री पौडेलको प्रतिबद्धता र निर्देशन"
काठमाडौँ ।अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ । सोही क्रममा मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बद्ध विभाग र निकायसँग परामर्श गरेको छ ।
उक्त अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट अनुशासित र यथार्थपरक हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । यथार्थपरक बजेट ल्याउँदा आर्थिक वर्षको बीचमा रकमान्तर तथा संशोधनको आवश्यकता नपर्ने र कार्यान्वयन गर्न सहज हुने उहाँको भनाइ छ ।
मन्त्रालयगत छलफलका क्रममा अर्थमन्त्री पौडेलले बजेट निर्माणमा विगतका अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै, सङ्घीय संरचनालाई ध्यानमा राखी सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्ने गरी बजेट निर्माण गरिने उहाँको भनाइ थियो । बजेट बनाउँदा सबै मन्त्रालय तथा अन्य निकायको सहकार्य आवश्यक पर्ने र बजेटप्रति सबै पक्षको अपनत्व हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कामना सेवा विकास बैंकको ९७ हजार कित्ता संस्थापक सेयर लिलामी खुला
काठमाडौं । कामना सेवा विकास बैंकले आजदेखि ९७ हजार ७९३ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
आज स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज ९फागुन २१ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
कम्पनीले फागुन १८ गतेदेखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
लक्ष्मी सनराइज बैंकको १० लाख २४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं ।लक्ष्मी सनराइज बैंकले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय, हात्तीसार काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
सहकारीका समस्या सम्बोधन गर्न अध्यादेश : मन्त्री अधिकारी
काठमाडौँ ।प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएकोे उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । यसअघि रास्वपाका सांसद चन्दा कार्कीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
अध्यादेश अस्वीकार गर्ने सूचना प्रस्तुत गर्नेक्रममा उठेका प्रश्नको जवाफ दिँदै सहकारीमन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति निराकरण गर्न र प्रचलित कानुनमा आवश्यक संशोधन गरी आम बचतकर्ताको बचत फिर्ता एवं बचत सुरक्षण गर्न अध्यादेश ल्याएको बताउनुभयो । उहाँले विरोधको सूचना दिने सदस्यलाई अध्यादेशको आवश्यकता र औचित्य स्पष्ट पार्दै विभिन्न समयमा सहकारी पीडित बचतकर्तासँग गरेको सम्झौताको मर्मअनुरूप अध्यादेश आएको भनाइ राख्नुभयो ।
पोल्ट्रीजन्य वस्तुको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन
जनकपुर ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमा नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध आयातमा रोक लगाउन प्रदेशका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
उहाँले विभिन्न नाकाबाट अवैध रुपमा भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेस प्रहरी प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर नं २ मुख्यालयका प्रमुख कालीदास धौवजीलाई आज निर्देशन दिनुभएको हो ।
सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अण्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यवसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने माग राख्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले आज मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराएको थियो ।
सानिमा माई हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो ।नेप्सेका अनुसार ३३ लाख ९८ हजार १७६ दशमलव १० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । उक्त कित्ता शेयर कम्पनीको १० प्रतिशत बोनस शेयर बापतको हो ।
अवैध तरिकाले ल्याउँदै गरेको गहुँको गाडी नियन्त्रण गर्न खोज्दा राजस्व अनुसन्धानका कर्मचारीहरूमाथि आक्रमण प्रयास, हुलदंगा गरी भैरहवाबाट गाडी भगाइयो
भैरहवा ।अवैध तरिकाले गहुँ ल्याउँदै गरेको गाडीलाई नियन्त्रण गर्न खोज्दा राजस्व अनुसन्धान कार्यालय बुटवलका कर्मचारीहरूको टोलीमाथि आक्रमण प्रयास भएको छ ।
स्थानीय मर्चवारबाट आएको गहुँ लोड गरिएको गाडी(ट्र्याक्टर)लाई भैरहवाको बेथरी चोकमा नियन्त्रण गर्न खोज्दा राजस्व अनुसन्धानका कर्मचारीहरूमाथि आक्रमणको प्रयास भएको हो ।
स्थानीय र गाडीका कर्मचारीहरू मिलेर राजस्वका कर्मचारीहरूमाथि हुलहुज्जत गरी अवैध तरिकाले ल्याइएको १ सय ८६बोरा गहुँ लोडेड गाडी भगाइएको छ ।
समाचार स्रोतका अनुसार सोमनाथ गल्ला भण्डारले उक्त गहुँ धरान फुड्सलाई बेचेको बताइन्छ । किनेको र बेचेको देखाइएपनि उक्त गहुँ अवैध भएकै कारण राजस्वका कर्मचारीहरू माथि हुलहुज्जत गरेको हुन सक्ने स्थानीय प्रशासनले बताएको छ ।
घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का
दमौली ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताउनुभएको छ । तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आउनुभएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।” मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गर्नुभयो ।
भन्सारले जफत गरेका मालवस्तु व्यवस्थापनको टुंगो तीन महिना भित्र टुंग्याउनै पर्ने दफा अर्थ समितिमा पारित
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको छलफलमा रहेको भन्सार विधेयकमा प्रस्तुत तीनमहिना भित्र जफत गरिएको मालवस्तुको व्यवस्थापन टुंगो लगाउन विषयमा सहमति जुटेको छ । मंगलबारदेखि सुरु भएको दफावार छलफलका क्रममा यो विषयमा सहमति बनेको हो ।अन्य विषयमा समिति सभापति सन्तोष चालिसेले सहमतिको प्रयास गरिरहेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयसँग जोडिएका विधेयकलाई चैत्र भित्रै सहमति जुटाइ संसदबाट पारित गराउन सहयोग गर्न आग्रह गरे अनुसार सभापति चालिसे पहल लिएका हुन् । उनले भन्सारसम्बन्धी विधेयकमाथि मंगलबारदेखि दफावार छलफल सुरु गरिएको जानकारी दिए । समितिमा अर्थमन्त्री पौडेलले धारणा राखी सकेका छन् । भन्सार विधेयक अन्तर्राष्ट्रिय व्यापारलाई प्रवद्र्धन र सहजीकरणको लागि अघि सारिएको जानकारी दिँदै अर्थमन्त्री पौडेलले समितिमा रहेका भन्सार, बफिया र धितो पत्रसम्बन्धी विधेयकमाथिको छलफल चैत मसान्तभित्रै सक्न आग्रह गरेका थिए ।
मुस्ताङमा हिमपात भएसँगै रैथाने अन्नबालीको उत्पादन वृद्धि हुने प्रक्षेपण
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।
लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरु केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाले यहाँ कृषक हर्षित भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते
पर्वत । जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि, आज सुनको मूल्य रु १ लाख ७० हजार ४ सय
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु नौ सय र चाँदीको मूल्य रु १० ले बढेको हो ।
मङ्गलबार प्रतितोला रु एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ ।
नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीबाट ५० अर्ब रकम २१ दिने निक्षेप संकलन गर्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्न लागेको छ ।राष्ट्र बैैंकले बुधबार एक सूचना प्रकाशित गरी २१ दिने भाखा राखी ५० अर्ब निक्षेप संकलन गर्न लागेको जनाएको हो । अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत दिउँसो ३ बजेसम्मको समय दिएर ५० अर्ब निक्षेप संकलनमा सहभागी हुन चाहने बोलकबोलकर्तालाई आह्वान गरिएको छ ।
ब्याजदर बोलकबोलबाट हुने गरी सोको साँवा र ब्याजको भुक्तानी इजाजत पत्र क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ५० अर्ब निक्षेप संकलनमा सहभागी हुन केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आह्वान गरेको छ । बोलकबोलकर्ताले बहु ब्याजदरमा पनि प्रस्ताव गर्न सक्ने जनाइएको छ । निक्षेप बापत जम्मा गर्न चाहेको रकमको र ब्याज दर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्न भनिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ११ पैसा निर्धारण भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij