
काठमाडौँ । १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपाललाई बर्सेनि ६ खर्ब कमाइ हुने आकलन गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तीमा ६ खर्ब कमाउने बताएका हुन् ।
मधेश प्रदेशको सर्लाही जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने अनुसार भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सकिए करिब–करिब ६ खर्बदेखि ७ खर्ब बर्सेनि कमाइ हुन्छ । त्यो भनेको हाम्रो ४५/५० खर्ब बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १५/२० प्रतिशत हिस्सा विद्युत् निर्यातबाट मात्र हुने छ ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भारत भ्रमणको क्रममा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो ।घिसिङका अनुसार नेपालमा जलविद्युत्बाट यातायात क्षेत्रमा ठूलो त्रान्ति आएको छ । ट्रान्सपोर्टेसनमा ठूलो क्रान्ति विद्युत् भएर आएको हो । लोडसेडिङ भएको भए आज इलेक्ट्रिकल भेइकल, चार्जिङ स्टेसनको नाम पनि देख्न सकिने अवस्था हुँदैन्थ्यो । तर अहिले टोटल गाडीमा अब १० प्रतिशत हिस्सा इलेक्ट्रिकल गाडीले लिइसकेको छ । र यसको वृद्धि द्रुतगतिमा भइरहेको छ ।
उनले अब धेरै ठाउँमा खाना पकाउने ग्याँस र पेट्रोल डिजेल प्रतिस्थापन गर्नुपर्ने आवस्था आइसकेको बताए । त्यसो गर्न सकिए व्यापार घाटा कम हुने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij